‘देशहरुबीच फाटो ल्याउने कुनै पनि सैन्य गतिविधि सरकारलाई स्वीकार्य छैन’

इनेप्लिज २०७६ भदौ २९ गते ११:२८ मा प्रकाशित

काठमाडौँ, २९ भदौ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देशहरुबीच फाटो ल्याउने कुनै पनि खालको सैन्य गतिविधि सरकारलाई स्वीकार्य नहुने बताएका छन् ।

आईतबार ललितपुरमा आयोजित ‘रोड एण्ड बेल्ट इनिसिएटिभ डाइलग’ विषयक विचार गोष्ठीमा बोल्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले कुनै पनि देशसँग वैरभाव नराख्ने विदेश नीति लिएको पनि स्पष्ट पारे ।

राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेशी नीतिलाई अघि बढाएको उल्लेख गरे । उनले त्यसमा दायाँबायाँ हुन नदिने दृढता पनि जनाए ।

मन्त्री ज्ञवालीले अमेरिका, चीन, भारत कुनै पनि मुलुकसँग इस्युमा बहस गरे पनि उनीहरूसँग वैरभाव राख्ने पक्षमा सरकार नरहेको पनि बताए । परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले नेपाल-चीन ‘क्रम बोर्डर इकोनोमिक जोन’ स्थापना गर्ने तयारी गरिरहेको पनि बताए ।

दुई मुलुकबीचको व्यापार घाटालाई कम गर्न पनि सरकारले बोर्डर एरियामा सो जोनको विकास गरेर आर्थिक गतिविधिलाई बढाउन चाहेको पनि मन्त्री ज्ञवालीले बताए ।

सरकार बाह्य लगानी भित्र्याएर मुलुकको समृद्धिको अभियानलाई तीव्रता दिन चाहेको मन्त्री ज्ञवालीको भनाई छ ।

प्रतिक्रिया