तल्लो बाटोबाट अमेरिका पस्नेहरूको कारुणिक कथा बोकेको ईप्सान्त उपन्यास

शिव लामिछाने २०७६ भदौ ३ गते १:३७ मा प्रकाशित

शिव लामिछाने । रह शर्माका नाममा साहित्यमा उदाएका शशीकिरण रेग्मीको ईप्सान्त उपन्यास पढ्ने अवसर पाएँ ।  चितवन जिल्लामा प्राध्यापन पेसामा रहेका रेग्मीको पछिल्लो कृतिका रूपमा यो उपन्यास २०७५ माघ (सन् २०१८ को फरबरी) मा काठमाडौँको शिखा बुक्सले प्रकाशन गरी ज्ञानज्योति बुक्स पब्लिकेसनले वितरण गरेको रहेछ । मलाई भने उपन्यासकार स्वयंले टेक्सासबाट अमेरिकी हुलाकबाट भर्जिनिया पठाएर पढ्ने अवसर दिनुभएको हो । यसका लागि उपन्यासकारप्रति मैले हार्दिक आभार व्यक्त गर्नु मेरो कर्तव्य हो । लघुकाव्यका रूपमा २०५५ मा भ्रम नामक पुस्तक प्रकाशन गरी वहाँ नेपाली साहित्यको बागमा फुल्नुभएको रहेछ । व्यक्तिगत जीवनमा वहाँ मेरो अग्रज हुनुहुन्छ । साहित्यमा हामी एकै वयका रहेछौँ भनेर मलाई एक किसिमले खुसीको अनुभूति भएको छ ।

मेरो पहिलो कवितासङ्ग्रह ‘अस्तित्वको खोजी’ पनि २०५५ असारमा प्रकाशन भएको हो । वहाँ र मेरो अर्को मिल्ने कुरो पनि रहेछ– नेपालमा रहेका बेला मैले लेखेका सबै कविता, गीत, कथा, लेखरचना र छवटै कृतिमा मैले साहित्यिक नाम शिशिर शर्मा लेखेको छु । अमेरिका आएपछि प्रकाशित भएका मेरा दुई अङ्ग्रेजी कृतिमा भने मैले साहित्यिक नाम प्रयोग गरेको छैन । उपन्यासकार शर्मा र मेरा बीचको अर्को संयोग पनि रहेछ त्यो हो– आमाको नाम । वहाँकी आमाको नाम र मेरी आमाको नाम एकै रहेछ– रेणुका । उपन्यासकारले यो औपन्यासिक कृति आफ्नी स्वर्गीय आमा रेणुका रेग्मीमा समर्पित गर्नुभएको छ ।

यसपछि वहाँले २०५६ मा ‘वचन’ गीतसङ्ग्रह, विसङ्गति कवितासङ्ग्रह २०५७ मा, ‘अब के हुन्छ ?’ लेखसङ्ग्रह र ‘रहका कविता’ नामक कवितासङ्ग्रह २०६१ मा, ‘सेलरोटी’ बालकवितासङ्ग्रह २०६३ मा, ‘दौरासुरुवाल’ लेखसङ्ग्रह र ‘पहाडको फेदीको पाहुनाघर’ नियात्रासङ्ग्रह २०६५ मा, ‘परेवाको खेल’ बालकवितासङ्ग्रह र ‘दृष्टिबिम्ब’ निबन्धसङ्ग्रह २०६९ मा प्रकाशित भइसकेका छन् ।

उपन्यासकार शर्माको यस कृतिमाथि समालोचक होमनाथ सुवेदीले एक गहन भूमिक लेख्नुभएको छ । सुवेदीले यसमा उपन्यासकारको लेखनशैली, विषयवस्तु र पात्रचयनका बारे विस्तृत व्याख्या गर्नुभएको छ । वहाँले भूमिकामा भन्नुभएको छ– “रहको रहरको पारावार हो ईप्सान्त, तर यो मानवजीवनमा अभिशप्त कहर बनेर पोतिएको छ ।” यस वाक्यबाट उपन्यासका मूल पृष्ठमा प्रवेश नगर्दै एक खालको रहस्यको आभास हुन्छ । भूमिकामा सुवेदी अझै अगाडि भन्छन्– “भिसा लिएर त कुनै कोलम्बस अमेरिका पसेको थिएन । कुनै पनि असाधारण ईप्सा राख्ने व्यक्तिका लागि यो दुनियाँका कुनै पनि कानुन सर्वथा महत्वहीन हुन् ।” आर्थिक रोजीरोटी र त्यो भन्दा अझ अघि बढेर अतृप्त इच्छा पूरा गर्ने व्रmममा नेपालीहरूले विदेसिन केकेसम्म गर्नुपरेको छ भन्ने कुरा देखाउन उपन्यास सफल भएको जनाउ दिँदै भूमिकामा होमनाथ सुवेदीको कथन छ– “एउटा लोहोटामा सागर भर्ने काम रहको रहरले गरेको छ र नेपालीहरूको रहरको अहिलेको बाटो केकस्तो छ त्यसको पथप्रदर्शन गरेको छ ।”

