आइतबार, भदौ ८ २०७६
काठमाडौं १९:०९
वासिङटन डिसी 09:24

अमेरिकी ग्रिन कार्डमा नयाँ नियम

सरकारी सुविधा लिएका वा लिन सक्ने देखिए अमेरिकाले भिसा, ग्रिन कार्ड नदिने

यादवराज जोशी २०७६ साउन २७ गते १४:२८ मा प्रकाशित

यादवराज जोशी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले सोमबार नयाँ भिसा नियम जारी गरेको छ । नयाँ नियम अनुसार, राम्रो आम्दानी नहुने वा गर्न नसक्ने व्यक्ति तथा परिवारले ग्रिन कार्ड प्राप्त गर्न सक्ने छैनन् । अमेरिकामा राम्रो आम्दानी नहुनेले सरकारी सुविधा जस्तै फुट स्टाम्प, आवास सुविधा र सरकारी सुविधा सहितको इन्सोरेन्स लिने गरेका छन् ।

आगामी अक्टोबरबाट लागु हुने यो नियमले कम आम्दानी हुने लाखौं आप्रवासी प्रभावित हुने छन् । फेडरल रजिस्टारले प्रकाशित गरेको सुचनामा भनिएको छ, “ग्रिन कार्ड आवेदन दिने व्यक्ति आफ्नो खुट्टामा आफै उभिएको हुनु पर्नेछ । उ परिवारका सदस्य, स्पोन्सर र निजी दातामा आश्रित हुनु हुदैन ।”

अमेरिकी सञ्चारमाध्यमले ट्रम्पको यो नीतिलाई ईमिग्रेसन क्षेत्रको सबैभन्दा ठूलो परिवर्तन बताएका छन् । यो नियम ग्रिन कार्ड आवेदक मात्र नभएर अन्य भिसामा पनि लागु हुनेछ । यो नियमको आधारमा अमेरिकी सरकारलाई भार पर्ने देखिएको खण्डमा भिजिट भिसा लगायत सबै भिसा आवेदन अस्वीकार गर्न सकिने छ ।”यो नियमले आधाभन्दा बढी ग्रिन कार्ड आवेदन अस्वीकार गर्ने खतरा छ,” ईमिग्रेसन अनुसन्धान संस्था माईग्रेसन पोलिसी ईन्सिच्युटले जनाएको छ ।

ट्रम्प सरकारले सन् १९८२ को ईमिग्रेसन ऐनको आधारमा यो नयाँ नियम ल्याएको हो । उक्त ऐनमा सरकारी सुविधा लिन सक्नेलाई ईमिग्रेसन अधिकृतले भिसा नदिन सक्ने प्रावधान थियो । अहिले उक्त प्रावधानलाई ग्रिन कार्ड नदिन सक्ने पनि बनाईएको हो ।

यो नियमले अमेरिकी ग्रिन कार्डको प्रकृयामा रहेका तथा भविष्यमा ग्रिन कार्ड आवेदन गर्ने नेपाली पनि प्रभावित हुने छन् । गत मेमा प्रकासित एक प्रतिवेदन अनुसार, अमेरिकामा नेपालीको सरदर कमाई दुईहजार पाँचसय डलरको हाराहारीमा छ । कैयन नेपालीले मेडिकल, फुड स्टाम्प र अन्य सुविधा लिएका छन् ।

स्रोतः एजेन्सीहरु
तस्वीरः गुगल खोज

प्रतिक्रिया