‘ म फेरी गम्छु.. सुनिता राई कन्दङ्वा

इनेप्लिज २०७६ भदौ १३ गते १९:३१ मा प्रकाशित

कविता – ‘ म फेरी गम्छु..
केहि समयदेखि
मनको कुनाकुनासम्मै
एकखाले अराजक सुनामी हुडलीरहेछ
दायाँबायाँ अघिपछि तलमाथि, सबैतिर नियाल्छु

नियाल्छु, छाम्छु आफैंलाई
के म मै हुँ ?

मेरो बाल्यकालीन प्रिय सखी ‘डल्लीमाया मगर्नी’
हिजै मात्र टेलेफोनमा भन्दै थिइन्
कान्छी
तिमी र म खेलेको बगैँचा
अचेल
घनाजङ्गल बनेकोछ
जुन खेतका आलिआली दौडन्थ्यौ हामी
त्यहाँ अचेल स्याल बाँदर रतेउली खेल्छन्
हेरिसक्नु छैन त्यो दरबार
जहाँ हामीले
हाम्रा औधि सुन्दर
राजकुमार/राजकुमारीको बिहे गराएर भित्र्याएका थियौँ

आँगनमा गट्टी खेलाएका थियौँ
के तिमीलाई याद छ कान्छी ?
म फेरी गम्छु/छाम्छु आफैँलाई . ..
र सोंच्छु. . .
म कहाँ छु हँ !

हो
म त यहाँ/एतै व्यस्त छु
मेरो महँगो हातेफोन आइप्याड ल्यापटपका सिस्टमहरु सफाई गर्न
त्यो बगैँचा, खेतबारी जङ्गल बने बनून
बाल मतलब भएन
मैले भुलिसके
गाइ/भैंसीलाइ घाँस काट्न
भेडा/बाख्रा चरण लान
धान/कोदोको ब्याड राख्न
मकै/गहुँ छर्न
खेतका भित्ता आली ताछ्न
मैले भुले
प्रिय सखी डल्लीमाया तिमी केलाई राप्छौ मन ?
अबको समय
रोबोटको हो, अल्गोरिदमको हो
जो हामीभन्दा अधिक कार्य गर्नेछन्
हो, कैयौंगुणा अधिक… बुझेउ !

ओ सखी !
सुन न
हाम्रा आँशु कवि देवकोटा
आज जीवित हुँदा हुन् त
सायद
अझ पागल हुनेथे
यो पागल दुनियाँ देखेर
भैरव अर्याललाइ अझ गजबको मसला मिल्नेथ्यो
उनका हाँस्यव्यंग्या यात्रामा
मंगल ग्रहमा बस्ति बसाउन तल्लिन
एलोन मस्क को पहिलो टोलीमा सामेल भै
स्वा; इन्द्र बहादुर राई
सायद यतिबेला यात्रा गरिसकेका हुनेथे
भो
भाडमा जाओस्
मार्स्कवाद, लेलिनवाद
आइन्स्टाइनको सापेक्षवाद
अब यहाँ
सिदान्तहरु घोटेर
समाजवादी बन्नु छैन
समाजवाद स्थापना गर्नु छैन
अब यो समस्त जगतबासी (हामी) एउटै बन्दैछौं
र हाम्रा भाषा पनि एकैखाले बन्नेछ

थाहा छैन शेक्सपियर कता हिड्यो कुन्नि
रोमियो र जुलिएट काखी च्यापेर
ब्ल्याकहोल सम्बन्धि बाँकी चुनौती
यी जुनियार जिनियासहरुको थाप्लोमा छोडी
क्वान्टम चौतारीमा आराम गर्न पसेका छन्
स्टेफेन हकिङ्स
एता
हाम्रा भानुभक्त बाज्य
आधुनिक लौरी टेक्दै, शर्ट पाइन्टमा
रामायणको ठेली बोकी
तनहुँ उकालो चढ्दो छन्
हाय !
टोनी मोर्रिसन
निलो आँखा लिई भर्खरै बिदा भइन
उता
गोर्की
पोस्टमोडर्निज्मको न्यानो ताप्दै
मिठो दन्त्यकथा मानि पढ्दै होलान् आफ्नैं ‘आमा’
भर्जिनिया वुल्फ़
सायद
मुस्कुराइरहेकी छन् यतिबेला
अब उठाउनु पर्ने छैन भनि फेमिनिज्म आवाज

हो
अनि
प्रवृधिको विकासले
अब उप्रान्त कुनैपनि जन्तुसम्मको हत्या हुनेछैन
किनकि
अब
एउटा सानो सेलबाटै हरेक खाले मासु बनाइदैछ

ओ सखी
अचेल हातले पत्र लेखिंदैनन्
जसरी एक जमानामा लेखिन्थ्यो एकर्काको हालखबर बुझ्न
त्यो त कथा जस्तै बनिसक्यो सुन्दा पनि
अचेल त हामी टेक्स्ट गर्न्छौँ यी विभिन्न माध्यमबाट
र हाम्रा इमोसन्स
स्यस्यना आइकनहरुद्वारा अभिव्यक्त हुन्छन
के अझै पनि तिमी तिनै वन पखेरुमा छौ सखी !
समयले धेरै फट्को मारिसक्यो त !
खै के के भन्छौ भन्छौ कान्छी
म त तिम्रो भाषै बुझ्न छोडेछु कि क्या हो!
कि शहरिया भाषा यस्तै हुन्छ हँ ?
तेलेफोना वार्ता . . . सकिन्छ . .
म फेरी गम्छु…!

सुनिता राई कन्दङ्वा

प्रतिक्रिया