एलिजा गाैतमकाे के दाेष ?

तारा भट्टराई २०७६ भदौ १८ गते १:२१ मा प्रकाशित

तारा भट्टराई । अचेल महिलाहरु सम्बन्धि ससाना कुराहरुले पनि सामाजिक सन्जालका भित्ताहरु भरिन्छन् र अनेक टिक्का टिप्पणी हुन्छन्। खासै ठूलाे कुराहरु पनि चाहिंदैनन्। याे साता भाईरल भएकाे ऋषि धमला र उनकी पत्नीकाे फाेटाे कसैलाई कुनै टाउकाे दुखाईकाे बिषयनै थिएन। ऋषि धमलाकी पत्नीले आफ्नाे परिवार र समाज बाट जे सिकिन् जे देखिन् त्याे गरिन्।

धमला पत्रकार र सार्वजनिक व्यक्तित्व भएकाेले फाेटाे भाईरल भयाे। नेपालमा ८१ प्रतिशत हिन्दु धर्ममा विश्वाश राख्नेहरुकाे परम्परा पनि एलिजाकाे जस्तै हाे। उनले मात्रै तीज मनाएकि हैनन्। केहि प्रतिशतले एलिजाले जस्ताे पतिकाे लागि ब्रत राखेनन् हाेला र ब्रत राख्ने सबैले देखाएर फाेटाे पाेष्ट पनि गरेनन् हाेला। उनले जे गरिन देखाएर नै गरिन्। म उनलाई व्यक्तिगतरुपमा चिन्दिन पनि। तर मेराे बुझाईमा एलिजा गाैतम कुनै कमजाेर र दासी प्रबित्तिकि महिला नभएर धमला भन्दा निक्कै सक्षम र पढेलेखेकि महिला हुन ।

भविष्यमा धमलासँग कुनै कारणले सम्बन्ध बिग्रिहाल्याे भने पनि एक्लै बॉच्न सक्ने हैसियत राख्ने महिला हुन्। उनले आफ्नाे पतिप्रति धर्म र परम्परा बमाेजिम उच्चतम प्रेम र प्रतिबद्धता दर्शाएकाे कुरा सामाजिक सन्जालमा प्रकट गरिन। याे एलिजाकाे दाेष हाेईन र धमलाकाे पनि हाेईन।चुराे कुराे त के हाे भने आदिमकाल देखि आजसम्म वा ईतिहॉस देखि बर्तमानसम्म महिलाहरु कुनै न कुनै रूपमा पुरुष बिवद्वताकाे शिकार भई नै रहेका छन्। धर्म, संस्कृति, संस्कार , परम्परा आदर्श , पुँजिबाद जस्ता अनेकन नाममा महिलाहरुलाई नै बढी प्रयाेगमा ल्याईएकाे छ। पुरुष बिद्वानहरुले लेखेका कथा, साहित्य उपन्यास, नाटक , दर्शन , पुराण वेद शास्त्रहरुमा नारि पात्रहरुलाई कि जिउदै जलेर सति जान बाध्य बनाएकाे छ कतै आदर्श कतै , बेश्या कतै सुन्दरी वा बाेक्सी, कतै देबी भगवती ,शक्तिशाली र कठाेर कि त कायर र डर छेरुवा बनाएकाे छ ।

कतै याैनकॉक्षा पुरा नभएर सधैं कुण्ठा पालेर बस्ने जस्ता अनेकन किसिमका काल्पनिक नारि पात्र जन्माएर काल्पनिक कथाले महिलाहरुलाई कुनैन कुनै तरिकाले पुष्टि गरिएकाे छ। महिला लेखिकाहरु पनि महिलाकाे पक्षमा खराे रुपमा वकालत गर्न सक्दैनन्। किनभने समाज, सँस्कार र सँस्क्रिती जाेगाईदिने महिला हुन भनेर ज़िम्मा नै लगाईदिएकाे छ। भॉड्याे भने घर बिग्रन्छ र समाजले अलग्याउँछ भन्ने डर हुन्छ। भाईरल भईएला भन्ने डर सबैलाई हुन्छ।

म आफैंलाई पनि सानाेमा हजुरआमाले महिलालाई डाेमिनेट गरेका अनेकन कथा र भूत प्रेतका कथा हालेर सिरकले मुख छाेप्न लगाएर सुताउनु हुन्थ्याे। अहिले पनि मलाई झमक्क सॉझ परेपछि एक्लै हुँदा भूत प्रेत आउला कि भन्ने डर लाग्छ। तीजमा उहॉ निराहार ब्रतबस्नुहुन्थ्याे र अर्काेदिन पूजा गरेर हजुरबाकाे खुट्टाकाे पानि खानुहुन्थ्याे। अरु वरपर गाउँ समाजका महिलाहरु लगायत हिमाल ,पहाड़ , तराई र काठमाण्डू शहर सम्मका हिन्दु परिवाका विवाहित महिलाहरु त्यस्तै गर्थे। कस्ता कस्ता क्रान्तिका कुरा छाँट्नेहरु पनि धर्मकाे अगाडी लम्पसार परेकाे देखेकि छु। कट्टर कम्यूनिष्ट र धर्मबिराेधीहरु पनि कट्टर धार्मभिरु भएर हिडिरहेका छन्। मैले स्कुलमा रटेकाे कबिता पनि “देशभक्ति त मर्दैन चुत्थै देश भए पनि।
पतिभक्ति त मर्दैन पापी पति भए पनि।।” नै हाे।

