पानी माग्दै किसानले गरे खेतमै प्रदर्शन

इनेप्लिज २०७६ भदौ २३ गते १२:१८ मा प्रकाशित

सञ्जय मित्र, रौतहट÷२३ भदौ

खेतमै धान सुक्न लागेको देखेर सिंचाइ कार्यालयसित पानीको माग गर्दै रौतहटको गढीमाई नगरपालिकाका किसानहरुले खेतमै प्रदर्शन गरेका छन् । बागमती सिंचाइ आयोजनाले चरम विभेद गरेको आरोप लगाएका छन् ।

गढीमाई २ समनपुरका हरि श्रेष्ठले सिंचाइ कर्मचारीको चरम विभेदको कारण समनपुर, सुन्दरपुर, हथिऔल, मदनपुरलगायतको विभिन्न गाउँको हजारौँ बिघा धानखेत बर्बाद भएको आरोप लगाएका छन् ।

नहर बनाउन सरकारले खेत लियो तर नहरमा पानी दिँदैन । पानी नदिँदा खेतको धान मर्नै लागेको छ । भदौको अन्तिमतिरसम्म सिंचाइ डिभिजनले ध्यान नदिँदा सिंचाइ हुन सक्ने हजारौ बिघा धानखेत बर्बाद भएको स्थानीय महिन्दर महतोले बताए । आफ्नो करिब दुई बिघा धानखेत बर्बाद भएको महतोको दाबी छ ।

नहरको सफाइ तथा मरम्मतको लागि हरेक वर्ष बजेट आउने गरेको तर सुन्दरपुर, समनपुर, मदनपुर तथा हथिऔलका किसानको खेतमा पानी जाने नहरको मरम्मत अहिलेसम्म नगरिएको खेत बाँझोजस्तै भएको दीपेन्द्र श्रेष्ठको भनाइ छ ।

२०५३ सालमा नहरको निर्माण भएको भए पनि अहिलेसम्म कुनै पनि वर्ष राम्रोसँग सिंचाइ हुन नपाएको श्रैष्ठ बताउँछन् । महँगो बीउ किनेर मल, बीउ तथा श्रमिकमा लाखौँ खर्च गरिसकेका किसानहरुको हजारौँ बिघा खेतमा धान नफल्दा त्यसको जिम्मेवारी डिभिजन सिंचाइ कार्यालयले लिनुपर्ने र किसानहरुले सिंचाइ कार्यालयसित नै क्षतिपूर्ति माग्ने श्रेष्ठले बताएका छन् ।

सिंचाइले क्षतिपूर्ति नदिए आफूहरुले विभिन्न किसिमको आन्दोलन गर्ने चेतावनी पनि उनले दिएका छन् ।

प्रतिक्रिया