‘लिभिङ टुगेदर’मा बसिरहेका प्रहरी जवान मृत भेटिए

इनेप्लिज २०७६ भदौ १ गते ८:१९ मा प्रकाशित

काठमाडौँ, १ भदौ । महानगरीय प्रहरी वृत्त, स्वयम्भूमा कार्यरत प्रहरी जवान शंकर ठगुन्ना मृत अवस्थामा भेटिएका छन् । ठगुन्ना नागार्जुन नगरपालिका–३,  ठूलो भर्‍याङमा ३० वर्षीया महिलासँग लिभिङ टुगेदरमा बस्दै आएका थिए ।

प्रहरीले ती महिलालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । ठगुन्ना गएराति मृत भेटिएका थिए । प्रहरीका अनुसार, उनीहरु डेढ वर्षदेखि सँगै बसेका थिए । जवान ठगुन्ना २० वर्षका हुन् भने महिला ३० वर्षीया विवाहित हुन् । उनका श्रीमानको मृत्यु भइसकेको छ ।

मध्यराति १ः२० बजे उनै महिलाले प्रहरीलाई ठगुन्ना झुण्डिएको अवस्थामा भेटिएको भन्दै खबर गरेकी थिइन् । अनुसन्धान अधिकृत घटनास्थलमा पुग्दा, ठगुन्नाको शव भुइँमा लडिरहेको अवस्थामा भेटिएको स्वयम्भूका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले जानकारी दिए ।

महिला र प्रहरी जवानबीच सामान्य विवाद भएको बुझिएको छ । त्यसक्रममा ठगुन्नाले झुण्डिने काेशिस गरेका थिए । आफूले त्यसो नगर्न भन्दा मुक्का हानेर लडाएको ती महिलाले प्रहरीसमक्ष बयान दिएका छन् ।

प्रतिक्रिया