रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा पुनरावेदन दर्ता

इनेप्लिज २०७६ भदौ २४ गते ११:१२ मा प्रकाशित

काठमाडौँ, २४ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतबाट छुटेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई थुनामा राख्न पाटन उच्च अदालतको हेटौँडा इजलासमा निवेदन परेको छ ।

लामिछानेसहित तीन जनालाई धरौटी र तारेखमा छोड्ने जिल्ला अदालत चितवनको आदेशविरुद्ध सरकारी वकिलको कार्यालय उच्च अदालत गएको हो ।

सोमबार सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दर्ता गराएको छ ।  जिल्ला अदालतको आदेशलाई बदर गरी उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा पुनरावेदन दर्ता गरिएको हो ।

निवेदनको प्रारम्भिक सुनावाई आज तोकिएको छ ।

चितवन जिल्ला अदालतले अस्मिता भन्ने रुकु कार्कीलाई साधारण तारेखमा, लामिछानेलाई पाँच लाख र युवराज कँडेललाई तीन लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।

गएको साउन २० गते पत्रकार पुडासैनीले चितवनको एक होटलमा आत्महत्या गरेका थिए । आत्महत्या गर्नुअघि भिडियो रेकर्ड गरेर उनले टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछाने, पत्रकार कँडेल र नर्स कार्कीका कारण आफू मर्न बाध्य भएको उल्लेख गरेका थिए ।

साउन ३० गते काठमाडाैँबाट पक्राउ गरि चितवन लगिएका यी तीन जना जिल्ला अदालतको साउन ९ को आदेशपछि हिरासतमुक्त भएका थिए ।

जिल्लाको आदेशविरुद्ध लामिछाने  र कँडेल यसअघि नै उच्च अदालत पुगिसेका थिए । उनीहरुको रिटमा सुनुवाइ गर्दै उच्चले कैफियत मगाउन आदेश गरेको थियो ।

प्रतिक्रिया