रवि लामिछानेलाई पाँच दिन हिरातमा राख्न अदालतको अनुमति

इनेप्लिज २०७६ साउन ३२ गते ७:५१ मा प्रकाशित

काठमाडौँ, ३१ साउन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई पाँच दिन हिरातमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले अनुमति दिएको छ ।

रविसँगै टिभी पत्रकार युवराज कँडेल र नर्स रुकु भन्ने अस्मिता कार्कीलाई पनि पाँच दिन हिरातसमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको चितवनका  प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।

अदालतको अनुमतिसँगै चितवन प्रहरीले उनीहरुमाथि आत्महत्या गर्न बाध्य पार्ने ‘दुरुत्साहन’ मुद्दामा विस्तृत अनुसन्धान सुरु गरेको छ ।

मुलुकी अपराधसंहिता २०७४ को दफा १८५ मा आत्महत्या गर्न बाध्य पार्नेलाई अदालतको अनुमतिमा २५ दिन प्रहरीको हिरातसमा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ ।

आत्महत्या गर्न बाध्य पार्नुलाई दुरुत्साहन भनिन्छ । आत्महत्या गर्ने व्यक्तिले छाडेको सुसाइड नोट या भिडियो बयानलाई दुरुत्साहनको प्रमाण मानिन्छ । दुरुत्सहान गरेको प्रमाणित भएमा पाँच वर्षसम्म कैद सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।

पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियोमा लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न लागेको उल्लेख गरेका छन् । भिडियो बुधबार सार्वजनिक भएको थियो ।

प्रहरीले बिहीबार लामिछाने, कँडेल र कार्कीलाई विहीबार काठमाडाैँबाट पक्राउ गरि चितवन लगेको थियो ।

प्रतिक्रिया