सुनका बालासहित विमानस्थलबाट एक जना पक्राउ

इनेप्लिज २०७६ साउन २४ गते ११:११ मा प्रकाशित

काठमाडौं, २४  साउन । प्रहरीले सुनका बालासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जनालाई पक्राउ गरेको छ ।

विमानस्थलको नयाँ पार्किङ एरियाबाट अवैध रुपमा भन्सार छलि संकलन गरी लैजान लागेको १ सय ५० ग्रामको ३ थान सुनको बाला सहित काठमाडौं महानगरपालिका चक्रपथ डेरा गरी बस्ने रामेछाप दोरम्बा गाउँपालिका-४ घर भएका भुपेन्द्र मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

बाहिरी मुलुकबाट काठमाडौं आएका यात्रुहरुबाट करिब ९ लाख रुपैयाँ मूल्य बराबरको उक्त परिमाणको सुन संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी मगरलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

मगरलाई बरामद सुन सहित आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

प्रतिक्रिया