बिहीबार, मंसिर २६ २०७६
काठमाडौं ०९:३४
वासिङटन डिसी 22:49

के इमान जमान, कर्तब्य, नैतिकता र सत्यता सकिदै गएको हो?

मोहन घिमिरे २०७६ साउन २३ गते २२:०८ मा प्रकाशित

 

 

मोहन घिमिरे,

यो प्रश्न म आँफैले आँफैलाई सोधिरहेकोछु । यसको उत्तर मैले नै दिनु पर्छ किन भने म समाजमा बस्ने सामाजिक प्राणी हुँ । समाज प्रती मेरो गहन  जिम्मेवारी छ । मैले क्षणिक स्वार्थ र लोभमा आफ्नु हैसियत भुल्नु हुन्न । हरेक ब्यक्तिको हरेक समयमा फरक फरक तथ्य र बिषयमा छलफल हुन्छ। एक पटकमा उठेका बिषयहरु सधैं सधैंका लागि बिषय हुँदैनन । तथ्यगत बिषयमा छलफल  भई  निकास  आइसके  पछी फेरी तेही बिषयमा लगातार खोचे थाप्नु त्यो बिषयमा समय, बिषयबस्तुको ज्ञानको अभाव र त्यो एउटा रिस डाहा इश्रा र स्वार्थबाट प्रेरित बिषयबस्तु भएको अनुमान गर्न सकिछ । न्यायको दृटिकोणबाट हेर्दा पनि एक पटक समाधान भएको  बिषयमा पुन प्रवेस गर्नु न्यायिक प्रणालीको अपमान गर्नु हो । न्याय त तथ्यगत गुण र दोषको आधारमा हुनु पर्छ।

आज समाज कति निर्दयी बन्दैछ । दया माया निष्ठा, अनुशासन, नैतीकता र सत्यता समाप्त्त भएर गएको छ । हिन्दु धर्म ग्रन्थ गीतामा लेखिए अनुसार कलियुगको पराकास्ट जताततै छरपस्ट भएजस्तो देखिन्छ ।बहुसङ्ख्यक मान्छेहरुको सोच अरुलाई कसरी दुख दिन सकिन्छ, आफ्नु स्वार्थ कसरी पुरा गर्न र आफुले गरेको अन्याय  कसरी लुकाउन सकिन्छ भन्ने बाहेक अरु पाउन कठिन छ। त्यसमा पनि कलीयुगको शुरुवात मैले देखेकै समुदाय वा परिवेसबाट शुरु भएको हो कि भन्ने लाग्न थालेको छ ।

इमान जमान बेचिएको देख्दा अचम्म मात्र होइन दु:ख पनि मान्नु पर्ने समय  आएको छ । लिनेले लिएको छ दिनेले दिएको छ तर लिनेले लिउन्जेल मात्र सम्झन्छ दिनेले आफ्नु पसिना र विवेक सधैं सम्झन्छ । यती मात्र फरक छ कि लिने सधैं भरी लिएको कसरी पचाउन पाईन्छ  भनेर जाल झेल झुटको खेती बुनेर गुटबन्धी तयार गर्छ भने दिने त्यो दिएको आउछ र आफ्नु व्यबहार टार्ने सपनामा तल्लिन हुन्छ । यस्ले के सङ्केत गर्छ भने एउटा समाज लिने दिनेको सत्य तथ्य भन्दा पनि कसरी सत्य तथ्य लुकाउन र कसरी आफ्नु स्वार्थ सिद्ध गर्न पाईन्छ भनेर अर्को समाजलाई पंगु बनाइ रहेको हुन्छ । समाजलाई के थाह कस्ले सत्य तथ्य गुम्राहा पार्यो भनेर । तसर्थ समाजले हरेक परिवारको यथार्थ जान्नु अती आवश्यक छ । यस्ता  घटनामा समाज पनि जवाफदेही हुनु अत्यान्त जरुरी  छ । उदाहरणको लागि पश्चिमा वा बिकसित मुलुकको समाज र सामाजिक बिकासको जग हेर्ने हो भने हामी र हाम्रो भन्दा धेरै दुरदर्सी देखिन्छ । अमेरिका जस्तो मुलुकमा एउटा नागरिक वा गैह्र नागरिकले (अमेरिकामा नागरिकता नभएको व्याक्तिले पनि घर जग्गा किन्न सक्छ) आफ्नु बासस्थान किन्नु पर्दा सबभन्दा पहिला उसले त्यस ठाउँको स्कुलको स्तर हेर्छ, दोस्रो उसले त्यस ठाउँमा कस्ता कस्ता अपराधका घटनाहरु  घट्छन भनेर अपराधको  रेट हेर्ने गर्छ, तेस्रो त्यो समाजमा कस्तो परिवार बस्छ भनेर हेर्छ , चौथो सरकारी उपस्थितिको बारेमा बुझ्छ यसको मतलव कुनै अप्रिय घटना घट्यो भने सरकारी निकाय प्रहरी, आकस्मिक सेवा कति प्रभावकारी छ भनेर अनुसन्धान गर्छ। यदी यी माथीका कुराहरुमा बिस्वास लागेन भने अर्थात अपराधको रेट न्युन छैन भने, स्कुलको स्तर उच्च , छिमेकीको योग्यता र सरकारी उपस्थिति प्रभावकारी देखिएन भने उ घर किन्ने निर्णयमा पुग्दैन।

