एनआरएन बेलायतमा चर्को विवाद, हस्तक्षेप गर्न केन्द्रसँग माग 

इनेप्लिज २०७६ भदौ २९ गते १५:२२ मा प्रकाशित

लन्डन । एनआरएन युकेका अध्यक्ष पदका उम्मेदवार  शेरबहादुर  सुनार समर्थित समूहले शनिवार भएको चुनावमा एउटा बुथ कब्जा गरिएको आरोप लगाउदै विवादमा रहेका तीन ओटै मतदान केन्द्रहरुमा फेरी चुनाव गरा उन माग गरेको छ ।

एनआरएनका केन्द्रिय अध्यक्ष भवन भट्टलाई एक निवेदन पठाउदै सो समूहले निर्वाचन समितिले आइतबार बिहानदेखि लागू हुने गरी राजिनामा दीइ सकेकाले मत पेटिकाको सुरक्षा गर्न र निर्वाचन प्रक्रियामा हस्तक्षेप गर्न पनि माग गरेको छ।

आइतबार दिउंसो एक पत्रकार सम्मेलनमा बोल्दै शेर सुनारले शनिवार आफु बेजिंगस्टोक मतदान केन्द्रमा पुग्दा आफुलाई मतदान केन्द्रमा पस्न नदिइएको बताए ।

एनआरएन युकेका निर्विरोध निर्वाचित उपाध्यक्ष नारायण कंडेलले रसियामा पनि उम्मेदवारलाई मतदान केन्द्र भित्र जान दिने गरेकोमा अध्यक्षका उम्मेदवारलाई मतदान केन्द्र भित्र जान नदिएर कस्तो प्रवृत्ति हामीले देखाउन खोजेको हो ? भन्ने प्रश्न गरे।

शेर सुनार समूहले एनआरएन युकेको कुनै छाप नलागेको एउटा कालो वाकसमा ल्याईएका मतपत्रहरु पनि मिसाएर गणना गर्ने कोशिश भईरहेको आरोप लगाएको छ।

उता निर्वाचन समितिले शनिवार अपरान्ह एक पत्रकार सम्मेलन गर्दै आफुहरु जिम्मेवारीबाट नभाग्ने जनाएको छ। निर्वाचन समितिका अध्यक्ष मेजर रिटायर्ड डमर घलेले दुवै पक्षलाइ आफुहरुले स्थानीय समय अनुसार ४ बजे सम्म समय दिएको र त्यस बेला सम्म नआए समितिले आफ्नो काम थाल्ने जनाए।

सोहि अवसरमा बोल्दै अध्यक्षकी अर्की उम्मेदवार पुनम गुरुङले “फेयर इलेक्शन” गराउन माग गरेकी थिइन्  ।

तर उनकै समूहका महासचिवका उम्मेदवार फडिन्द्र भट्टराईले निर्वाचन समितिलाई आफुहरुको पूर्ण सहयोग रहने बताए।

शेर सुनार समूहले बेजिंगस्टोकमा एकलौटी मत खसालिएको दावी गरेको छ भने पुनम गुरुङ समूहका प्रतिनिधिले साउथ ह्यारो र अल्डरशटमा पनि अनियमितता भएको लिखित उजुरी दिएका छन्।

ती दुवै स्थानमा चुनाव गराउन खटिएका स्वयंसेवकहरुले भने साउथ  ह्यारो र अल्डरशटमा कुनै अनियमितता नभएको बरु बेजिंगस्टोकको अनियमिततालाई ढाकछोप गर्न त्यस्तो उजुरी दिइएको हुन सक्ने जनाएका छन्।

झन्डै साढे तेह्र हजार मतदाता सहित संसारकै सबै भन्दा ठूलो राष्ट्रिय समन्वय परिषद बन्न सफल एनआरएन युकेको पछिल्लो विवादले धेरै मतदाताहरु निराश भएका छन् ।

“म कुनै पद ओगट्ने उद्देश्यले चुनाव लडेको होइन, तर बेलायत जस्तो प्रजातान्त्रिक मुलुकमा पनि चुनाव निस्पक्ष रुपमा हुन सकेन, म दुखी छु,” शेर सुनारले भने।

प्रतिक्रिया