एलिजा जस्तै मेरालागि पनि मेरि हजुरआमा नै आदर्शकि पात्र हुन्। मलाई अहिलेसम्म उहॉले जे सिकाउनु भयाे त्यहिं गर्छु। ठीक बेठिक के हाे मलाई आजसम्म्म पनि थाहा छैन। त्याे धर्मका पण्डितहरु नै जानुन्।

म अहिले न्यूयाेर्कमा बस्छु र पनि मेरा लागि पिज़्ज़ा ,पास्ता म:म र बर्गर दरमा खाने खानाका परिकार हाेईनन्। मेरि हजुरआमाले २० बर्षकाे उमेर सम्म तीजकाे दरमा खुवाएकाे जस्तै खीर , मिठाई , आलुकाे अचार स्कुसकाे सब्जि जे पकाएर दिनुहुन्थ्याे त्यहि कुरा दुई माईल पर पैदल हिडेरै गएर किनेर ल्याएर पकाएर खान्छु। मैले पनि विवाह गरेपछि तिजकाे ब्रत राखे । राताे सारि चुरा तिलहरी सबै लगाएँ। समाजले ताेकेका मूल्य मान्यता अनुसार नै आफ्नाे प्रेम दर्शाउने काेशिष गरें। तर सन् २०१३ मा उहॉकाे स्वर्गवास भएपछि मेराे हृदय कति चर्कियाे र कस्ताे मनोदशाबाट म गुज्रिए भन्ने कुरा म भाेग्नेलाईमात्र थाहा छ। त्यसपछि तिज आउँदा राताे चुरा पाेते टिका लुगा लगाउने कि नलगाउने भन्ने मा मेराे मनभित्र एकदमै ठूलाे द्वन्द पनि नचलेकाे हाेईन। एकातिर लिलि थापाकाे एनजिआेले एकल महिलाहरुलाई राताे अभियान चलाईरहेका समाचार पढथे । अर्काेतिर मनमा द्वन्द्व चल्थ्याे।

मेराे श्रीमानकाे घरपरिवार र नातागाेताहरु अत्यन्त आदर्श र उच्चतम साेच राख्ने विद्वत वर्गमा पर्ने भएकाले मेराे व्यक्तिगत जिवनमा कसैले प्रश्न पनि उठाएन कमेण्टमा एकशब्द पनि खर्चेनन्।

तर पनि एकमुठी श्वास फेरुन्जेल सब ठिकठाक भैरहेकाे घर परिवार र समाजमा श्रीमानकाे श्वास फुस्स उडेकाे केहि सेकेण्ड देखि नै आफ्नो स्थान कहॉ छ भनेर साेच्न बाध्य चाहिं आफैं भइदाे नै रहेछ। मलाई याे सामाजिक मनोविज्ञानका कारणले भयाे कि आफ्नै मनाेदशाले भयाे मलाई नै थाहा छैन।खान लाउन पुग्ने जागिर , राम्राे घर भएपनि त्यसै आफुलाई एक्लाेपन र रित्ताे महसुस भएकै हाे।

तर म भाग्यानि मान्छे । म अब यस्ताे मनाेदशालाई धेरैसमयसम्म लम्ब्याएर राख्न हुन्न भन्ठाने । सन्सार मेरि आमा हजुरआमाहरुकाे पालामा भन्दा फराकिलाे भईसकेकाे थियाे। कसैलाई आराेप प्रत्यारोप नगरिकन मुटुभरि मीठा पलका अनुभबहरु लिएर सुटुक्कै त्याे घर र समाजभन्दा पनि दशहज्जार माईल पर गएर शून्य बाट जिवन शुरुवात गर्ने निर्णय गरे ।

म यता आउदा सन्सारभरबाट म जस्तै आप्रवासी बन्न आईपुगेका धेरै एकल महिलाहरुसँग पनि भेट हुनपुग्याे। क़रीब नाै मिलियन जनसँख्या भएकाे न्यूयाेर्कमा एक प्रतिशत महिला श्रीमानकाे म्रत्यू भएर एकल हुँदा पनि निक्कै सँख्या हुन आउछ। उनीहरु आफ्नाे जिवन आत्मविश्वास , आत्मसम्मान र पुर्ण मनाेरन्जन गरेर कुनै पश्चात्ताप नगरि विताईरहेका थिए। आफ्नै सानाे तिनाे जति कमाई छ त्यतिमै आनन्द मानेका र Mr. right (मिस्टर राइट )लाई अथवा कुनै अधिकार वा अधिकारकर्मीले अनुदानकाे पैसा र एजेण्डा लिएर आउला भनेर पर्खेर बसेका थिएनन् ।