उपन्यास तीन युवाको अमेरिका यात्राको योजनाबाट सुरु भएको छ । पृष्टभूमिमा एकजना दार्शनिक गणेशदत्तले कथावाचन गरेको शैलीमा उपन्यासको कथावस्तुलाई अघि बढाएका छन् । यो पढिरहँदा कृष्ण धरावासीको राधा उपन्यासकै शैली पछ्याइएको जस्तो लाग्छ तर राधा उपन्यासमा किच्चकबधको उत्खननबाट राधा उपन्यासको कथावस्तु अघि बढेको जस्तो प्रस्टता यसमा पाइँदैन । उपन्यासकारले गोरखा, काभ्रे र वर्दियाका तीन युवापात्रलाई काठमाडौँमा भेला गराएर ती युवाले अवैधानिक बाटोबाट अमेरिकायात्रा सुरु गरेको सन्दर्भबाट उपन्यास अघि बढाएका छन् ।

रामेश, कुलेन्द्र र घुरन तीन पात्र छन् । यी तीनैजनाको पारिवारिक पृष्टभूमि मध्यमवर्गीय आर्थिक पृष्ठभूमि छ । रामेश बाह्रकक्षा पूरा गरेर काठमाडौँमा उच्च शिक्षा अध्ययनका लागि बाबु नरेशप्रसाद पौडेललाई फकाइवरी आउन सफल भएको छ ।

कुलेन्द्र काभ्रेको युवा हो । उसले आई ए पास गरी पाककला (कुक)को तालिम लियो र कतारमा दुई वर्ष जागिर खान भ्यायो । चालीस हजारको मासिक आम्दानीबाट पनि उसको अभिप्सा पूरा नभएपछि अर्को वैकल्पिक र उपयुक्त अवसरको खोजी गर्ने योजनासितै ऊ नेपाल फर्कियो । २६ वर्षीय नौजवानलाई नेपाल फर्केपछि दौँतरीहरूको उच्चशिक्षा अध्यययनको परिवेशले लोभ्यायो । असी पचासी मुरी धान भित्रिने खेत र बाबुको एउटा राम्रै चलेको पसलबाट पनि उसलाई सन्तोष भएन । परिवारमा ऊ एक्लो छोरो हो बाबुआमाका सन्तानमा एउटी बहिनी पनि छ । यो सबै वैभवमा ध्यान नदिई ऊ पढ्नैपर्ने रहेछ भनी काठमाडौँतिर सोझियो । सन्तान जति ठूलो भए पनि बाबुआमाका  लागि ऊ सानै हुन्छ । उसलाई न आमाको वात्सल्य, न बहिनीको माया र न बाबु राजेन्द्रको सल्लाहले नै रोक्यो । ऊ काठमाडौँ पस्यो ।

घुरन अलिक उमेर छिप्पिएको छ । आइए सकेर कोरिया गईकन तीन वर्ष जागिर खाएर नेपाल फर्केको युवा हो ऊ । उसलाई विदेश बसाइ र त्यहाँको कमाइको स्वाद राम्ररी थाहा छ । कोरियाको समुद्री किनारमा माछाको गहु्रँगो तौल उचाल्दा ढाडमा समस्या नभएको भए ऊ अझै कोरियामै हुन्थ्यो होला ।  पश्चिम तराईको जिल्ला बर्दियाको मैनापोखराको स्थायी बासिन्दा उसको पारिवारिक आर्थिक अवस्था राम्रै छ । उसका बाबु घरजग्गा व्यवसाय गरी पैसा कमाउँछन् । खेतीपाती त छँदै छ ।

