के राष्ट्रपति ट्रम्पले पद छाडलान ?

यादवराज जोशी २०७६ असोज ८ गते २२:३१ मा प्रकाशित

यादवराज जोशी

अमेरिकी राजनीति अहिले तरल छ । विपक्षी डेमोक्र्याटहरु  राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग लगाउन अनुसन्धान सुरु गरेका छन् । विगतमा महाअभियोगको विपक्षमा रहेकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले मंगलबार साँझ अनुसन्धान सूरु भैसकेको बताईन । अर्कोतर्फ राष्ट्रपति ट्रम्प र रिपव्लीकनहरु ट्रम्प र यूक्रेनका राष्ट्रपति भाल्दीमीर जेलेन्स्कीबीचको वार्तामा महाअभियोग लगाउनु पर्ने कुनै कारण नभएको बताउदै आएका छन् । वासिंड्टन डिसीमा बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले आफुले कुनै गल्ती नगरेको बताएका छन् ।

यसैबीच, ट्रम्प र जेलेन्स्कीबीचको वार्ता इन्टरनेटमा उपलव्ध भैसकेको छ । यो वार्ता महाअभियोग लगाउन प्रयाप्त रहेको भन्ने एकथरी छन भने अर्को थरी त्यसको विपक्षमा छन् । जस जसले सुने सबैको सबैको आफ्नो मत छ । केही महाअभियोगको पक्षमा छन् त कोही विपक्षमा । पोलिटिको पत्रिका (म्यागजिन) ले विभिन्न कोणबाट संविधान तथा कानुनविदको धारणा प्रस्तुत गर्दै के ट्रम्पले पद छाडलान भन्ने प्रस्न अगाडि सारेको छ । अमेरिकमा महाअभियोग सामना गर्न नसक्ने देखेपछि केवल राष्ट्रपति रिचर्ड निक्सनले पद छाडेको ईतिहास छ ।

ट्रम्पविरुद्ध निकै आक्रमक तल्लो सदनकी सभामुख पेलोसी गत सातासम्म महाअभियोगको पक्षमा थिईनन् । तर, सन् २०२० को राष्ट्रपतिय निर्वाचनमा सम्भावित प्रमुख प्रतिद्वन्दी एवं पूर्व उपराष्ट्रपति जोइ बिदेनका छोराविरुद्ध अनुसन्धान गर्न यूक्रेनका राष्ट्रपति भाल्दीमीर जेलेन्स्कीलाई अनुरोध गरेको टेलिफोन वार्ता सार्वजनिक भएपनि विपक्षी डेमोक्र्याटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु गरेका हो । महाअभियोगबाट ट्रम्पलाई हटाउन सके विपक्षी डेमोक्र्याटले २०२० को राष्ट्रपति निर्वाचन जित्ने सम्भावना हुन्छ । त्यसैले विपक्षले यसलाई मौकाकोरुपमा प्रयोग गरेको हो । यसअघि पनि ट्रम्पविरुद्ध निर्वाचनमा रुसी हस्तक्षेप, निर्वाचन कोषको दुरुपयोग जस्ता कैयन विषयमा संसदका विभिन्न समिति र स्वतन्त्र छानविन भएको हो तर ति अनुसन्धानले महाअभियोगको बाटो प्रसस्त गर्न सकेनन् ।

ट्रम्प र जेलेन्स्कीबीचको टेलीफोन वार्ता अपराध र दुष्कर्म भएको ठहर विपक्षी डेमोक्र्याटले गरेको छ । यसैको आधारमा थप छानविन गरी महाअभियोग तल्लो सदनमा दर्ता गर्ने योजनासहित प्रक्रिया सुरु भएको छ । यसैबीच, महाअभियोग सफल होला न होला, महाअभियोग सामना नगरी ट्रम्पले पद छाडलान कि जस्ता कैयन विषय बहसमा आएका छन् । विवाद बढेपछि राष्ट्रपति ट्रम्पले नै टेलिफोन वार्ता सार्वजनिक गर्ने निर्देशन दिएका हुन । यसै सन्दर्भमा पोलिटिकामा प्रकाशित कानुनविदको धारणा यहाँ प्रस्तुत गर्ने जमर्को गरिएको छः

“यसले उत्तरभन्दा प्रस्न बढी जन्माउछ”: मेरियम एच बाएर, प्रोफेसर, ब्रुकलिन स्कुल अफ ल

राष्ट्रपति ट्रम्पका समर्थकले यसमा कुनै गल्ती नदेख्लान तर कुरा त्यो होईन । हामीले विपक्षी प्रतिद्वन्दीको परिवारको सदस्यलाई कारवाही गर्न विदेशीलाई गुहारीरहेको छौ । यो गम्भीर अपराध र दुष्कर्म हो । यस्तो स्थितीमा हाउसलाई अनुसन्धान गर्ने र महाअभियोग लगाउने अधिकार छ ।

