बाढीपहिरोसम्बन्धी स्थायी समाधान खोज्नुपर्ने सांसदको माग

इनेप्लिज २०७६ भदौ १ गते ८:३८ मा प्रकाशित

काठमाडौं, भदौ १ गते । प्रतिनिधिसभाका संसादहरुले बाढीपहिरोको समस्यालाई टालटुल मात्रै गर्नेभन्दा पनि स्थायी समाधान खोज्नुपर्ने माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले हरेक वर्ष आउने बाढी र पहिराका कारण गरीब जनताको जनधनको ठूलो क्षति भएको भन्दै दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गर्नुभएको हो ।

सांसद उमा रेग्मीले सुगौली सन्धिलगायतका सन्धिको सक्कलप्रति नेपालमा नभएको सुन्नमा आएको छ भन्दै त्यसको वास्तविकताबारे सरकारको जवाफ माग गर्नुभयो । “नेपालीको हातमा जग्गा छ तर लालपूर्जा भारतमा छ, यस्तो किन हुन्छ ?, भारतसँगको सिमानामा समस्या छ, त्यसको सरकारले दीर्घकालीन समाधान किन खोज्न सकिरहेको छैन ?”, उहाँले प्रश्न गर्नुभयो ।

सांसद देवप्रसाद गुरुङले सैन्य आदातलसम्बन्धी ऐनमा भएको व्यवस्थालाई संशोधन गर्नुपर्ने माग गर्नुभयो । सांसद डा मीनेन्द्रप्रसाद रिजालले आर्थिक वृद्धिका बारेमा हल्का टिप्पणी नगर्न सरकारसँग आग्रह गर्नुभयो । सांसद अनिलकुमार झाले बाढीका कारण तराईका जनताको जनधनको क्षतिबारे पटकपटक ध्यानाकर्षण गराउँदासमेत सरकारले बेवास्ता गरेको भन्दै गुनासो गर्नुभयो ।

“असारको अन्तिम साता बाढीका कारण मधेशमा ठूलो जनधनको क्षति भयो तर बाढी पहिरोका बारेमा पटकपटक कुरा राख्दासमेत दीर्घकालीन समाधान खोजिएको छैन, सरकारले वितरण गरेको राहत पनि एकपक्षीय भएको छ, फितलो भएको छ, यसबारेमा सरकारको ध्यानाकर्षण होस्”, उहाँले भन्नुभयो । सांसद उमाशङ्कर अरगरियाले कूल जनसङ्ख्याको १२ प्रतिशत मैथिली भाषा रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हटाइएको भन्दै आपत्ति जनाउनुभयो ।

सांसदद्वय प्रेम सुवाल र गोपालबहादुर बमले विभिन्न स्थानमा भारतले लगाएको तटबन्ध हटाउनका लागि पहल गर्न सरकारसँग आग्रह गर्नुभयो । सांसद प्रदीप यादवले प्रक्रिया पूरा गरेका नेपाली नागरिकलाई राज्यले नागरिक प्रदान गर्नुपर्छ भन्नुभयो । सांसद मोतीलाल दुगडले मुलुक निर्माणमा योगदान पु¥याउँदै आएको मारवाडी समुदायलाई राज्यले बेवास्ता गरेको भन्दै गुनासो गर्नुभयो । सांसद प्रकाश रसाइली स्नेहीले देशमा विभिन्न स्थानमा अवैधानिकरूपमा भएको बालुवा उत्खनन रोक्नुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया