नेपाल प्रहरी प्रवक्ता पोखरेलको एउटा कार्यक्रम विवादीत

इनेप्लिज २०७६ भदौ २४ गते ११:०१ मा प्रकाशित

काठमाडौं, २४ भदौ । तालिमका क्रममा अमेरिकामा रहेका नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलको एउटा कार्यक्रम विवादीत बनेको छ ।

‘चेन अफ कमान्ड’मा हुने संगठनमा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबाट कुनै अनुमति नै नलिई त्यहाँको नेपाली समुदायको संगठनको कार्यक्रममा उनको उपस्थिति विवादीत बनेको हो । जसको सामाजिक सञ्जालमा चर्को आलोचना हुन थालेको छ ।

व्यक्तिगत हिसाबले उनको सहभागीता विवादीत नहुने देखिए पनि नेपाल सरकारको जिम्मेवार व्यक्तिको रुपमा उनलाई प्रस्तुत गरिएको छ । नेपाल प्रहरीको बर्दीसहितको तस्बिर राखी आयोकज संस्थाले ‘नेपालको कानुन र न्याय’का विषयमा प्रवक्तासँगको कुराकानी भनी कार्यक्रम चलाएका छन् ।

पोखरेलको उक्त सहभागीताका विषयमा सामाजिक सञ्जाल प्रयोगकर्ता बहादुुर चन्द दिवाकार व्यंग्य गर्दै लेख्छन्,‘गृह मन्त्रालय अनुमति पक्कै दियो पनि होला, डिआइजी साब तपाई नेपाल प्रहरीको प्रवक्ता हो, कुनै व्यक्ति होइन ।’

युएसनेपाल अनलाइनको आयोजना गरेको कार्यक्रममा पोखरेलले सहभागीता जनाएका हुन् ।

अर्का एक जना टेकबहादुर रुवाली लेख्छन्,‘हामी नेपालीको समय अमेरिकामा कति सस्तो हुँदा हुँदा डिआइजीको पनि कार्यक्रम ?’ प्रहरीको उच्च स्रोतका अनुसार पोखरेलले बर्दीसहितको तस्बिर राखी विदेशी कार्यक्रममा सहभागी हुनका लागि कुनै अनुमति लिएका छैनन् ।

खासगरी सुरक्षा क्षेत्रमा काम गर्ने जिम्मेवार व्यक्तिले सरकार वा संगठनको अनुमति बिना नेपालको आन्तरिक अवस्थाका विषयमा सार्वजनिक कार्यक्रममा बोल्न मिल्दैन । प्रहरी भित्रै पनि संगठनको अनुमति बिना जथाभावी अन्तरवार्ता दिने, कार्यक्रममा जाने नेपालमै पनि रोक लगाइएको छ ।

सुरक्षा विज्ञहरूका अनुसार प्रहरी, सेना वा सशस्त्र प्रहरीका जिम्मेवार पदाधिकारी विदेशी मुलुकमा कुनै निमन्त्रणामा सरकारको औपचारिक अनुमति लिएर मात्रै यस्ता कार्यक्रममा सहभागी हुन्छन् । डिआईजी पोखरेलले लिएको खण्डमा कुनै मुद्दा बनाउन आवश्यक नहुने तर नलिएको खण्डमा भने अनुशासन तोडकेको ठहर्ने विज्ञहरू बताउँछन् ।

प्रतिक्रिया