नेपाली अमेरिकन कम्युनिटी सेन्टर-(नाक) ले गल्ति सुधारोस !

सुनिल मणि दाहाल २०७६ साउन २७ गते २२:५५ मा प्रकाशित

 

सुनिल मणि दाहाल ,भर्जिनिया क्षेत्रका केहि व्यक्तित्वहरुले सामुदायिक केन्द्रको स्थापना तथा भवन निर्माणका लागि एउटा सहयोगी र प्रचारमुखी समुह बनाए। भर्जिनियामा नेपालीहरुको आफ्नै कम्युनिटी सेन्टर (सामुदायिक केन्द्र )हुनु पर्दछ भन्नेमा कसैको पनि दुई मत थिएन। यसै समुह मार्फत सामुदायिक केन्द्रको यस परिकल्पनालाई सबैले रुचाए र साथ दिने बचन दिए ।

आयोजक अभियन्ताहरुले सामुदायिक केन्द्रको परिकल्पनालाई साकार पार्न कोष जम्मा गर्ने उद्धेश्यले गत जुन महिनामा लोटस मन्दिरमा महापुराणको सप्ताहा आयोजना गरी सम्पन्न गर्यो। आयोजकहरुले अपेक्षा गरे भन्दा समुदायको ब्यापक उपस्थिति तथा घरै पिच्छेको सकृयताले सप्ताह कार्यक्रम सफल भयो। करिव एघार लाख डलर नगद उठ्यो भने त्यति नै दान सहयोग गर्ने बाचा प्राप्त भयो।

यस प्रकार सप्ताहबाट करिव एक्काईस लाख डलर उठेको बताईएको छ। कार्यक्रमका आयोजक अभियन्ताहरुको प्रयासले मात्र सप्ताहको कार्यक्रम सफल भएको भन्नु भन्दा पनि यसको सफलतामा समाजका सबै बासिन्दाहरु लगायत डिसी क्षेत्रका सबै सामाजिक सस्थाहरुको सामुहिक प्रयास नै प्रमुख कडी रहेको तथ्यलाई भुल्नु हुदैन ।

सस्थामा पैसा जम्मा हुन् थाले सगै यस भित्र बिस्तारै केहि चलखेलहरु शुरु हुन् लागेको संकेत प्राप्त नभएका होईनन। यी नै कोठे चलखेलहरुका कारण सस्थाका दाता तथा एक सकृय अभियन्ता डा मदन उप्रेतीले आफ्नो पूर्व चाहाना विपरीत सस्थामा अब कुनै पनि जिम्मेवारी नलिने भनी लेखेको संदेश र त्यस पछि उहा लगायत अन्य ‘आफ्ना’ लाई टिका लगाउन खेलिएको कोठे खेल बास्तबमा सस्थागत हितका लागि भएको मान्न सकिदैन । नेपालीहरुका अन्य सस्थाहरुमा मौलाएको गलत प्रबृति झैँ यस भित्र पनि नेपालको राजनीतिले आश्रय त पाउने होईन ? आयोजक अभियन्ताहरुले समाज भित्रका राम्रा र विज्ञ व्यक्तित्वहरु भन्दा आफ्नाहरुलाई सस्थामा हालीमुहाली गराएर सस्था नै बिटुलो पार्ने त होईनन जस्ता आसंकाहरुले समुदाय भित्र एउटा संकोचको वाताबरण जिवन्त नै थियो।

यि आशंका र चिन्ताका बीच समुदायलाई आश्वस्त पार्न सामुदायिक भवन निर्माण अभियानमा सकृय अभियन्ताहरुले कस्तो प्रयास गरे भनेर बुझ्न आवस्यक हुन्छ।

सप्ताह पूर्व:-
—————-

१:- सबैलाई समेटेर नयाँ सँस्था बनाउदै नेपाली सामुदायिक भवन निर्माणार्थ अर्थ/कोष संकलन गर्न सप्ताह पुराण लगाउने भनियो।

२:- भनाई अत्यन्तै राम्रो तर शुरूवात संगसंगै शीतराजनैतिक मनोविज्ञानलाई बढावा दिईयो ।

३:- सप्ताहको शुरूवात सम्म आईपुग्दा समाजका प्रभावशाली योग्य धेरै ब्यक्तिहरूलाई सुनियोजित तवरले पाखा लगाईयो। परिणामत: नेपाली दुताबासको छेवैमा कार्यक्रम स्थल हुदाहुदै पनि राजदूत छुट्न पुगेको चर्चा अझै गरिन्छ। राजदूत एक प्रतिनिथी पात्र मात्र हुन् , समाजमा योगदान दिन सक्ने धेरै व्यक्तित्वहरु लाई घेराबन्दी नै गरियो भन्ने चर्चाले सप्ताह मा स्थान पायो।