यसरी समाजको प्रतिष्ठा,इज्जत र जवाफदेहिता समाजले नै राख्नु पर्छ भन्ने मान्यताको बिकास भएको देखिन्छ।  समाजको पहिचान र समाजको इज्वत समाजले नै राख्नु पर्छ । आफ्नु समाजमा बस्ने मान्छेको आचरण पनि समाजले जान्नु अति जरुरी हुन्छ । हामीले हाम्रो समाजको प्रतिस्ठा बढाउने हो भने समाजमा  घटेका दृश्य अदृस्य घटनाहरुको जानकारी लिनु अती नै  आवश्यक हुन्छ । तव मात्र हामी हाम्रो समाज सवल सक्षम र स्वच्छ बनाउन सक्छौ । नत्र हाम्रो समाज हामीलाई मात्र रमाइलो लाग्छ  अरुको नजरमा यो समाज स्वार्थी र घ्रिणित हुन  सक्छ । समाज सधै बिचलनमा आउछ।  संसारमा आर्थिक समुन्नती गर्ने बाटोहरु धेरै छन तर स्वच्छ र सफा समुन्नती नै सब भन्दा राम्रो आर्थिक उन्नतीको बाटो  हो । कसैले कसैलाई जाल झेल, षड्यन्त्र वा अरु कुनै प्रपन्च गरेर सम्पत्ती आर्जन गर्न खोजे पनि कालान्तरमा त्यसले नैतीक र धार्मिक बैधता पाउने छैन र पाउनु पनि हुन्न । हामीले हाम्रो समाजलाई आफ्नु स्वार्थको लागि प्रयोग गरियौ भने त्यसले हामीलाई नै सिद्ध्याई रहेको  हुन्छ । हाम्रो समाज हामीले देख्दा राम्रो भन्दा पनि अरुले देख्दा राम्रो भएको नै उत्कृष्ट होला ।

