विजय गच्छदारकाे ‘हर्कत’ले कांग्रेसभित्र समस्या

इनेप्लिज २०७६ भदौ २९ गते ११:२१ मा प्रकाशित

काठमाडौं, २९ भदाै । तत्कालीन लोकतान्त्रिक फोरम नेपाली कांग्रेसमा समायोजन भएको दुई वर्ष भइसकेको छ ।

लोकतान्त्रिक फोरमलाई कांग्रेसमा समायोजन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा कार्यदल बनेको छ । कार्यदलले कछुवाको गतिमा काम गर्दै आएको छ ।

दुई वर्षसम्म पनि लोकतान्त्रिक फोरमका नेता कार्यकर्तालाई कांग्रेसमा समायोजन गर्न नसक्दा कार्यकर्तामा निरासा छाउनु स्वभाविक हो । नेपाली कांग्रेसमा विजयकुमार गच्छदार मात्रै समायोजन भएका छन् ।

अरु नेताहरु समायोजन हुन सकेका छैनन् । गच्छदारले समायोजन नभएका तत्कालीन फोरम लोकतान्त्रिक पार्टीका नेताहरुलाई देखाएर नेपाली कांग्रेसभित्र बार्गेनिङ गर्दै आएको खुलासा भएको छ । गच्छदारको यो हर्कत गत मंगलबार छताछुल्ल भएको छ ।

सभापति शेरबहादुर देउवाले पार्टीको दोस्रो चरणको हिमाल, पहाड, तराई मधेस राष्ट्रिय जागरण अभियानमा फोरम लोकतान्त्रिकका नेताहरूलाई पनि केन्द्रीय प्रतिनिधिका रुपमा खटाएका छन् ।

ती नेताहरू तोकिएको जिल्ला जान तयारी अवस्थामा थिए । तर, गच्छदारले ती नेताहरुलाई फोन गरेर केन्द्रीय प्रतिनिधिका रुपमा जान दिएनन् ।

‘कांग्रेसभित्र कुरा मिलेको छैन । तपाईहरूलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाइएको छ । नजानु होला’, फोरम लोकतान्त्रिक निकटका एक पूर्वमन्त्री समेत रहेका नेताले नाम उल्लेख नगर्ने सर्तमा भने,‘गच्छदारले हामीलाई जान दिनु भएन । आफू भने कार्यक्रममा सहभागी हुन सुनसरी जानुभयो । तर, उहाँले हामीसँग आफू पनि कार्यक्रममा नजाने बताउनु भएको थियो ।’

नेपाली कांग्रेसका उपसभापति गच्छदारले तत्कालीन फोरम लोकतान्त्रिकका नेताहरुलाई देखाएर पार्टीभित्र बार्गेनिङ गरेपछि विभिन्न आशंकाहरु जन्मिएका छन् ।

गच्छदारकै कारण फोरम लोकतान्त्रिकलाई समायोजन गर्न ढिलाइ भएको हो कि भनेर आशंकाहरु उठेका छन् । गच्छदारले आफू निकटका नेताहरुलाई कांग्रेसका नेताहरुले धोका दिएको बताउने गरेका छन् ।

तर, भदौ २४ गतेको राष्ट्रिय जागरण अभियानमा जानबाट नेताहरुलाई रोकेकोमा आलोचना बढेको छ । फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरी भने उपसभापति गच्छदारको निर्देशन बेवास्ता गरेर कैलालीको जागरण अभियानमा सहभागी भए ।

कार्यक्रममा प्रमुख अतिथि बनेर उनले गज्जबको भाषण समेत गरे । उनले फोरम लोकतान्त्रिकलाई छिटोभन्दा छिटो पार्टीमा समायोजन गरेर काम दिन माग गरेका थिए ।

प्रतिक्रिया