मंगलबार, कार्तिक ५ २०७६
काठमाडौं १५:३५
वासिङटन डिसी 05:50

विदेशमा रहेका हाम्रा बुबाआमा पुस्ताको कथाव्यथा

शशी केसी २०७६ असोज ९ गते २२:१३ मा प्रकाशित

शशी केसी । बुढेशकाल, संसारको जुनसुकै कुनामा होस वा जो कोही चाहे धन सम्पतिले सम्पन्न वा केही नभएका बिपन्न नै किन नहुन कष्टकर नै हुने रहेछ। कहिलेकाहीँ बिहान बिहान कुकुर डुलाउन जाँदा,हिँडदै गरेका बुढाबुढी देख्छु थरीथरीका छन, कोरीयन, चाइनिज, भारतिय, युरोपियन, साउथ अमेरिकन, अरबीक, अफ्रिकन, यतैका गोराहरू,टक्क अडिएर सोच्छु गज्जब छ यो अमेरिका ।

सबै अटेका छौं, फेरी लाग्छ ओहो को होलान । यिनीहरूसँग बसेर कुरा गर्न पाए, को को के के थिए होलान आफ्नो देशमा पहिले, के कस्तो बाध्यताले यो देशमा आएका होलान वा एतै के के काम गर्थे होलान जस्तो । खैर अर्कालाई त्यसै गएर सोध्ने कुरा भएन, आँखा जुध्दा चाईं यहाँको चलनचल्ती जस्तै” गुड मर्निंग, हाव्टअ लभलि डे, नाइस वेदर” भन्यो आफ्नो बाटो लाग्यो।

अब कुरा गरौं हाम्रै बुबाआमा पुस्ताको,उहाँहरू विदेश आउने भनेको २-४ महिना अस्थायी घुमघाम/ भेटघाट गर्न वा स्थायी सँधैको लागि बसाई सरेर विदेशी नागरिक नै भएर सन्तान जस्तै। घुमघाम गर्न आउनेहरू त केही समय बस्नु हुन्छ, यता उता रमाइलो सन्तानहरूसंग गर्नु हुन्छ,नेपाल फर्किहाल्नु हुन्छ, अब नेपालमा उँहाहरूको एक्लै बसाईको त अर्कै छ व्यथा।

चाडपर्वमा विदेशमा सन्तान तड्पने,नेपालमा बुबाआमा। यस्तै विविध कारणले,सबै सन्तानहरू नेपाल बाहिर घरजम गरेर बसिदिंदा कत्ति बुबाआमा यहीं अमेरिकामा पनि यतैको नागरिक भएर बस्न आउनु भएको भेटेको छु।यसको साथै अर्को थरीको बुबाआमा पनि हुनुहुन्छ,उँहाहरू अमेरिका धेरै बर्ष पहिले पढ्न वा राम्रो काम पाएर आउनु भयो कोही स-साना केटाकेटी लिएर, कोहीपछि बिबाहवारी, घरजम गरेर एतै बस्नु भयो। यसो हेर्दा नेपालबाट पछि आउनु भएको बुबाआमा त प्राय: सन्तानहरूसँगै बस्नु भएको र यतै पहिलेदेखि हुनुहुनेहरू चाहीं सन्तानहरूको नजिक नजिकतिर छुट्टै घरमा बस्नु भएको देख्छु। जे जसो अवस्था भएपनि बुढेशकाल त लाग्यो उँहाहरूको, आफुले सन्तान प्रति गर्न पर्ने कर्तव्य त उँहाहरूले गरिसक्नु भयो आफ्नो क्षमता अनुसार नै। बेलाबेलामा नेपालीले आयोजना गरेका कार्यक्रम, पसलहरूतिर, पार्टीहरूतिर आफ्नै बुबाआमा जस्तै यहाँ रहेका बुबाआमा भेटिनु हुन्छ,उँहाहरूसंग कुरा गर्दै जाँदा, प्राय: सबै आर्थिकरूपले सम्पन्नै, अनुभवी, फुर्सदिला तर कता कता सबै बुढेशकाल अवस्थामा रहेका बुढाबुढीहरू जस्तो नै छ उँहाहरूको पनि कथाव्यथा वा समस्या। त्यसैले अव हामी विदेशमा रहेका सन्तान पुस्ता जो- जस्को बुबाआमा यतै हुनुहुन्छ आफु जतिनै व्यस्थ भएपनि उहाँहरूको स्वास्थ, खानपान,मनोरन्जन र चाडपर्वको ख्याल राख्नु अत्यन्त जरूरी देख्दैछु मत।

