स्विट्जरल्याण्डको जेनेभामा सँविधान दिवस तथा राष्ट्रिय दिवस सम्पन्न

-लक्ष्मण देवकोटा ,स्विटजरल्याण्ड २०७६ असोज ७ गते ११:०३ मा प्रकाशित

लक्ष्मण देवकोटा ,स्विटजरल्याण्ड । नेपाली दूतावास र नेपाली मिसनको आयोजनामा स्विट्जरल्याण्डको जेनेभामा सँविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ । स्विट्जरल्याण्डका लागि नेपाली राजदूत तथा मिसन प्रमुख मणि प्रसाद भट्टराईले भने, सँविधानको भावना र मर्म अनुरुप इमान्दारिपूर्वक सबैले आफ्नो कर्तव्य निर्वाह गर्ने हो भने समृद्ध नेपाल सुखी नेपालीको नारा सफल हुन्छ । देश समृद्ध भए अहिले जस्तो शीर निहुराएर हैन शीर ठाडो पारेर सँसारभरि हिँड्न र बोल्न सकिन्छ ।

गैर आवासीय नेपालीलाई नेपालमा लगानी गर्न र सरकारले आव्हान गरेको भिजिट नेपाल २०२०को कार्यक्रमलाई सफल पार्न आफ्नो ठाउँबाट पहल गर्न अनुरोध गर्दै भने, राजनीतिक बाहेकको आर्थिक र सामाजिक हक सहितको नागरिकताको निम्ति कानून बनिरहेको छ । त्यसैले स्विट्जरल्याण्ड निवासी सबै नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई नेपालमा लगानी गरेर देश समृद्ध बनाउने काममा सहयोग गर्न र कम्तिमा एकजनाले एकजनैमात्र भए पनि विदेशीहरु नेपाल पठाउन पहल गरे देशको लागि ठूलो मदत हुनेछ ।

प्रवासी नेपाली एकता मँचका विक्रम केसी, जनसम्पर्क समिति स्विसका श्याम सापकोटाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । केसीले दूतावास र नियोगले स्वीसबासी नेपालीसँग समन्वय गरेर काम गरे भिजिट नेपाल लगायतका कामहरु सफल हुने बताए भने सापकोटाले गणतन्त्र आए पनि तलकालाई नआएको बताए ।

नृत्याँगना मन्जु फूयाँलको राष्ट्रभक्तिको नृत्यसँगै राष्ट्रगानबाट आरम्भ गरिएको समारोहमा कवि लक्ष्मण देवकोटाले कविता वाचन गरेका थिए । कलाकारहरु दिपेन्द्र रावत, नीता कपूर, गौरी गुभाजू लगायत स्थानीय कलाकारहरुले रमाइला नृत्यहरु प्रस्तुत गरेका थिए । स्थायी नियोग जेनेभाका नायब प्रतिनिधि तीर्थराज वाग्लेले धन्यवाद दिँदै स्विसबासी नेपालीसँग समन्वय गरेर हिजका दिनमा जस्तै नियमित कार्यक्रम गरिने बताए भने सँविधान दिवसको महत्वका बारेमा दूतावासको तर्फबाट भुवन पौडेलले बताएका थिए ।नेपालीहरुलाई जबरजस्ती नेपाल पठाउने काममा दूतावासको कुनै भूमिका छैन ।

केही महिनादेखि कानूनी रुपमा बस्ने अधिकारको पर्खाइमा रहेका नेपालीहरुलाई स्विस सरकारले धमाधम नेपाल पठाइरहेको विषयमा गैर आवासीय नेपाली सँघ स्विटजरल्याण्डको तर्फबाट अध्यक्ष शिब सुब्बा र आइसीसी सदस्य भूमिराज गुरुँगले विशेष भेट गरेका थिए । भेटमा कुनै पनि नेपालीहरुलाई जबरजस्ती नेपाल पठाउनुपर्छ भनेर दूतावासले अहिलेसम्म कुनै कागज नबनाएको हुँदा सो विषयमा नेपाली समुदायलाई प्रष्ट पारिदिन एनआरएनका प्रतिनिधिहरुलाई दूतावासले आग्रह गरेको छ ।

स्विस सरकारको छानविनको क्रममा रहेका केही व्यक्तिहरुलाई काठमाण्डू स्थित स्विस दूतावासका कर्मचारी र आप्रवासनका सुरक्षाकर्मीहरुले पूर्ण छानविन र यथेष्ट प्रमाण पूरा गरेर सोझै विमानमा हालेर लगेको विषयमा आफूहरुलाई जानकारी प्राप्त भएको दूतावासले बतायो । श्रम गरेर घरपरिवारलाई आर्थिक सहयोग गरिरहेकालाई मानविय नाताले पनि जबरजस्ती नेपाल पठाउने दूतावासको कुनै उद्देश्य नरहेको प्रतिनिधिहरुलाई बताइएको थियो ।

प्रतिक्रिया