ज्ञानेन्द्र शाहीले ‘पिटाई खानुपर्ने’ एउटा प्रश्न

इनेप्लिज २०७६ भदौ २९ गते ११:१७ मा प्रकाशित

काठमाडौं, २९ भदौ । भ्रष्टाचारविरुद्धको अभियान्ता मानिएका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले आइतबार पत्रकार सम्मेलन आयोजना गरे । नेपालका लागि नेपाली अभियानको कार्यालयमा उनैले डाकेका पत्रकारहरू मध्ये कसैले उनलाई चड्कन हान्यो ।

खासमा यसअघि पनि पश्चिम नेपालको कार्यक्रममा उग्र भाषण गरेका कारण प्रहरीको लाठी भेटेका शाहीले पिटाई खानुपर्ने कारण सामाजिक सञ्जालमा छारस्ट नै थियो ।

 

नेपालगञ्जमा शनिबार साँझ १५ मिनेट बुद्ध एयरको विमान ढिलो हुनुको कारण पर्यटन मन्त्री योगेश भट्टराईलाई पर्खिनु थियो । तर, शाहीलगायतले सोही विषयलाई एक घन्टा भनी सामाजिक सञ्जालमा प्रचार गरे, भिडियो बनाएर ।

अर्कोचाही, शाहीले अभियन्ता भन्दा पनि आक्रोशको व्यापार गर्न खोजेको पुष्टि गरे, सामाजिक सञ्जालमा उक्त भिडियो राख्दै । उनले मन्त्री भट्टराईलाई नेपालगञ्जमा ‘रामधुलाई’ गरेको भनी क्याप्सन लेखे । जबकि, रामधुलाईको अर्थ नै पिटेको भन्ने लाग्छ ।

उनी यतिमा रोकिएनन् । यस विषयले सामाजिक सञ्जालमा पक्ष र विपक्षको तिव्र आलोचना भएपछि आफैंले पत्रकार सम्मेलनको घोषणा गरे । सोही क्रममा प्रश्नोत्तर हुँदा उनी झनै विवादीत बने ।

राजावादीको आरोप लागिरहेका ज्ञानेन्द्र शाहीलाई सम्मेलनस्थलमा पत्रकारहरूमाझबाट प्रश्न आयो– ज्ञानबहादुर शाही कसरी ज्ञानेन्द्र शाही भए ? यसको उनले उत्तर दिएनन् । बरु, उत्तरका नाममा प्रतिप्रश्न गरे– पुष्पकमल दाहाल कसरी प्रचण्ड भए ? यहि प्रश्न शाहीले पिटाई खानुपर्ने कारण बन्यो । आक्रोशित मुद्रामा रहेका पत्रकार कित्ताबाट कसैले उनलाई झम्टियो । प्रहरीलाई भित्र छिर्न नदिएका उनी आक्रोशको चपेटा खान बाध्य भए ।

प्रहरीका अनुसार उनलाई असुरक्षा हुन सक्ने विषयमा जानकारी गराइएको थियो । तर, कार्यालयमा प्रहरी छिर्न उनैले निषेध गरेका थिए । अहिले भने, प्रहरीले उनलाई नियन्त्रणमा लिई सुरक्षामा राखेको छ । ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी टेकबहादुुर राईको कार्यालय कक्षमा शाही सुरक्षित भएर बसेका छन् ।

प्रतिक्रिया