पहिलो स्वास्थको कुरा, अमेरिकामा स्वास्थ बिमा नभई उपचार गर्न धेरै नै महंगो र असम्भव नै हुन्छ।प्राय: सबै बुबाआमाको बिमा गरेकै हुन्छ। साधारण बिरामी वा अनिवार्य जाँचको लागि त उहाँहरू आफै जान सक्नु हुन्छ तर कहिलेकाहीं हस्पिटल बस्नु पर्ने हुन सक्छ। त्यस्तोबेला सन्तान नजिकै बस्नेछन भने, परिवारमा जस्को मिल्छ(मिलाउनै पर्छ)छुट्टी मिलाएर बुबाआमालाई सहयोग गरौं ,उहाँहरूलाई डर, आत्तिएको बेला ठुलो मानसिक भर हुन्छ। सोचौं त नेपालमा कोही आफन्त बिरामी भएर हस्पिटलमा छ भने, दश काम छोडेर, कति टाढाबाट पनि भेट्न जान्छौं, हो त्यसो गर्न नसकिएला यहाँ, तर फोन वा मिलाएर जान्छौं नै पछि कुनैदिन।

दोस्रो खानपिनको कुरा,घरमा बुबाआमा हुनुहुन्छ भने नेपालमा जस्तो बिहान बेलुका दालभात तरकारी, उँहाहरू पकाउन सक्ने भएपनि खान नदिनुस्। लेख्दा छुचो जस्तो तर खासकुरा, जति नै बिहान बेलुका हिँडडुल गरेपनि, यहाँ पाउने खानेकुरामा पौष्टिकतत्व वा पोषिलो धेरै, पछि बिभिन्न रोग, मोटोपन, सुगर, कोलोष्टोल लाग्ने सम्भावना धेरै। प्रसङ्ग एकपटक २-४ महिना अमेरिका घुमेर नेपाल फर्किन लाग्नु भएको एक साथीको आमाले भनेको याद आउँछ, नानी अमेरिका त राम्रो, केटाकेटीहरूले धेरै ठाँउ पनि घुमाइदिए तर मत रोग पो बोकेर जान लागें। ओहो के भो र हजुरलाई भनेको त बिचरालाई सुगर देखिएछ बस्दाबस्दै ।

तेस्रो मनोरन्जनको कुरा, हुनत अहिले वाइफाइ, युटुव, फेसवुक, मेसेन्जर, भाइभरको जमाना छ, बुबाआमाले पनि चलाउन सिक्नु नै भै सक्यो, साथै घरमा भारतीय बिभिन्न च्यानल पनि जोडिदिएको हुनाले उँहाहरूलाई नरमाइलो त महसुस हुँदैन तर पनि कहिले काहीं बाहिर अरू शहर घुम्न जाँदा मिलाएर उँहाहरूलाई पनि सामेल गराउँ। बेग्लै बस्नु हुने बुबाआमाहरूलाई त झनै लगौं वा बर्षमा केही समय परिवार नै घुम्ने मिलाउँ, खर्च त उँहाहरू आफै हाल्न सक्नेनै हुनुहुन्छ। यसो गर्दा हजुरबुबाआमा, नातीनातीनाहरूको माया सदभाव एकआपसमा बढ्छ। हामीले सन्तानलाई आफुले सिकाउन नसकेका कति कुरा उँहाहरूबाट सिक्न सक्छन्। त्यस्तै कहिलेकाहीं आफ्ना केटाकेटीलाई जवरजस्ती हजुरबुबाआमाको घरमा छोडिदियौं।

डेकेयरमा छोडेको जस्तो। केटाकेटीले छुकछुक गर्लान, सामान एताउता गर्लान के भो र आफ्नै सन्तानका सन्तान। साँउको भन्दा व्याजको माया । केही हुन्न, धेरै नसोचौं।ओहो नातीनातीना आउँछन भन्नुमात्र पर्छ कति तयारी हुन्छ बुढाबुढीको बिहानदेखि। अनि, ओहो सोच्छु आफ्नै सानोबेला। कसरी,के के गरिदिन्थ्यौं हजुरबुबामुमाको सामान, साथै कति मिठोमिठो पकाएर खानदिनु हुन्थ्यो।