म आफ्नै एउटा सानो मेरो स्कुलिङको कुरा गरौ मेरो आमाले म लगभग ६/७ बर्ष उमेरको हुँदा भोली सुर्य वा चन्द्र ग्रहण लाग्नु छ भने तेसको अघिल्लो दिन मेरो छिमेकिको घरबाट ल्याएको नुन, तेल, मट्टितेलको पैचो तुरुन्त तिर्न लगाउनु हुन्थियो । वहाले भन्नु हुन्थियो कि अर्काको कहिले पनि खानु हुन्न र लिएको कुरामा कहिले पनि  झुट बोल्नु हुन्न । आज म आँफै त्यो दिन खोजी रहेछु । त्यो संस्कार कहाँ पुग्यो कि हामीले चटक्क भुल्यौ त !! अवस्य  हामीले  भुलेनौ तर हाम्रो स्कुलिङ कतातिर जादै छ त्यो चाँही सोचनिय बिषय होला । आजभोलि त नुन, तेल, मट्टितेल पैचो लिएको पनि प्रमाण चाहिन थालेछ । नुन तेल त खाइ सकियो तर तिर्ने सवालमा पैचो ल्याएको छैन किन तिर्ने भन्न थालिएछ। बिचरा नुन तेल दिनेले बिस्वास बाहेक अरु के सोच्नु र !! यो एउटा बिक्रितीको चरम दुस्कृति भै रहेको मैले देखे र भोगे पनि । अर्को एउटा प्रसङ्ग पनि उल्लेख गरौ कुटुम्बहरुको घरमा बिशेष गरेर बिवाह गरेर गएकी छोरीको घरमा माइती  पट्टिका  परिवारले औसी, पुर्णिमा र श्राद्धमा पानी पनि पिउनु हुँदैन भन्ने चलन अहिले व्यबहारमा व्याबहारिक नभए पनि यसको  मुल मर्म हामीले बुझ्नु अती जरुरी हुन्छ । यो एउटा समाजको अनुशासन र नैतिकताको नियम हो तर हामीले त्यस्ता कुरालाई मर्म भन्दा पनि इगोको रुपमा लियौ।  यो चलन अमेरिकाको कुनै एउटा जातिमा पनि मैले भेटे । यस्ता मर्मगत संस्कारलाई समाजमा बेवास्ता गरिदा  हामीलाई अमर्यादित  मात्र बनाएन समाजमा  लाचारिपनको सिर्जना गर्दै लग्यो । जसको भावना नबुझ्दा कुटुम्ब बिचको भावनात्मक सम्बन्धमा प्रश्न चिन्न उठायो । आज सामाजिक मुल्य मान्यता, धर्म,  संस्कृति, हातेमालो, सहयोग र सद्भाव कहाँ चुकायौ हामीले यो पनि तेतिकै सोच्नु पर्ने बिषय भएको देखिन्छ ।

हाम्रो संस्कृति, चाडपर्व के हो किन मनाउने हामीले जानेनौ वा नजानी मनाइ रहेका छौ वा हामी बुचपचाही रहेकाछौ । तिज के हो? दसैं के हो ?, तिहार के हो? र किन मनाइछ । मासु चिउरा खान, सेलरोटी खान कि ढकने खान (दर) !! यती मात्र हो त हाम्रो चाड पर्वको मतलव । त्यती मात्र अवस्य होइन। यस भित्र ठुलो भावनात्मक सम्बन्ध छ । तर आज प्रस्ट देखिएको छ, धर्म, संस्कृति,चाडपर्व,रितिरिवाज स्वार्थसँग गासिएको छ। परिवारिक गुटबन्धी, व्याबहारिक बिचलन, स्वार्थ, आर्थिक सम्पन्नता, बिपन्नता र पारिवारिक खिचातानीले सहिष्णुता र सदभावको निसानी मेटाइ रहेको छ । तर हामी त्यसमा अनभिज्ञ भैरहेका छौ । हामी हाम्रो निजी स्वार्थ र एउटा झुण्ड गुट लिएर हिडिरहेका छौ । के यसको गन्तब्य सही ठाउमा होला त ! समाजमा देखिएका अस्वस्थ प्रतिस्पर्धा, डाहा, इर्स्याहरुको गुटबन्धिले समाज अवस्य बिचलित बनाउछ । जसको परिणाम हामीले नैतिकरुपमा स्विकार गर्नु पर्छ।  प्रजातान्त्रिक प्रणालीले राजनीतिक गुटलाई मान्यता दिए पनि(नितिगत बिषय बस्तु र स्वच्छ प्रतिष्पर्धाको कारणले गर्दा) अरु गुट जस्तै जातिय, क्षत्रिय, अपराधिक, स्वार्थमा निर्लिप्त पारिवारीक गुटको मान्यता कही कतै देखिदैन । अनुसन्धान अनुसार यी गुटहरुले समाज र सामाजिक  अस्तित्व समाप्त पारेको  छ । अमेरिकामा जातिय गुटले अमेरिका बिखण्डित बनाएको छ । गोरा र काला जातीको आ-आफ्नु गुटले अरु जाती र भाषीहरुलाई पनि ससङ्कित बनाएको छ। तेश्रो धारको समुहले एउटा गुटलाई समर्थन गर्नु पर्ने बातावरण सृजना भईरहेको छ ।

