बीआरआई सामूहिक विकासको प्रयास हो :प्रचण्ड

इनेप्लिज २०७६ भदौ २९ गते ११:२० मा प्रकाशित

काठमाडौँ, २९ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)ले सामूहिक विकासको प्रयास गरेको बताएका छन् । साथै, उनले बिआरआईको तयारीमा नेपालको पक्षबाट सक्रियता कम भएको पनि स्विकारेका छन् ।

नेपाल बुद्धिजीवी संगठनले आइतबार ललितपुरमा आयोजना गरेको बीआरआई संवाद कार्यक्रममा उनले बीआरआई ठूलो प्रोजेक्ट भएको र यसबाट नेपालले फाइदा लिन सक्ने बताए । उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको पूर्वसन्ध्यामा बीआरआईबारे बहस हुन महत्वपूर्ण कुरा भएको बताए ।

‘बीआरआई निकै ठूलो प्रोजेक्ट हो । यसले सैन्य अभ्यासको परिकल्पना गर्दैन, शक्ति केन्द्रको परिकल्पना गर्दैन’, प्रचण्डले भने, ‘यो सामूहिक विकासको प्रयास हो। यसबाट नेपालले धेरै फाइदा लिन सक्नेछ ।’

पूर्वप्रधानमन्त्री समेत रहेका उनले जमिनबाट जमिन र समुद्रसँग जोडिनका नेपालका लागि बिआरआईको झन आवश्यकता औंल्याए । आफू प्रधानमन्त्री हुँदा त्रिदेशीय साझेदारीको कुरा उठाएको बताउँदै त्यसलाई सरकार बाहिर हुँदा पनि निरन्तरता दिएको दावी गरे ।

‘म प्रधानमन्त्री हुँदा र सरकारबाहिर रहँदा पनि त्रिदेशीय साझेदारीको विषय उठाउँदै आएको छु’, उनले भने, ‘बिम्सिटेक सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिङ फिङ र भघारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग यो विषयमा गम्भीर कुरा राखेको थिए।’

बिआरआई सैन्य गठबन्धनको लागि नभएको बताउँदै प्रचण्डले सोसल हार्मोनीका लागि बिआरआईको आवश्यकता बताए । विचार मन्थन र वौद्धिक ढंगले जनमत निर्माण गर्न छोडि नाफा घाटालाई प्राथमिकता दिन नहुने सुझाए ।

अध्यक्ष प्रचण्डले समाजलाई विवेकले गाइड हुनुपर्नेमा आवेगले प्राथमिकता पाएको प्रति पनि चिन्ता व्यक्त गरे । चारैतिर अध्याँरो भनि प्रचारित गरिएजस्तो नभएको उनको दाबी छ ।

प्रतिक्रिया