कतिपटक हामी होस्टेल बसेका केटाकेटीहरू, बुबाआमा टाढा जिल्लातिर हुँदा मामाघरको हजुरबुबाले नातीनातीनाहरू चाडपर्वमा घर जान नपाउँदा न्यास्रिन्छन् भनेर लिन पठाईएको याद छ । हो नी कुनैबेला लिन नआउँदा त रूनै मन लाग्नेनी सबै साथीहरू घर गएको,आफुहरू होस्टेलमा। त्यस्तै हजुरआमाले बत्ती कात्न सिकाएको, क्याम्पस पढ्नेबेला कहिलेकाही पैसा चाहिएको बेला हजुरआमासँग माग्दा ओहो! पहाडमा खैरे र तारे गाईले कति दुध दिन्थ्यो भन्ने कथा जवरजस्ती बारम्बार सुन्नु परेको ।

आफुले काठमाडौंमा डिडिसीको दुध बाहेक केही नदेखेको भएपनि, यस्ता यादहरू त कति कति । यस्तै अनेक घटना हुने केटाकेटीहरू हुर्कने बेलामा अनि यी सबैकुराको महत्व धेरै हुन्छ समाजमा भनेरै त होलानी यो अमेरिकामा पनि स्कुल क्याम्पसतिर” हजुरबुबा हजुरआमा वा ग्रयानप्यारेन्स डे” मनाएको र उँहाहरू पनि समय मिलाएर गएको नातीनातीनाको स्कुल, क्याम्पसमा।

चौथो चाडपर्वको कुरा, आफुले मनाउँदै गरेको चाडपर्व कस्ले बिर्सन सक्ला र,यहाँ रहनुभएका बुबाआमालाई पनि रहर होला आफ्ना सन्तानसँग चाडपर्व एकै ठाँउमा मनाउने। त्यसैले मुख्य मुख्य चाड वा भनौं धेरैले मनाउने दशैं, तिहार हाँसी खुशी एकआपसमा सल्लाह गरेर सबैको उपयुक्त समय मिलाएर मनाउँ।

हाम्रा आफ्ना वा केटाकेटीको खुशीको लागि यो देशमा मनाउने चाडहरू क्रिसमस, ह्यालोयिन, थ्यांसगिभिंग आदी मनाउँछौ भने किन बुबाआमाको खुशीको लागि उहाँहरूले मनाउने चाडपर्व नमनाउने। राम्रा राम्रा लुगा गहना लगाएर आशिर्वाद लिन आफु र केटाकेटी सबै जाऔँ। हो छुट्टी त हुँदैन तर हामीले पाउने छुट्टीको सुविधा यस्तै परम्परागत चाडपर्वलाई केही छुट्याउँ!

(अन्त्यमा लेख्दालेख्दै बिभिन्न अनलाइन र फेसवुकतिर घुम्न आउनु भएको नेपाली बुबाआमा सवारी दुर्घटनामा परेको घटना देखिंदै छ। सार्है दुख लाग्दो अवस्था घरपरिवार साथै नेपाली सबैको लागि। मेरो बिचारमा सबैले अत्यन्त ध्यान दिनु पर्ने कुरा, जति नै जान्ने भएपनि,घर वरीपरी बिहान बेलुका उँहाहरू घुम्न निक्लदाँ जताततैबाट बाटो नकाट्नु भन्नु, बाटो खाली देखे पनि गाडी आफ्नै छिटो गतिमा आई रहेको हुन्छ, नरोक्किने बत्ती नबलेसम्म, दोस्रो सके फोन बोक्न दिनु नसके उँहाहरूलाई कागजमा घरको ठेगाना तथा आफ्नो फोन नम्वर टिपाएर बोकेर हिँड्नु भन्नु ,अल्मलिँदा काम लाग्छ। अनि अर्को अत्यन्त जरूरी कुरा जति महिना उँहाहरू यो देशमा बसेपनि, उँहाहरूको लागि खोजेर, मिल्ने खालको स्वास्थ्य बिमा किन्न नभुलौं, कहिलेकाहीं आकस्मिक अवस्थामा काम लाग्छ)

सबैलाई दशैंको शुभकामना!!

शशी केसी

प्रतिक्रिया