दाइजोको निहुंमा आत्महत्या गर्न बाध्य ती चेलीहरु

बाबा राजेश्वरी थापा ढकाल भियना, अस्ट्रिया २०७६ भदौ २ गते ०:५५ मा प्रकाशित

सारा देश तातिरहेको छ निर्दोष र विवश दुई पाटोको मुद्दामा। जीत र हारको जुवारी खेल्न दुवै पक्ष डटेर लागेका छन। यो विषयले मलाई एउटा कसैले खोल्न नचाहने, धेरैले बोल्न नचाहने र राज्यले समेत सजगताका साथ चासो नदेखाएको पाटो जोड्न मनलाग्यो। मसिना स्वरमा बोलिने तराईका चेलीहरुको आत्महत्याका कथाहरु। तराईवासी ती चेलीहरु सुन्दर सपना सांचेर ससुराल जान्छन अनि दहेजको निहुमा या जलाइन्छन वा आफै आत्महत्या गर्न बाध्य तुलाइन्छन। एउटा मुटु खाने विषय हो यो।

विश्व स्वास्थ संघको सन् २०१५ को तथ्यांक अनुसार आत्महत्या मृत्यदरमा नेपालको स्थान १२६ मा छ। वर्षेनी क़रीब ६८४० जनाले आत्महत्याका कारण ज्यान गुमाउछन र जसमा १५- ४९ वर्षका महिलाहरुको मृत्युको प्रमुख कारण मध्ये आत्महत्या रहेको छ।

तराईमा दहेज आत्महत्याको प्रमुख कारण हो, तर यसलाई निरुत्साहन गर्नुको साटो पहाडमा समेत यसैको देखासिकी बढ्दै गएको छ। सी के राउतको पक्षधर म होइन तर उनले बनाएको डकुमेन्ट्री ब्ल्याक बुद्ध हेरेकोछु मैले। ब्ल्याक बुद्धमा धेरै हदसम्म सत्य बोलिएकोछ। तराई वास्तवमा हिजो पनि उपेक्षित थियो र आज पनि खासै परिवर्तन भएकोछैन।

द्वापरयुगमा बिष्णुका सातौं अवतार मानवरुपी राजा रामले समेत जनकपुरकी चेली सितामाथि अन्याय गरी सिताले आत्मदाह(आत्महत्या) गर्दा समेत उनको पक्षमा कहीकतैबाट न्यायको आवाज सुनिएन्। आज पनि वर्षेनी तराईका चेलीहरुको ज्यान गएका घटनाहरु पत्रपत्रिकाहरुमा छिटफुटरुपमा पढ्न पाइन्छ तर त्यसले आज सम्म पनि बहस उठाएको खासै अनुभव छैन। ज्यान आत्महत्याबाट गएको होस या हत्याबाट अनुसन्धान त हुनुपर्छ।

मेरो व्यक्तिगत अनुभवमा, तराईका मुद्दाहरुलाई गहिरो बहसको विषय बनाउने आंट कसैमा नहुनुको एउटा प्रमुख कारण त्यहा उर्लिने मानव सागर। जसरी आज रवि लामिछानेको सर्मथनमा मानवसागर उर्लेकोछ, तराईमा पनि प्रशासनले केही गर्न खोज्दा, यस्तै घटना घट्ने र अपराधीले सजाय पाउने भन्दा आपराधिक घटना घटाएर जनतालाई त्रसित बनाउने काम बढी हुन्छ। त्यसैले कहिले सुनितादेवी, कहिले रेखाकुमारी त कहिले नुतनदेवीका हत्या अनि आत्महत्याको विना अन्त्यको कथा लेखिन्छ।

बोल्नेको पीठो बिक्ने नबोल्ने चामल पनि नबिक्ने समाजमा तराईका चेलीहरुको लागी आवाज कसले उठाउछ? रवि लामिछानेलाई दोष दिएर आत्महत्या गरेका पहाडी बाहुनको मुद्दामा अनुसन्धान गर्न रोक लगाउने समाजले, आफ्ना छोरीहरुलाई दाइजो दिएर ज्वाईको मुख थुन्न नसक्ने विवश पिताहरुको साथ किन पो दिन्छ?

आत्महत्या चाहे पहाडको बाहुनले गरोस् या तराईकी थरुनीले आवाज एउटै हुनुपर्छ। आत्महत्या विवशताको चरम पीडाको निष्कर्ष हो। बाध्यताले गरेका आत्महत्या वा विवशताले गरिएका आत्महत्या दुवैको खोजीनिती गर्नुपर्छ।

बाबा राजेश्वरी थापा ढकाल
भियना, अस्ट्रिया

प्रतिक्रिया