शुक्रबार, असोज ३ २०७६
काठमाडौं १३:१९
वासिङटन डिसी 03:34

नेकपाको सपथग्रहण कार्यक्रमै झडप, प्रदेश सदस्य घाइते

इनेप्लिज २०७६ भदौ २४ गते ११:०० मा प्रकाशित

काठमाडौँ, २४ भदौ । सत्तारुढ नेपाल कम्यिुनिस्ट पार्टी नेकपाको सिरहा र सप्तरी जिल्ला कमिटीको सपथग्रहण कार्यक्रममा झडप भएको छ ।

मंगलबार महोत्तरीको बर्दिबासस्थित बर्दिबास सेवा समितिको सभाहलमा राखिएको एकतापछि बनेको नेकपा जिल्ला कमिटी सिरहा र सप्तरीको सपथग्रहण कार्यक्रममा झडप भएको हो ।

झडपमा प्रहरीको लाठीचार्जका क्रममा प्रदेश सदस्य देवनाथ यादव घाइते भएका छन् । उनीसँगै अन्य ३ जना कार्यकर्ता पनि घाइते भएको बुझिएको छ ।  असन्तुष्ट कार्यकर्ताले कार्यक्रम स्थलमा कुर्सी तोडफोड गर्दै नाराबाजी गरिरहेका छन् ।

असन्तुष्ट समूहले पार्टीको जिल्ला कमिटि चयन गर्दा मनोमानी र एकपक्षीय ढंगले गरेको भनी आक्रोश व्यक्त गरेका छन् ।

योग्यता नै नपुगेका व्यक्तिलाई जिल्ला कमिटीमा ल्याइएको र पार्टीका लागि योगदान दिएकालाई पाखा लगाएको भन्दै नेता कार्यकर्ताबीच विवाद छ।

जिल्ला कमिटी गठनप्रति तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र दुवैतर्फका नेता/कार्यकर्ता असन्तुष्ट छन् । तत्कालीन माओवादी केन्द्रका असन्तुष्ट केही नेता/कार्यकर्ताले राजविराजमा पत्रकार सम्मेलन गरेरै असन्तुष्टि व्यक्ति गरेका थिए ।

कुल १ सय ६५ सदस्यीय कमिटीमा तत्कालीन नेकपा एमालेका तर्फबाट सचिवसहित ८४ र माओवादी केन्द्रका तर्फबाट अध्यक्षसहित ८१ सदस्य छन् ।

प्रदेश कमिटी सदस्यद्वय देवनाथ यादव र भागवत यादवले जिल्ला कमिटी गठन गर्दा सप्तरीका सिनियर नेता तथा जनयुद्धको क्रममा जेल, नेल र यातना भोगेकाहरुलाई पाखा लगाइएको आरोप लगाएका छन् ।

भूमिगतकालदेखि पार्टीमा सक्रिय रहेका देवराम यादव, गोपाल गुप्ता, पवन यादव, उमेश मण्डल, ज्ञानेन्द्र घिमिरे, बलवहादुर महतो, सहिद पत्नी कविता ठाकुर, दानालाल चौधरी लगायतका महत्वपूर्ण नेताहरू कमिटीमा नल्याई पार्टीको सदस्य नै नभएका र नीति र सिद्धान्त नै नबुझेका माला कर्ण, राहुल मण्डलसहित एक दर्जनभन्दा बढीलाई कमिटीमा ल्याइएको उनीहरूको आरोप छ।

असन्तुष्ट पक्षले जिल्ला कमिटी पुनर्गठनका लागि प्रदेश इन्चार्ज प्रभु साह, सहइन्चार्ज विश्वनाथ साह तथा केन्द्रीय कमिटीमा समेत निवेदन दर्ता गराइएका थिए ।

शपथ ग्रहण गराउन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेल आउने तयारी भए पनि पार्टी भित्रकै विवादका कारण सहभागी नभएको बताइएको छ ।

झडपपछि प्रहरीले अध्यक्ष प्रभु साहलगायतलाई सुरक्षित स्थलतर्फ लगेको छ भने कार्यक्रम बिथाेलिएकाे छ ।

प्रतिक्रिया