पढ्ने व्रmममा एकै क्याम्पसमा भेटिएका यी तीनजना कक्षाकोठामा र बाहिर गफिन सँगै हुन थालेपछि २३ वर्षे रामेशलाई विदेश बसेको अनुभव भएका घुरन र कुलेन्द्रले विदेशका रमाइला कुराहरू सुनाउन थाले । यसले रामेशको मनमा पनि विदेशबारेको सपनाले जालो बनाउन थाल्यो । यसैबीच एक  दिन कुलेन्द्रकोे भेट अकस्मात उसलाई कतार पठाउने श्याम नामको दलालसित भयो । यसले दलालसित कतारबाट नेपाल फर्केको र पाए राम्रो कमाइ हुने देश जान इच्छा भएको बतायो । श्यामले अमेरिका जाने अवसर भएको र पैसा अलिक बढी लाग्ने कुरा बतायो । साथीहरू पनि आफूसित विदेश जाने भएकाले उनीहरूसित सल्लाह गरेर भेट्ने गरी ऊ फर्कियो । कुलेन्द्रले घुरन र रामेशलाई यो कुरा अलिक असजिलो मानेर बतायो । अमेरिका गएर जीवन कायापलट गर्ने सपना तीनैजनाले देखेपछि दलालले मागेको पैसा जनही पच्चीस लाख जुटाउन उनीहरू घरतिर जाने सहमतिमा पुगे ।

तीनैजनाले भिन्नभिन्न तरिकाले बाबुआमासित गुनासा गरे, घुर्की लगाए, छिमेकका समवयी युवाहरूले विदेश गएर पैसा पठाएको उदाहरणहरू दिए र पैसाको जोहो गरिदिन अनुरोध गरे । अन्ततः छोराका हठमा बाबुआमाको जोर चलेन, विशेष गरी एकपटक पनि विदेश ननिस्केको रामेशका बाबुलाई निकै संकट प¥यो । रामेशका बाबुले बीस मुरी माटोको खेत बेचे, कुलेन्द्रका बाबुले आफ्नै पसल धरौटी राखेर पैसा सापट लिए । घुरनका बाबुलाई भने त्यति असजिलो परेन । निजी खर्चसमेत गरी तीसतीस लाख लिएर तीनै युवा अमेरिका उड्ने सपनासहित काठमाडौँ आए ।

काठमाडौँबाट कतार र कतारबाट ब्राजिल हुनेगरी टिकटको व्यवस्था गरिएको थियो । सहज रूपमा उनीहरू ब्राजिल पुगे । त्यसपछिको यात्रा अकल्पनीय र कष्टकर हुन थाल्यो । ब्राजिलको साओपाओ विमानस्थलमा २० घण्टाको पट्यारपूर्ण प्रतीक्षापछि बोलिभियाको सान्ताक्रुजका लागि उडे उनीहरू । दलालले सिकाए अनुसार विद्यार्थी भएको र शैक्षिक भ्रमणमा हिँडेको झुटो उत्तर दिँदै उनीहरू बोलिभिया उत्रिए ।  उनीहरूलाई श्यामले भनेको अनुसारको हुलिया भएको दलालले भेट्यो । उसले जनही १८ सय डलर लियो र लापाज्ड सहरसम्म बसमा जान सल्लाह दियो । उसले अबको यात्रा अवैधानिक हुने र यो यात्र महिनौँ सम्म लाग्न सक्ने भनी उनीहरूलाई अन्योल र भयमा डुबाएर हिँड्यो । दलाल भेट्न आउला र नयाँ यात्रामा निस्कँौला भनेर उनीहरू हप्तौँ एकै होटलमा बसे । यसैबीच पहिलोपल्ट विदेश निस्केको र भविष्य अन्योलपूर्ण भएको सन्दर्भले समूहको सबैभन्दा युवा उमेरको रामेशलाई त्यस परिस्थितिले थप निराश र भयभीत बनायो ।

