गैह्र आवासिय नेपाली संघ र भ्रमण वर्ष २०२०

बाबा राजेश्वरी थापा ढकाल २०७६ साउन २६ गते १८:५४ मा प्रकाशित

बाबा राजेश्वरी थापा ढकाल । भ्रमण वर्ष २०२० नेपाल सरकारको, भुइचालो पछि भत्किएको आर्थिक र भौतिक संरचनालाई सन्तुलनमा ल्याउने एक गतिलो मापदण्ड हो। भुइचालोले आर्थिक र सामाजिकरुपमा जति ठुलो क्षति पुर्याएकोछ, त्यो भन्दा पनि ठुलो क्षति त नेपाली राजनीतिक वातावरण र त्यहा देखिएको विसंगतिले नेपालको छविलाई अन्तर्राष्ट्रीय क्षेत्रमा क्षति पुगेकोछ।

नेपालको छविलाई गोर्खा सैनिकको बहादुरीले जुन शान दिलाएको थियो, हालका नवलाहुरे र तिनका बढपनले त्यो त्यति नै खस्काएको छ। हिजोका लाहुरेहरु लाहुरमा कमाएको सम्पत्ति स्वदेशमा हुलेर स्वदेशमै उच्च जीवन बिताउथे भने आजका लाहुरेहरु स्वदेशको सम्पत्ति बेचेर विदेशमा त्यो पनि हुण्डी मार्फत हुल्छन अनि जन्मभुमीमा आपदविपद पर्दा विदेशीसंग दुईचार पैसा चन्दा उठाएर राष्टभक्तिको राष्ट्रिय गान बाचुंजेल गाउछन।

हुन त गैह्र आवासिय नेपालीको सम्बन्धमा नेपाल सरकार आफै प्रस्ट छैन, सरकारसंगै विदेशीने नेपालीहरुको तथ्याकको पारदर्शिता छ। गैह्र कानुनी तबरमा हुने मानव तस्करी र अबैधानिक तबरले विदेशीने क्रमलाई रोक्न सरकारले कडारुपमा कतै प्रस्तुत भएको छैन।

सार्क राष्ट्रमा बसिरहेका नेपालीलाई गैह्र आवासिय नेपालीको रुपमा गनिदैन तर अपुष्ट श्रोतका अनुसार करीब ८० लाख नेपालीहरु पढाई, रोजगारी र व्यापार व्यवसायको लागि विदेशमा स्थायीरुपमा बसोबास गरिरहेको तथ्य प्राप्त भएसंगै गैह्र आवासिय नेपाली संघको वेवसाइटमा उल्लेख भए अनुसार पछिल्लो समय ३२६८८ जनाले सदस्यता लिएका छन। तुलानात्मक हिसाबमा गैह्र आवासिय संघले विदेशमा बसोवास गरिरहेका एक चौथाई नेपाली मुललाई पनि समेट्न सकेको छैन र यसमा पनि दोस्रो पुस्ताका नेपाली मुलका सदस्य त औलाले गन्न सकिन्छ।

गैह्र नेपाली आवासिय संघ प्रति नेपाली मुलका समुदायको वितृष्णा पैदा हुनुको मुख्य कारणहरु गैह्र आवासिय नेपाली संघको कार्य शैली, चुनाव प्रक्रिया, राजनैतिक घुसपैठ, आर्थिक अपारदर्शिता, समुहवाद र कृपावाद हुन। सबैभन्दा मुख्य कारण केन्द्र र राष्ट्रिय स्तरको उचित समन्वय नहुनु र मपाईत्वमा बढी केन्द्रित हुनु हो। गैह्र आवासिय संघ सामाजिक संस्थाको रुपमा प्रचारित भएपनि यसमा भएको राजनैतिक चलखेलले र यसमा निर्वाचित पदाधिकारीहरु आफ्नो राजनैतिक प्रभुत्व जमाउनमै तल्लीन हुनुले संस्थाको इमानदारीता माथि नै प्रश्नचिन्ह खडा भएको छ। संस्थाका पदाधिकारीहरुमा दुईचारवटा कार्यक्रम गरेर आफ्नो कार्यकाल पुरा गर्ने अनि विरासत भागवण्डाको आधारमा छोड्ने परम्परा हावी हुनुले कतिपय देशमा स्थापित गैह्र नेपाली संघ आफैमा बदनाम छन।

गैह्र आवासिय नेपाली संघका निर्वाचित पदाधिकारीहरुको एउटै गुनासो रहने गरेको छ, “विदेशमा कमाउनु पर्ने, अनेकौ समस्यासंग जुध्दै समाज सेवामा मात्रै चारै पहर खटिन् सकिदैन”, तर कुनै सार्वजनिक पदमा मतदाताको मत र विश्वास जितेर आएकाहरुबाट यस्ता अभिव्यक्ति आउनु आफैमा लज्जास्पद मुल्यांकन हो।

अस्ट्रियाको हालै भएको निर्वाचन सम्बन्धी उम्मेरद्वारीमा सहभागी हुने सम्बन्धमा शैक्षिक तथा बौद्धिक स्तरमा समक्ष र सामाजिक कार्यमा सकृयरुपमा सहभागी एक हितैषी मित्रसंग छलफल हुनेक्रममा उहाँले भन्नुभयो, “ समाजसेवा गर्न पर्याप्त समय दिन सक्दिन, त्यसैले ज़िम्मेवार पदमा रहेर जिम्मेवारी इमानदारिताकासाथ निभाउन सबल भएपछि नै संस्थाको जिम्मेवारी बहन गर्छु।” शायद यस्तै इमान्दार व्यक्तिहरु संस्थाको जिम्मेवार पदमा विजयी भएमा संस्था आफ्नो लक्ष्यमा पुग्नसक्छ। होइनभने नामको लागी संस्थाको पद ओगट्ने वा नेपालका राजनीतिज्ञ र मन्त्री सांसदसंग नजिकिर सामाजिक संजालमा दुईचार वटा फोटो खिचेर राख्न वा काठमाण्डौमा हुने अन्तर्राष्ट्रिय गैह्र नेपाली संघको सम्मेलनमा एनआरएनको परिचयपत्र घांटीमा झुण्डाउने रहर पुरा गर्नु मात्रै हो।

भ्रमण वर्ष २०२० नेपालको लागी एउटा चुनौती हो र यसका लागी सरकारले गैह्र नेपाली संघको सहयोगको अपेक्षा गरेको छ। अझै सम्म चुनावी प्रक्रियामै अल्मलिरहेको गैह्र नेपाली आवासिय संघसंग धेरै समय पनि बांकी छैन। यसको लागी पुर्वाधार शुरु गर्न निकै ढिलो हुन लागीसकेकोछ।

जब पर्यो राति अनि बुढी ताती, बाघ लाग्यो घिच्याउन, बुढी लागी चिच्याउनको अवस्था नआओस्। नत भुइचालोमा विस्थापित बस्ती बसाउने कार्य जस्तै नबनोस भ्रमण वर्ष २०२०!

How wonderful it is that nobody need wait a single moment before starting to improve the world.
– Anne Frank

बाबा राजेश्वरी थापा ढकाल
भियना, अस्ट्रिया

प्रतिक्रिया