बिहीबार, माघ ९ २०७६
काठमाडौं १०:०२
वासिङटन डिसी 23:17

पाँच नम्बर प्रदेशकाे क्रिकेट संघको अधिवेशन भैरहवामा हुने

इनेप्लिज २०७६ साउन ३१ गते १०:४० मा प्रकाशित

-प्रतिक पौडेल

भैरहवा, ३१ साउन । प्रदेश नं ५ क्रिकेट संघको अधिवेशन भैरहवामा हुने भएको छ । प्रदेश नं ५ क्रिकेट संघको प्रथम अधिवेशन भैरहवामा भदौ ७ गते हुने भएको हो ।

भैरहवामा हुने अधिवेशनमा ८ जिल्लाका क्रिकेट संघको उपस्थिति रहने छ । रुपन्देही, पाल्पा, कपिलवस्तु, नवलपरासी, बाके, दाङ, बर्दिया र सुर्खेत जिल्लाका प्रतिनिधिको सहभागिता हुने जानकारी जिल्ला क्रिकेट संघ रुपन्देही अध्यक्ष प्रशान्त विक्रम मल्लले दिए । मल्लका अनुसार कर्णाली प्रदेशमा सुर्खेत बाहेक कुनै जिल्ला क्रिकेट संघ नरहेकोले प्रदेश ५ मा समावेश गराइएको बताए ।

नेपाल क्रिकेटको लामो समयको अन्योलता अन्त्य गर्ने उद्देश्ययले २०७५ वैशाख ६ गते भएको विशेष साधारण सभाले नेपाल क्रिकेट संघ (क्यान)को संशोधित विधान पारित गरेपछि जिल्ला र प्रदेश हुदै केन्द्रिय समितिको निर्वाचन हुने भएको थियो ।

उक्त निर्णय अनुसार देशभरका ३९ जिल्ला क्रिकेट संघको अधिवेशन भैसकेको छ भने सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ को पनि भएको छ ।

सबै प्रदेशमा अधिवेशन सकाएर असोज २ र ३ गते केन्द्रिय समितिको अधिवेशन हुनेछ र विधिवत रुपमा नेपाल क्रिकेट संघ (क्यान) नयाँ कार्यसमिति गठन हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान) नयाँ कार्यसमिति गठन भएपछि लामो समयदेखि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले नेपाल क्रिकेट माथि लगाएको निलम्बन हट्ने विश्वास क्यानको रहेको छ ।

प्रतिक्रिया