दक्षिण कोरियामा साहित्यिक–साँस्कृतिक कार्यक्रम

इनेप्लिज २०७६ असोज २ गते ११:०४ मा प्रकाशित

सञ्जय मित्र, रौतहट

दक्षिण कोरियामा प्रचलनमा रहेको चर्चित पर्व छुसकको अवसर पारेर साहित्यिक–साँस्कृतिक कार्यक्रम गरिएको छ । अध्ययन, व्यवसाय तथा रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका मधेसी समुदायका नेपालीले साहित्यिक–साँस्कृतिक कार्यक्रम गरेका हुन् । कार्यक्रममा बज्जिका, मैथिली, भोजपुरीलगायतका भाषाको विभिन्न विधाको प्रस्तुति रहेको थियो ।

कार्यक्रममा कृष्णकुमार सिंहले गजल, मीना सुनुवारको गीत तथा नृत्य, प्रकाश मेहताको नृत्य, संगम कोइरालाको नृत्य, राजेश महतोको नृत्य, रामकुमार मेहताको गीत, विक्रान्तविक्रम कर्णको गजल तथा नृत्य, अरुण मेहताको गीत तथा हास्यव्यंग्य, नवीन कुशवाहाको गीत प्रस्तुति प्रभावकारी रहेको थियो ।

परदेशमा भए पनि आफ्नो संस्कृति र पहिचानलाई सम्मान र अंगीकार गर्नुका साथै विश्वसामु प्रस्तुत गर्नुपर्दछ भन्ने अभिप्रायले प्रस्तुत गरिएको कार्यक्रमको नृत्य, गीत, कविता तथा हास्यव्यङ्ग्यात्मक कलाले मधेसको पहिचान, परिवेश, संस्कृति र विशेषता बुझाउन सहयोग पुगेको सिउलबाट कृष्णकुमार सिंहले जनाएका छन् ।

कार्यक्रमको अध्यक्षता आयोजक संस्था मधेसी समाज दक्षिण कोरियाका अध्यक्ष अरविन्दकुमार मेहताले गरेका थिए । दक्षिण कोरियामा आफ्नो कार्य अवधि समाप्त भएर स्वदेश फर्किन लागेका तथा आयोजक संस्थाका पूर्व पदाधिकारीहरुलाई विदाइ तथा सम्मान गरिएको सिंहले जनाएका छन् ।

प्रतिक्रिया