हप्तौँको होटल बसाइपछि यी स्वप्नदर्शी युवाहरूको सास्तीपूर्ण यात्रा सुरु भयो । ब्राजिलबाट बोलिभिया पुगेका यिनीहरू पेरु, इक्वेडोर, कोलम्बिया, पानामा, निकारागुवाहुँदै होन्डुरस पुगे । बीचका यात्राहरू निकै कहालीलाग्दो रूपमा अघि बढ्यो । कतै जंगलको बास, कतै सामान राख्ने ठूला ट्रकभित्र अँध्यारोमा निसासिएर यात्रा गर्नु त कतै अमानवीय व्यवहार भोग्नु उनीहरूका लागि दैनन्दिनीजस्तै भयो । उपन्यास पढ्दै जाँदा ट्रकभित्रै चेपिएको अवस्थामा दिसापिसाबसम्म कपडामा छोड्नुपरेको कहालीलाग्दो र कारुणिक दृश्यले औपन्यासिक कथालाई अरू हृदयविदारक बनाउँछ ।  यसैबीच उपन्यासकारले रामेश विरामी पर्दै गएको थप कारुणिक कथा अघि बढाउँछन् । उनीहरू पूरै १२५ दिन होन्डुरस बस्छन् ।

उनीहरू थोत्रबो बसमा चढेर मेक्सिको पुग्छन् । यसैबीच मेक्सिकोको जंगलमा रामेशको मृत्यु हुन्छ । शवको हेरचाह गर्न परिस्थितिले कुलेश र घुरनलाई दिँदैन । रामेशको शवलाई परम्परागत रूपमा विसर्जन गर्न अपरिचित भूमिको अनकन्टार जंगलमा उनीहरू असमर्थ यसै पनि छन्, त्यसमाथि रामेशको लासलाई हाम्रो साथी हो भनेर भन्दा अमेरिका पुग्नुको साटो देश फर्कनुपर्ने अन्यौलपूर्ण अवस्थाले उनीहरू थप असजिलोमा पर्छन् । अन्ततः साथमा ल्याएको रामेशको लासलाई मेक्सिकोको जंगलमा छाडेर उनीहरू अगाडिको यात्रामा लम्कन्छन् ।

यता अमेरिकाको वैभवशाली जीवनमा बग्ने सपनाले अवैधानिक रूपमा मेक्सिकोसम्म पुगेका यी दुई युवाको अगाडिको बाटो अझै धुमिल छ, उता नेपालमा रामेशका बाबुआमाले रामेशको खोजखबर गर्छन् । रामेशका बाबु काठमाडौँ जान्छन्, उनको घरमा काग कराउँछ । रामेशकी आमा गोमादेवी छोराको यति लामो समयसम्म खोजखबर नभएपछि वियोग गर्छिन् । यही अन्योल काभे्रका कुलेन्द्रको परिवारमा पनि छाउँछ । उसका बाबु राजेन्द्र र आमा सुभद्रा छोराको यात्राको पछिल्लो खबर नआएपछि चिन्तित हुन्छन् । डीभी परेर अमेरिका जान लागेको दयारामलाई उनीहरू अमेरिकामा कुलेन्द्रको खोजी गरी समाचार पठाउन अनुरोध गर्छन् । त्यति ठूलो अमेरिकाको कुन सानो सहरमा दयाराम पुग्छ र उसले अमेरिका पुग्नासाथ राजेन्द्रको खबर कसरी पाओस् भनेर उनीहरू अनुमान गर्न सक्ने क्षमतामा हुँदैनन् ।

मेक्सिकोको सीमानाबाट सुरक्षाकर्मीको निगरानी अन्यत्र परेको बेला पारेर चोरबाटोबाट आएका यी स्वप्नदर्शी युवाहरू अमेरिका पसे । अमेरिका पस्नुअघि यिनले दलाललाई दुईदुई लाख बुझाउनुप¥यो । दलालले रामेशको पैसा नआएकोमा शंका गरेजस्तो गरेपछि यिनीहरूले एकजना विरामी परेर उतै बसेको बताएर जोगिए । उनीहरूको मानसपटलमा रामेशको सम्झना आइरह्यो । उनीहरूले सोचे, कतै रामेश ब्युँझेर एक्लै पो प¥यो कि । ऊ कतै मरेकै पो थिएन कि भन्ने भ्रमले यिनलाई सताइरह्यो ।