याे निर्णय लिनसक्ने क्षमता म मा विकास हुनलाई एकातिर विश्वव्यापीकरणको असर म मा पनि परिरहेकाे थियाे भने विश्वका पैसा र पावर भएका मुलुकहरूले महिलाहरुलाई आत्मनिर्भर बनाउने र निर्णय प्रक्रियामा सशक्त बनाउने भनेर बनाएका एजेण्डाहरु आईएनजीओ र एनजीओमार्फत क्रमश नेपाल भित्रिसकेका थिए। राजनीतिक पार्टिका कार्यकर्ताहरु मैले पढ़ने स्कूल कलेजमा माक्सबाद, लेनिनबाद ,पुँजिवादका एजेण्डा लिएर आउँथे। क्रान्तिका कुरा गर्थे। महिला अधिकारका कुरा गर्थे।२०५२ सालपछि माआेवादी युद्ध शुरु भयाे। मैलेपनि सुन्न्ने , देख्ने , भाेग्ने र बुझ्ने माैका पाएँ।

जे भएपनि चुराे कुराे चाहि के हाे भने महिलाप्रति हाम्रो नेपाली समाज एकदमै अनुदार छ। उदारता देखाएकाे जस्ताे गर्छ तर डराएर पछि हट्छ। पुरुषहरु कुमारि पुजा दुर्गा पूजा गर्छन र खुट्टामा ढाेगेर अद्रिश्य शक्तिसँग डराउछन तर घरमावरहेकि देवी महिलालाई चाहिं दाशी नाेकर्नी , चाकर्नी र आफु ब्रेड विनर ठानेर आफ्नै खुट्टामा ढाेगाउछन्।

याे एलिजाले शुरुवात गरेकि हैनन्।त्याे बेलाका विद्वान् ऋषिहरु नै जानुन् । उनीहरुले आफ्ना देवताहरूलाई प्रसन्न गर्न के के संस्कृतमा श्लाेक र मन्त्र रचना गरे भन्ने कुरा दुई प्रतिशत भन्दा कम हिन्दुहरुले मात्र बुझेकाे अनुमान छ ।बुझ्न ज्यादै कठिन भएकाले अपब्याख्या र भ्रम नै व्यवहारमा उतारिदै आएकाे हाेला सायद। अझैपनि जातपातको भेदभाव, चाँडो विबाह,छोरालाई महत्व दिने पनि अपब्याख्या गरेरै आएकाले नेपाली महिलाको स्तरमा विकास हुनै सकेको छैन। सन् २०११ को जनगणना अनुसार महिला साक्षरता ६५.९ प्रतिशत पनि मात्र छ। नेपालको संविधानले पछिल्लाे समय महिला सम्बन्धि हक अधिकारहरु प्रसस्तै दिएकाे छ। तर कार्यान्वयन पक्ष फितलाे छ।

याे नेपालकाे कुरा भयाे। अमेरिकाकाे कुरा गर्दा याे नेपाल जस्ताे पॉचहज्जार बर्ष पुरानाे सँस्कार बाेकेकाे देश हाेईन। भर्खर २०० बर्षकाे ईतिहॉस बाेकेकाे जवान देश हाे। एलिजा गाैतमले त आमा हजुरआमाले सिकाएकाे जस्ताे नेपाली पात्राेमै ताेकिदिएकाे दिनमा ब्रत राखेर आफ्नाे पति प्रतिकाे प्रेम र विश्वास प्रकट गरिन र साेसियल मीडियामा फाेटाे हालिन। मैले पनि धेरैका कमेण्ट पढ़ें । कसैले ब्यस्त धमलाका खुट्टा फाेहाेर थिए भनेर कमेण्ट गरे तर अमेरिकामा महिला साथिहरु र सहकर्मिहरुसँग कुरा गर्दा आफ्नाे प्रेमी वा श्रीमानसँग बेडरुममा खुट्टाकाे पानी खाएकाे भन्दा घिनलाग्दाे तरिकाले प्रेम र समर्पण देखाउने कुरा बताउछन्।

हुन पनि यहॉ भरे के हुन्छ कसैलाई पनि थाहा हुँदैन। तर चाहे २४ घण्टाकाे सम्बन्ध किन नहाेस एकले अर्काेलाई अधिकतम ख़ुशी दिने प्रयास चाहिं गर्छन्। पूर्व राष्ट्रपति बिल क्लिंटन र मोनिका लेविंस्की बीचकाे सम्बन्धकाे प्रसंग फाेहाेरि हाे कि हाईजैनिक हाे ? वर्तमान राष्ट्रपति डाेनाल्ड जे ट्रम्प आजसम्म मिडीयामा आएका विवाहाेत्तर १५ वटा सम्बन्धहरु सबै हाईजेनिक हुन् त?

मेराे बिचारमा एलिजालाई सामाजिक सन्जालमा गाली गरेर समाज परिवर्तन हुँदैन।

तारा भट्टराई 

 

 

 

 

 

 

 

 

 

तस्बिर : एलिजा गौतमको फेसबुकबाट

प्रतिक्रिया