सप्ताहमा:-
————

१:- समाजका सबै पक्ष अट्न सकेनन् ।

२:- नेपाली समाजको वास्तविक समावेशी रूपको झल्को कतै देखिएन ।

३:- सप्ताह आध्यात्मिक सांस्कृतिक जागरण भन्दा कोष सङ्कलन मै केन्द्रित भयो।

४:- पवित्र यज्ञमा श्रद्धालुहरूको भावनालाई नजानिदो तवरले पैसा संग तुलना गरियो।

५:- “ईच्छाको दान ” भन्ने हाम्रो मान्यताका बिपरित करकाप र प्रतिस्पर्धात्मक बनाईयो।

६ :-नियोजित होडबाजी र सामाजिक संजालको अनियन्त्रित प्रयोग र प्रायोजनले “ईच्छाको दान ” नभएर “नामका लागि दान” हुन् पुग्यो।

सप्ताह पश्चात साधारण सभाको दृष्य :-

——————————————

१:- चन्दा संकलनको हिसाबले धेरै हदसम्म सफल देखिएकोले मूल हर्ताकर्ता समिति भित्रै नेतृत्व मोह जागृत हुदै गयो । शक्ति संघर्ष बिस्तारै बाहिर आएको प्रष्ट देखियो।

२:- गुट उपगुटका कोठे बैठक कल कन्फ्रेन्स आदिले प्रमुखता पाउन थाले ।

३:- अगस्त ११, २०१९ को NAAC को साधारण सभामा कुटील तवरले आन्तरिक शक्ति संघर्षलाई छोप्न सामुहिक नेतृत्वको जामा पहिराईयो ।

४:- चर्चित जादुगर पिसी सरकारलाई मात दिदै फुत्त फुत्त कोटको खल्तिबाट नाम निकाल्दै सभा हलमा प्रस्तुत गरियो।

५:’ एकै परिवार र नाता सम्बन्धका पुरा भलिबल टिम नै पुर्याएर प्रस्तुत गरिएका स्वअलंकारित नाममा सभागारको ठूलो आपति भयो।

६:- आपति पश्चात माफी माग्दै सुधारेर BOT, कार्यसमिति, सल्लाहकार समिति र अन्य समितिहरूमा मिलाएर नाम थप्ने शर्तमा मुश्किलले प्रस्ताबहरू पास गरियो।

अब के गर्ने?
—————

१:- साँच्चै सामुदायिक केन्द्र बनाउने हो भने “तेरो र मेरो” भन्ने भावना र नेपालको राजनैतिक कुप्रभावबाट माथि उठ्न आवश्यक छ।

२:- सस्था संचालन बिधि मा सुधार गरी प्रजातान्त्रिक परिपाटी बाट सबै तह र तप्का का समुदायका सदस्यहरुको भावना अनुरुप काम गर्नु पर्दछ।

३:- ‘फ़्लाट ब्यबस्थापकीय संरचना’ ले नेतृत्व , जिम्मेवारी, उत्तरदायित्व तथा जवाफदेहिता लाई ओझेलमा पार्ने हुदा ब्यबस्थापकीय संरचना अनुरुप कार्य हुन् नसकी एक आपसमा दोष र आरोप लगाउने र जिम्मेबारी बाट भाग्ने सम्भावना अधिक हुने तर्फ समुदाय चिन्तित देखिएका छन्। यस गतिरोधलाई नियन्त्रणमा लिन र ब्यक्तिबादी चरित्रलाई सस्था भित्र हाबी हुन नदिन मासिकरुपमा टाउन हल बैठक बोलाई छलफल गर्दा उचित हुन्छ ।

४ :- समेट्न छुटेका समाजका राम्रा र प्रभावशाली ब्यक्तिहरूलाई समेटेर समितिहरूलाई पूर्णता दिन आवश्यक देखिन्छ । यसका लागि समुदायमा कार्यरत सस्थाहरुबाट प्रतिनिधित्व छनौटका लागि सहयोग लिदा उचित हुने देखिन्छ।

५ :- समितिहरूलाई लैङ्गिक तथा सामाजिक सांस्कृतिक समावेशी बनाउन आवश्यक देखिन्छ ।

६ :- बिषयगत समितिहरूमा बिषयगत दक्ष ब्यक्तिहरू राख्न आवश्यक देखिन्छ ।

७ :- बर्तमानको तदर्थ अबस्थाबाट सँस्थालाई मुक्ति दिलाई सही नेतृत्व छान्न बढीमा एक बर्ष भित्र निर्वाचन समिति गठन गरी निर्वाचन मार्फत नेतृत्व चयन गरेर अगाडी बढ्न आवश्यक देखिन्छ ।

प्रतिक्रिया