अमेरिका पसेपछिको अन्तिम किस्ता दलाललाई बुझाएपछि  दलालहरूको सल्लाहअनुसार कुलेश र घुरनले आफन्तको खोजी गरे । रामेशको लास छाडेर आएदेखि नै उनीहरूलाई उसको सम्झनाले सताइरह्यो । सम्पर्कका व्रmाममा कुलेन्द्र मामाको छोरो भाइकहाँ जाने भयो । घुरनचाहिँ भर्जिनियामा रहेकी दिदीकहाँ जाने भयो । दुवै जना एक ग्याँस स्टेसनमा केही किनेर खान भनी गए । त्यहाँ एक नेपाली कामदार भेटिएपछि दुवैलाई तिनैले बस चढाइदिए । यति लामो कस्टकर यात्रा साथसाथै आएका, दुवैका बीचबाट एक होनहार साथी बीचैमा गुमेको र अब एक्लाएक्लै अज्ञात गन्तव्यमा जानुपर्ने भएकाले घुरन र कुलेन्द्र बस चढ्नुअघि भावुक भएर रुँदै अङ्कमाल गर्न लागे ।

कुलेन्द्र टेक्सासतिरैको एक ग्याँस स्टेसनमा काम गर्न थाल्यो । एक नेपाली युवाले उसलाई ग्रीनकार्ड बनाउने सजिलो उपाय बताउने व्रmममा अमेरिकी नागरिक बनेकी एक नेपाली युवती जेसिकासित भेट गराइदियो । पराई मुलुकमा अन्योलमा काम गरिरहेको कुलेन्द्रलाई यस अवसरले नयाँ आशा जगाइदियो । ऊ जेसिकासित बिहे गर्न तयार भयो । तर सुरुमा उसले मामाको छोरालाई पनि भनेन । जब कागजी विवाह अमेरिकी कानुनअनुसार भयो तब मासिक रूपमा जेसिकाले पैसा माग्न थाली । उसले कागजपत्रको पूरै खर्च र जेसिकालाई तीन हजार डलर पहिल्यै बुझाएको थियो । उपन्यासकारका अनुसार उसले पाँच महिनामा ग्रीनकार्ड त पायो तर त्यसपछि पनि पैसा नदिएको आरोपमा जेसिकाका गुन्डा बनेका नेपाली दाजुभाइबाट यो विरानो मुलुकमा जेसिकाको निर्देशनमा कुटाइ खाइरह्यो । एक दिन उसले त्यहाँबाट भाग्ने योजना बनायो ।

अब घुरनको कुरा । कुलेन्द्रसित छुटेर २५ घण्टा बस यात्रा गरेपछि यता भर्जिनियाको मानस (मनासस हो कि ?) सहरमा रहेकी बर्दियाका कमरसिंहकी छोरी कुसुमादेवीले घुरनलाई लिन बस पार्क आइन् । दिदीको घरमा आएर बस्यो । नजिकैको एक स्टोरमा काम पनि सुरु ग¥यो । पूर्वी नेपाल घर भएकी ज्ञानमाया नामकी युवती पनि त्यही केही दिन काम गर्दिरहिछन् । उसले चिनजान ग¥यो । उसले आफू आउनुको कथा सबै बतायो । त्यो कारुणिक कथाले कसको मन पग्लँदैन र ! ज्ञानमाया पनि पग्लिइन् ।

केही हप्ता ठीकै हो, लामो समय हुँदै गएपछि दिदीको घर भए पनि घुरनलाई सजिलो भएन । आफ्नै दिदी पनि हैनन् । प्रवासमा दिदी भएर सहयोग गरिन्, काम खोजिदिइन् अनि काममा लिन जाने र पु¥याउन जाने गरिरहिन् । कति दुः दिनु ? एक दिन ज्ञानमायाले सँगै बसौँ, भाडा थोरैथोरै भाग लगाऔँ भनी प्रस्ताव गरिन् । घुरन युवा, ज्ञानमाया युवती । ऊ पनि आकर्षित भयो । अरूले के भन्लान् भन्ने त थियो नै । तर, अमेरिकामा यो पनि चल्छ भन्ने दुवैलाई थाहा भइसकेको थियो ।

