जनै पुर्णिमा- जानेर कि नजानेर

बाबा राजेश्वरी थापा ढकाल २०७६ साउन ३० गते १०:२९ मा प्रकाशित

येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः।

तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमा चल।।

यसको अर्थ हो,” वामन अवताररुपी बिष्णु भगवानले दानवराजा बलिराजाको रक्षार्थको लागी जुन बन्धन बाधिदिएका थिए,त्यही बन्धन बाधिदिएको छु जसले तपाईको रक्षा गरोस”।

आज जनै पुर्णिमा गुरुपुरोहितहरुले यही मन्त्र फुक्दै हिन्दु धर्मालम्बी ब्रतबन्ध गरेका पुरुषहरुको काधमा जनै र हातमा डोरो महिला र बालबालिकहरुलाई समेत बाधिसक्नुभयो होला। कतिले महत्व बुझेर, कतिले नबुझेर, कतिले रहरले अनि कतिले कर बाधेहोलान्।

म स्वंमले पनि न त धार्मिक महत्व बुझ्न खोजे न त बुझाइयो। हरेक चाडबाडमा मम्मीको हातबाट टिका लगाएपछि दक्षिणा पाइन्थ्यो, त्यही दक्षिणाको लोभले चाडबाड मनाउन प्रेरित गर्थ्यो। यो कथा मेरो मात्रै पक्कै होइन होला।

जन्भमुमीमा जबजब हिन्दु धर्मको बहस हुन्छ, मेरो मनमा पनि हावा चल्न शुरु हुन्छ। नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ, आदिइत्यादि तर के यो सब फलाक्दै हिड्नेहरुले आफ्ना जीवनकालमा शास्त्रको अनुहार देखेका छन, संस्कृतमा लेखेको शास्त्र पढेर त्यसका अर्थ आफ्ना दरसन्तानलाई बुझाउन सक्छन? यदि सक्दैनन् भने समाज भाड्ने नौटंकी किन?

जनैको अर्थ जानकार हुनु पनि हो। मानिस जन्मदा पशु सरह निर्दोष र अज्ञानी हुन्छ। यसै अनुसार विभिन्न कर्मकाण्ड गरी संस्कारहरुको विकास गरिन्छ ।

परापुर्वकालमा बालकलाई गुरुकुलमा पठाउने परम्परा अनुसार ब्रतवन्ध गरी गुरु कहाँ पठाउने र गुरुले शिष्यको प्रज्ञाचक्षु खोलीदिने भएकोले ब्रतबन्धलाई उपनयन अर्थात दोस्रो आंखा पनि भनिन्छ।ब्रतबन्ध पछि जनै लगाउनु पर्ने प्रचलन पौराणिक कालबाट शुरु भएको हो र डोरो पनि त्यसैले प्रतीक हो।

जनै अर्थात ब्रह्रमसुत्र ब्रह्राले निर्माण गरी बिष्णुले तीन गुण ज्ञान, कर्मकाण्ड र उपासना युक्त बनाएपछि शिवले ती ग्रन्थी/गाठा पारेर गायत्रीमाताले मन्त्र गरेको मान्यता अनुसार जनैमा ब्रह्मा, बिष्णु,महेश्वर तीनै देवको बास हुने रक्षाकबचको प्रतीक मानिन्छ।

जनै हिन्दुहरुले बायां काधबाट छड्के पारी दाया हातको खोकिला सम्म पुग्ने गरी पहिरिने जमीनमा उत्पादित कपासलाई कातेर बनेको सुतीको धागोबाट निर्मित यज्ञोपवीत धार्मिक डोरी हो । यो डोरीले रोमकुप, मुटु, फोक्सो र नाभीको बाहिरी भागलाई स्पर्श गर्छ । जनैले जनै धारण गर्ने व्यक्ति दैनिक कार्यलाई पनि प्रस्टाउछ, जनै लगाउने व्यक्तिको धर्म हिन्दु हुन्छ भने पौराणिक कालमा जनैको गांठोले उसको गोत्र समेत पहिचान गरिने मान्यता छ भने, बिहान निर्त्यकर्म नगरुन्जेल जनै कानमा राखिन्छ। त्यसपछि गायत्री मन्त्र जप गरेर दैनिक कार्य शुरु गरिन्छ ।

जनै पुर्णिमाको दिन गुरुपुरोहितले मन्त्र जपेर जनै फेरिएपनि जुठो, सुतक बारेपछि जनै फेर्ने अनिवार्यता हिन्दु धर्ममा छ।

तर अहिले आएर डोरो बाध्ने चलन देखासिकीको आधार राखीमा रुपान्तर हुदैछ। हेर्दा आर्कषक राखी हाम्रो मौलिकता त पक्कै होइन तर यसमा समाजलाई आर्कषण गरेर आफ्नो व्यापार बढाउने छिमेकी मुलुकको रणनीतिले आफ्नै देशको उत्पादनशीलता, मौलिकता र संस्कृति लोप हुने स्थितीमा पुर्याउन नजानिदो तबरले म र हामी आफै जिम्मेवार छौ।

जनै पुर्णेको शुभकामना!

बाबा राजेश्वरी थापा ढकाल

भियना, अस्ट्रीया

प्रतिक्रिया