एकताबद्ध भएर पार्टीका कार्यमा लाग्नुहोस् : नेता रावल

इनेप्लिज २०७६ भदौ २७ गते ९:२४ मा प्रकाशित

अत्तरिया, २७ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भीम रावलले पार्टीका सबै तहका नेता, कार्यकर्ता र सदस्यलाई एकताबद्ध भएर पार्टी काममा लाग्न आग्रह गर्नुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तह कमिटीको टुङ्गो लागेको बताउनुभयो ।

“सुदूरपश्चिममा पार्टी एकीकरणको काम सम्पन्न भइसकेको छ”, उहाँले भन्नुभयो, “अब भ्रातृ सङ्गठन एकीकरणको काम पनि छिट्टै टुङ्गो लगाइने छ ।

उहाँले जिल्ला, नगरपालिका तथा गाउँपालिकामा कमिटी निर्माण भइसकेकोले विकास निर्माणका काममा सघाउन र पार्टीका राम्रा गतिविधिलाई जनस्तरसम्म लैजान आग्रह गर्नुभयो ।

दुई दिनसम्म बसेको प्रदेश पदाधिकारीहरुको बैठकले सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहको पूर्ण कमिटीसँगै अधिकांश वडा कमिटी पनि टुङ्गो लगाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

बैठकमा प्रदेश इन्चार्ज भीम रावल, स्थायी समिति सदस्य लेखराज भट्ट, प्रदेश अध्यक्ष कर्णबहादुर थापा, सहइन्चार्ज लक्ष्मी जोशी, खगराज भट्ट, भानुभक्त जैशी तथा सचिव नेपबहादुर चौधरी सहभागी रहनुभएको थियो ।

प्रतिक्रिया