ज्ञानमायाको निर्दोश व्यवहार र प्रस्तावले घुरन द्रवित भइसकेको थियो । असजिलो मान्दै उसले एक दिन दिदीभिनाजुलाई यो कुरा भन्यो । सजिलो थिएन दिदीभिनाजुलाई बाहिरबाट हुन्छ भन्न, तर आफ्नै सुर गर्छ भने ठीकै छ भन्नु यथार्थ निर्णय थियो । त्यसै भयो । घुरन ज्ञानमायासित बस्न गएपछि नेपालबाट कुसुमादेवी दिदीका बाबुआमा आए । उनीहरूले नेपालको खबर घुरनका लागि ल्याएका  थिए । एक वर्षसम्म विनाखबर बसेकामा उनीहरूले घुरनलाई सोधपुछ गरे । अझ ज्ञानमायासित बसेको सन्दर्भमा नेपालकै संस्कार र संस्कृतिको परिधिभित्र रहेर जातभात र ज्ञानमायाको पारिवारिक अवस्थाबारे घुरन र ज्ञानमायासित पनि सोधे । घुरनलाई परिवारप्रतिको दायित्व सम्झाए । विवाहको उमेर भएको कुरा सम्झाए । घुरनले भने यहाँ ग्रीनकार्ड नबनाई भविष्यको कुनै पनि कुरा नसोचेको र नेपालमा हाल पैसा पनि पठाउन सक्दिनँ भनेर निरस उत्तर दियो । उनीहरू घुरनको व्यवहारबाट दिक्क भएर घुरनको बसोवास भएको स्थानबाट निस्किए ।

यसैबीच उपन्यासमा घुरनलाई भेट्न कुलेन्द्र आइपुग्यो । कुलेन्द्र जेसिकाको अत्याचारबाट दिक्क र त्रसित भइसकेको थियो । ज्ञानमाया र घुरेन्द्रले कुलेन्द्रलाई प्रेमपूर्वक खुवाइपियाई गरेर खर्चपर्चको अवस्था समेत सोधे । घुरनलाई भेट्नासाथ कुलेन्द्रले रामेशको सन्दर्भ सुरु ग¥यो । परिस्थितिले रामेशको लासलाई अलपत्र पार्नुपरेको भए पनि उसको पैसा कुनै हालतमा पनि उसको परिवारलाई पठाइदिने उपायबारे दुवैका बीच सल्लाह र सहमति भयो । केही दिनमा कुलेन्द्रले भर्जिनियाको सूचना आयोगको बगैँचामा काम पायो । साथमा उसले पत्रिका बेच्ने काम पनि सुरु ग¥यो ।

कुलेन्द्रले पत्रिका बेचिरहेका बेला एक नेपालसित उसको भेट भयो । ती नेपालीले कुलेन्द्रलाई विभिन्न कुरा सोधपुछ गरे । कुराकानीको केन्द्रविन्दु रामेश थियो । कुलेन्द्रसितको भेटमा रामेशका बारेमा ती नेपाली वयस्कले सोधे । यसरी रामेशका बारे सोध्ने व्यक्ति उपन्यासको पूरै कथा यसरी भनिरहने गणेशदत्त थिए । उनले अनुमान नै गरेको कुरा कुलेन्द्रबाट सुनेपछि उनको अमेरिका आउनुको एउटा काम त पूरा भयो तर जे समाचार लिएर नेपाल फर्कूँला भनेर अनुमान गरेका थिए, त्यो नितान्त फरक र वियोगान्त समाचार बन्न पुग्यो ।

गणेशदत्त नेपाल गए । गोरखा पुगे । निकै असजिलोसित गाउँलेलाई त्यो कुरा बताए । अब सबैको सल्लाहले जति अप्रिय समाचार भए पनि रामेशका परिवारलाई सुनाउन विलम्ब गर्न नहुने निस्कर्षसहित गाउँलेका साथ गणेशदत्त नरेशप्रसाद पौडेलका घर पुगे । बाबुआमा, दाजु र बहिनीलाई छोडेर अमेरिका जाने हठ गर्दै खेत बेचाएर निस्किएको रामेशको जीवन यस्तो वियोगपूर्ण रूपमा अल्पायुमै सकिएला भनेर त्यो परिवारले कल्पनासम्म गरेको थिएन, त्यो भयो । उपन्यासकार रह शर्माले यसरी उपन्यासको समापन गरेका छन् ।