“यो महाअभियोग लायक छैन भने के छ ?” डेभिड एलन स्लान्स्की, प्रोफेसर, स्टानफोर्ड ल स्कुल

यदि तपाई अर्को विदेशीलाई आफ्नो प्रतिद्वन्द्दीको छोरा विरुद्ध अनुसन्धान गर्न अनुरोध गर्नु हुन्छ भने यो भन्दा ठूलो अपराध र दुष्कर्म के होला ? महाअभियोग के हुदाँ लगाउने भन्ने संविधानमा स्पस्ट छैन । तर राष्ट्रपति ट्रम्पको यो कदममा महाअभियोग लगाउन पर्छ । संसदले यसमा छानविन गरोस र अगाडि बढोस ।

“राष्ट्रपति ट्रम्पले अमेरिकी सरकारको साधन र स्रोत आफ्नो निजी एजेण्डामा खर्च गर्ने पर्दाफास गरेको छ”: जेनिफर टव, भिजिटिड. प्रोफेसर, हावर्ड ल स्कुल
ट्रम्प र जेलेन्स्कीबीचको ३० मिनेटको टेलीफोन वार्ता महाअभियोगको प्रयोजनका लागि काफी छ । वार्तामा ट्रम्पले व्यक्तिगत सदासयता अनुरोध गरेका छन् । पहिले उनले सन् २०१६ को ग्रिष्ममा ह्याक गरिएको डेमोक्रे्याटीक नेसनल कमिटीको जानकारी मागेका छन् भने अर्को आफ्ना सम्भावित प्रतिद्वन्द्वी जोई विदेनका छोरा माथि अनुसन्धान गर्न आफ्नो वकिलसंग मिलेर काम गर्न भनेका छन् । उनले महान्याधिवक्ता बारसंग मिलेर काम गर्न समेत अनुरोध गरेका छन् ।

“यो स्पस्ट महाअभियोग लाग्ने अपराध हो”: रिचर्ड पेन्टर, जर्ज डब्लु बुसको समयका ह्वाईट हाउसका वकिल

आफ्ना प्रतिपक्षीका छोरा विरुद्ध विदेशी सहयोग माग्ने ट्रम्पको काम स्पस्ट महाअभियोग लाग्ने अपराध हो । उसका अलावा उनले कैयन अपराध गरेका छन, जस्तै अमेरिकी निर्वाचनमा विदेशी हस्तक्षेप, काँग्रेसलाई छल्न विशेषाधिकारको प्रयोग, आफ्नो व्यवसायको फाईदाका लागि आफ्नो पदको प्रयोग आदि ।

कानुनवीदका अनुसार राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने प्रयाप्त आधार यो टेलिफोन वार्तामा छ । अमेरिकी तल्लो सदनले यसमा अनुसन्धान पनि सुरु गरिरहेको छ । यो सन्दर्भमा राष्ट्रपति ट्रम्पले आफै पद छाडलान कि भन्ने धारणा पनि आएका छन् । तर, ति धारणा निकै कमजोर छन् । ट्रम्पलाई बुझ्नेहरु भन्छन, ट्रम्प हठी र जिराहा प्रवृतिका छन् । उनी आफै किनारा लाग्ने सम्भावना निकै कम छ । केहीले यो सम्भावना नै देख्दैनन् । यसको कारण हो माथिल्लो सदन सिनेटमा रिपव्लिनको महुमत । सिनेटमा रिपव्लिकनको बहुमत हुदाँसम्म ट्रम्पलाई घोक्रेठ्याक लगाउन सजिलो छैन । गत महिना सिएनएनले गरेको सर्वेक्षणमा प्रभावशाली रिपव्लिकन नेताहरु प्रायः सबैको समर्थन उनलाई थियो ।

अब कुरा गरौ, महाअभियोग प्रक्रियाको । तल्लो सदनले महाभियोग प्रयोजनमाथि अनुसन्धान सुरु गरेको छ । स्पस्ट आधार फेला परेपछि महाअभियोगको प्रक्रिया पनि सुरु होला । तल्लो सदन हाउस अफ रिप्रीजेन्टेटिभमा डेमोक्रयाटको बहमुत भएकोले महाअभियोग पारित हुन सक्छ । यद्यपी अहिले पनि एक तिहाई डेमोक्र्याट सांसद महाअभियोगको प्रयोजनसंग सहमत हुन सकेको छैनन् । उनीहरु निर्णयविहिन छन् । यो समस्या विस्तारै हटदै जाला । तल्लो सदनमा उपस्थित सांसदको बहुमतले महाअभियोग पारित होला तर अहिलेको राजनीतिक समीकरणमा ठूलै परिवर्तन नआई सिनेटबाट महाअभियोग पारित हुन सक्दैन ।

स्रोतः पोलिटिका र एजेन्सीहरु ।
तस्वीरः गुगल ।

प्रतिक्रिया