ति अतितका दशैंहरू-शशी केसी

शशी केसी २०७६ भदौ २९ गते १०:३७ मा प्रकाशित

बिहान काममा जान ढोका खोल्दा स्वाट्ट चिसो सिरेटो पर्यो अनुहारमा, अनि गाडीमा जाँदै गर्दा मन्द मन्द बतास,हुस्सु पनि लागेको ठाँउठाँउमा,ओहो कस्तो दशैंको मौसम जस्तो आज । झट्ट, यस्सो सोचें, ए साच्चैँ, दशैं आउनै त लाग्यो मात्र केही दिन त छ बाँकी, तेसै तेसै बिहान बिहानै मन खुशी भयो । साथै ति अतितका दशैंहरू, मन्दिर गएको, चंगा उडाएको, टिका लगाउन गएको, दक्षिणाहरू,नयाँ लुगा किनेको, खसी बोका पुजा गरेको, गोकुल धुपको बास्ना आदी सबै एक एक गरेर झलझल याद आउँदै गए, आउँदै गए…। हुनत,धेरै बर्षदेखि नेपाल बाहिर भएपनि, बिभिन्न ठाँउमा बस्दा कहिले कता, कहिले साथीहरूसँग, कहिले नातागोता,आमाबुबा, दाजुभाईहरूसंग मिलेर दशैं त सबैले मनाएको जस्तै गरेर मनाइयो नै बिदेशमा । तर नेपालमा जन्मे, हुर्केको भएर होला वा “भन्छन नी बाल्यकालका सम्झनाहरू धेरै राम्रा” जति जति उमेर बढ्दै गयो ति नेपालमा मनाइएका दशैंहरूको बढी नै सम्झना आउने रहेछ।

दशैंको पहिलो दिन, घटस्थापनादेखि बिभिन्न देवीका मन्दिरहरूमा दर्शनार्थीको घुईँचो लाग्ने गर्छ। हामी पनि मन्दिर जाने गर्थ्यौं, स्कुल पढ्दा करले र क्याम्पस पढ्दा रहरले । स्कुल पढ्दा होस्टेलबाट घर आएको हुने, मज्जाले बिहानभरि सुत्न पाइएला सोच्यो, ए कहाँ पाउनु, होस्टेलको घन्टी जस्तै बिहान बिहान नौरथाको पुजा,आरतिको घन्टीले उठाई दिहाल्थ्यो नी । त्यति मात्र हो र बेलाबेलामा देवीको मन्दिर जबर्जस्ती जानु पर्थ्यो आमाबुबाको पछि लागेर । हामी नी के कम, मन्दिरको छेउको होटेलमा, जेरी, पुरी, मालपुवा,चना, मिठाई खुवाउने भए जाने भन्दै पछि लाग्थ्यौं। लामो लाइनमा भोकभोकै बस्दा ध्यान कहिले देवीको भित्र दर्शन होला र होटलमा गएर तात-तातो खानु। मिठो खाने लोभैले नी गरियो धर्म धेरै । क्याम्पस पढ्दा, सबै घरको अनुशासन, पढ्न वा अरू आवश्यक काम बाहेक कुन घरका छोरी चेली लखर लखर बाहिर हिंड्थे र त्योबेला। मन्दिर जाने भनेपछि जान पाइन्थ्यो सजिलै, साथीहरूसंग मिलेर गइन्थ्यो कहिलेकाहीँ बिभिन्न देवीको मन्दिर।

अब कुरा गरौं, दशैंको चंगाको, ओहो दशैं आउन महिना दिन अगाडी देखि बजारमा लट्टाईँ, धागो र थरीथरीको रंगीचंगी चंगा निक्लन्थ्यो। घरका छोरामान्छेहरू धागोमा सिसा पिसेर, बिभिन्न रंग आदी केके हालेर”माजा”बनाएर, अरूको चंगा काट्न सक्ने बनाउँथे। अनि चंगा उडाएर एक आपसमा हावामा माथी माथी उडाएर लडाउने, चंगा काटिएपछि “चेट” भनेर कराउँदा कम्ता रमाइलो हुन्थ्यो र। त्यो काटिएको चंगा लुट्न जानुको त झन मज्जा नै अर्को। एकदिन यस्तै ५-६ क्लासमा पढ्दाको बेला होला, घर अगाडीको खाली चउरमा खेलिरहेको थिँए, “चेट”भएको चंगा आएको देखेर कुदने भाको पर्खाल पर्खाल नराम्रोसंग लडेर खुट्टा दर्खरिएको थियो।अहिले त खै चंगा उडाउँछन् कि नाईँ नेपालमा।