उपन्यासमा समेटिएका रामेश, कुलेन्द्र र घुरनले विदेशी भूमिमा भेटेका दलालहरू नेपाली हुन् वा विदेशी हुन् भनेर उपन्यासमा प्रस्ट्याइएको छैन । औपन्यासिक घटनाक्रम सहज रूपमा बगेको धेरै ठाउँमा पाइँदैन । पात्रहरूलाई सम्वोधन गर्ने व्रmममा कतै उहाँ र उही पात्रलाई कतै उनी भनेर आदरार्थीमा भेद गरेको देखिएको छ । उपन्यासमा रामेशको अवस्था उपन्यासकारले देखाएकोबाट रामेशलाई कुनै ठाउँमा यिनले मारिदिन्छन् भनेर सहजै पाठकले अनुमान लगाउने सन्दर्भ कथानकमा धेरै छन् । बाटामा यात्रा गर्दा पात्रहरूले पाएको दुख र दिसापिसाब त्याग गर्न परेको सास्तीलाई हेर्दा उनीहरू मानिस नै हैनन् कि जस्तो गरी चित्रण गरिएको छ । उपन्यासको पछिल्लो भागमा असान्दर्भिक रूपमा नेपालको राजनीतिलाई राखिएको छ । यो कि सुरुमै राखिनुपथ्र्यो अथवा नभएको भए ठीक थियो । उपन्यासको सुरुमा यी युवाहरू नेपालको राजनीतिक परिस्थितिले विदेश पसेको देखिँदैन । कलेज पढ्न एकैठाउँमा भेटिएका युवाहरूमा अमेरिका पस्ने मोहबाहेक अरू कारण उपन्यासको पृष्टभूमिमा देखिँदैन ।

समग्रमा अवैधानिक बाटोबाट विभिन्न देश हुँदै अमेरिका पस्ने युवाहरूको अवस्था कस्तो हुन्छ र अमेरिका पसिसकेपछि पनि कानुनी हैसियत कायम गर्ने व्रmममा कस्ता हण्डर बेहोर्नुपर्छ भन्ने सन्दर्भमा ईप्सान्त उपन्यासले रामै्र चित्रण गरेको छ । यात्रा सबैको उस्तै खाले हुँदैन । कथा लेख्ने व्रmममा मैले केही नेपाली युवाहरूसित कुरा गर्ने अवसर पाएको थिएँ । कतिलाई सीमामा अमेरिकी सीमा सुरक्षा सेनाले समातेर जेलचलान गरिदिन्छ र  जेलबाटै वकिल राखेर धरौटी बुझाएपछि मात्र छुट्न पाइन्छ । यसै आधारबाट नेपालबाट राजनीतिक कारणले अमेरिकामा शरण पाऊँ भनी उनीहरू आवेदन गर्न पाउँछन् । यसरी उनीहरूको ग्रीनकार्ड हुने गरेको छ । यस उपन्यासका दुवै पात्रहरू त्यो बाटोमा हिँडेका छैनन् । पहिलो त उनीहरू सीमा सुरक्षा सेनाबाट जोगिएर अमेरिका पसेका छन् । अर्को दुवैले शरणार्थी हैसियतमा ग्रीनकार्ड आवेदन गर्न खोजेका छैनन् । यसमा उपन्यासकारले चयन गरेका पात्रहरूको घटनाले पनि औपन्यासिक विषयलाई यस रूपमा अगाडि बढाएको हुन सक्छ ।

नेपालमा बसेर चोर बाटोबाट अर्थात् तल्लोबाटो बाट अमेरिका आउन लालयित युवाहरूका लागि यस उपन्यासले पक्कै सजग हुने र विचार बदल्ने सन्देश दिन्छ । कलेज पुगेका युवाहरूले धैर्य नगुमाई अरू तीन वर्ष नेपालमै पढेर उपन्यासका पात्रहरूले जोहो गरेको भन्दा कम रकम जम्मा गरी विश्वको जुनसुकै सम्पन्न मुलुकमा जान्छु भने पनि थप शिक्षाका लागि उनीहरू आकाशमार्गबाटै वैधानिक रूपमा विदेश सयर गर्न पाउँछन् भन्ने सन्देश यस उपन्यासमा कतै कुनै पात्र खडा गरेर दिन सकिएको भए यो उपन्यास अझै गतिलो हुने थियो ।

ईप्सान्त उपन्यास २९६ पृष्ठको छ । साढे चार इन्च चौडाइ र सात इन्च लम्बाइमा रहेको यो उपन्यास प्रचलित डिमाइज आकारभन्दा सानो छ । यो नेपाली युवाहरूले एकपटक पढ्नैपर्ने उपन्यास हो । वितरण, प्रचारका लागि समीक्षा र बजार व्यवस्थाले यसको लोकप्रियतामा पक्कै फरक पार्नेछ भन्नेमा कसैको दुईमत नहोला ।

प्रतिक्रिया