बेगनासताल सफाई अभियानको ७० औं हप्तामा, सेन्चुरी वैंक द्वारा २० थान डस्विन र १ सय थान ग्लोभ्स सहयोग

इनेप्लिज २०७६ साउन ३२ गते १९:२१ मा प्रकाशित

सचिन रानाभाट

लेखनाथ, साउन ३२

बेगनास युवा क्लवको बृहत बेगनासताल सरसफाई अभियान अन्तर्गत शनिबार ७० औं श्रृंखला सम्पन्न भएको छ ।

अभियानको ७० औं हप्तालाई सेन्चुरी कमर्सियल वैंकले २० थान डस्विन र १ सय थान हाते ग्लोभ्स सहयोग गरेको छ। ७० औं हप्ताको अभियानको अवसरमा वैंकका रिजनल म्यानेज शेखर वस्ताकोटी तथा डेपुटी रिजनल म्यानेजर रमेश बन्जाराले संयुक्त रुपमा क्लवका अध्यक्ष राम वहादुर रानाभाटलाई हस्तान्तरण गरेका हुन्।

निरन्तर चलिरहेको यस अभियानलाई सहयोग गरेर जोडिन पाउनु सुखद कुरा रहेको रिजनल म्यानेजर वस्ताकोटीले वताएका छन्। नेपालकै सबैभन्दा कान्छो कमर्सियल वैंक सेन्चुरीले वेगनासताल संरक्षणको यस महान कार्यमा जोडिन पाउँदा निकै गौरवपुर्ण अनुभुती भएको डेपुटी रिजनल म्यानेजर वन्जाराले वताए।

शनिवारको शृंखलामा राईजिङ स्टार युथ क्लव, डाडाकोनाक युवा क्लव, बेगनासताल महिला समूह, होटल तथा रेष्टुरेण्ट एशोसियशन अफ लेखनाथ, बेगनासताल बजार व्यवस्थापन समिति, रानाभाट सेवा समाज बेगनासताल, वेगनासताल टोल विकाश संस्था, मिलनसार तमु समाज, नमूना टोल विकास संस्था सहितका टोलीको सहभागिता रहेको थियो ।

सहभागीहरुले मन्धरेपार्क, ड्यामसाईड, नहरचोक तथा वजार सफा गरेको क्लवका अध्यक्ष रानाभाटले जानकारी दिए । क्लवले निरन्तर जारी राखेको बेगनासताल बृहत सरसफाई अभियान ७० औं श्रृंखलासम्म आइपुग्दा विस्तारै जनचेतना अभिबृद्धि हुँदै गएको उनले बताए ।

स्थानीयले पूर्णरुपमा साथ दिएको बताउँदै, क्लवका अध्यक्ष रानाभाटले बेगनासताल क्षेत्र घुम्न आउँनेहरुले डष्टविनमा फोहर व्यवस्थापन नगरिदिदा थोरै समस्या भएको उल्लेख गर्दै, जनचेतनाका थप अभियानहरु गर्दै लगिने समेत बताए ।

प्रतिक्रिया