दशैं अनि दशैंको लुगाको कुरा नगरि अपुरो नै हुन्छ। उबेला अहिले जस्तो जताततै राम्रो लुगा पसल नै कहाँ थियो र काठमाडौंमा, न्युरोडको “जुजु भाईको पसल” भोटाहिटी, बिशाल बजारतिर जानु पर्थ्यो किन्न। लुगा पनि किनिदिने सँधै जसो १-२ साइज आफुभन्दा ठुलो, किन त्यसो भन्दा बढ्ने केटाकेटी, लुगा छिट्टो छोटो हुन्छरे! अनि केही गरि किनेको लुगा घर लगेर हेर्दा मन परेन वा भनौं ठिक भएन (ठिक नहुने संम्भावना धेरै, किनकी नापेर लगाउने ठाँउपनि नहुने धेरै पसलहरूमा) भने फिर्ताको त कुरै नगरौं, साट्न पनि १ बजे पछि मात्र पाउने, बिहान जाँदा त “बोनी” भएको छैन भन्दै पसले तेसै रिसाउने । नँया जुत्ताको त के कुरा गर्नु, लगाएर टिका लगाउन जाँदा, नँया, कडा भएर घाउ नै हुने नी।

अव कुरा गरौं दशैंका खसी,बोकाको। ओहो,त्योबेला अष्टमीमा कालो बोका देवीलाई चढाएन भने कुलदेवता रिसाउँछन भनेर बोका किन्नको बेग्लै चटारो। घरका बुबा, काका, मामा छोरामान्छेहरू बोका, खसी किन्न सल्लाह गरेर पुतली सडक/ बागबजारको “खसी बजार” जाने षष्टी वा सप्तमीको दिन। धेरै अगाडी पनि नजाने, राख्ने ठाँउ अनि बिरामी पर्ला भनेर।एउटा रमाइलो किस्सा, एक दशैंमा कालो बोका पुजा गरेर लेराएर, तातो पानी हालेर सफा गर्दा त, कालो रंग पो निक्लि रहेको, खासमा भएको के भने, व्यापारीले सबै कालो बोकामात्र खोज्ने, अब पुरै कालो त सँधै कहाँ हुन्छ र, मज्जाले कालो रंग दलदाल पारेर बनाएको होला पुरै कालो।आजकल त नेपालमा पशुबली दिनु ठिक कुरा होइन भनेर धेरैले नरीवल पुजा गर्न थालेको देखियो।

अन्त्यमा टिका र दक्षिणाका कुरा। टिकाको दिन निकै चहलपहल, नयाँ लुगा, जुत्ता लगाउन पाउने तेसै तेसै खुशी, साथै टिका लगाएर दक्षिणा स्वरूप पैसा पनि पाउने के र खुशीको त सिमा रहेन। त्योबेला, छोरीमान्छे अरूबेला हेपेको जस्तो लागेपनि, दशैंमा दक्षिणा चाहीं छोरामान्छेलाई मामाघरतिरमात्र दिने, घरतिर नदिएको देख्दा आफु कत्ति न ठुलै जस्तो लाग्थ्यो। अहिले सोच्दा त कता कता हामी, छोरी चेलीलाई सानै देखि दिन्छनकि भनेर कतै आशे नै त बनाएको होइन समाजले जस्तो पनि लाग्छ ।जे होस, यस्तै रमाइला कुराहरूले गर्दा पनि दशैं भन्नेसाथ रमाइलो नै लाग्छ।

आउँदै गरेको दशैंको शुभकामना सबैलाई, जँहा रहेपनि आफुले मनाउँदै गरेको चाडपर्व मनाउन नछोडौं, हाम्रा पछिल्ला पुस्ताले पनि यी हामीले रमाएको जस्तै गरेर चाडपर्व सम्झेर रमाउन पाउँन ।

 

प्रतिक्रिया