नेपालको सन्दर्भमा हेर्ने हो भने पारिवारिक, अपराधीक र जातिय गुटबन्धिले नैतीकता र इमान्दारिता  गुमाउदै गएको देखिन्छ । यी मध्यको सब भन्दा खतरनाक गुटबन्धी भनेको पारिवारिक गुटबन्धी नै हो । पारिवारिक गुटबन्धिमा पनि आर्थिक कारोवारसंग सम्बन्धित गुटबन्धी चरम भएको देखियो। आर्थिक अनुसाशनबिहिनताले समाजमा अदृश्य अपराधहरु बड्न थाले। जसले समाजको नैतिक बल गिराउने काम गरिरहेको छ । होला अनैतिक र अदृश्य कामले कसैलाई क्षणिक लाभ त भयो होला तर समाज र आफुलाई सभ्य भनि दाबी गर्ने परिवारको स्तरमा अवस्य कुठाराघात भएको मानिन्छ । आर्थिक कारोवारलाई हेर्ने हो भने लिने दिनेको बिचमा दिने कर्ता सधै अन्यायमा परेको देखिन्छ । दिनेले हाँसी खुशी दियो तर फिर्ता लिने बेलामा उसले लिन सकेन।  लिनेहरुले कि त लिएको छैन भने कि त मारिमेटि नै दिएको भने (फेसबुक र ट्विटरमा गरिएको संख्यात्मक/मात्रात्मक अनुसन्धानबाट  आएको परिणाम) तर बिडम्बना दिनेलाई यो मारिमेटिको नत प्रश्न उठेको थाह हुन्छ, नत यो बिषय दिनेले सुनेको नै हुन्छ । यसरी अनुसाशनबिहिन आर्थिक कारोवारले समाजमा अदृश्य अपराधहरु घटिरहेका छन । जसको कारणले समाजले आफ्नु स्तर माथी सोच्नु पर्ने हुन्छ । समाजको सबभन्दा ठूलो सम्पत्ती भनेको इमान्दारिता र कर्तब्यनिष्ठता हो । जव सम्म समाज आफु प्रति यी दुईवटा कुरामा जवाफदेही हुन सक्दैन, तव सम्म समाजको गुणस्तरीय बिकास भएको मानिदैन ।

घर घरमा बाटो पुर्याएर मात्र बिकास सम्भव छैन, बिकासको सफल परिणाम दिन त हरेक व्यक्तिको सोचमा परिवर्तन हुन जरुरी छ।  त्यो सोच भनेको मानविय सोच हो। नैतिकता र इमान्दारिताले समाज र सिंगो राष्ट्रमा नै प्रश्न चिन्ह खडा गरेको देखिएको छ । यो नेपाली समाजमा जताततै ब्याप्त रोग जस्तो देखिन्छ। अरु बिकसित देशसंग तुलना गर्ने हो भने उनीहरुको सामाजिक बिकासको मेरुदण्ड नै अनुसाशन, नैतिकता र इमान्दारिता हो । उनीहरुलाइ बिस्वास छ कि समाज नैतिकरुपमा बिकास गर्न सके अरु बिकास त्यही नैतिक बलले सृजना  गर्छ। बिकसित देशको शिक्षा प्रणाली त्यसैले अत्यन्तै ब्यबहारिक मानिन्छ । अमेरिकाको हाइ स्कुलको उद्धेश्य(objective/goal) भनेको एउटा सच्चा कर्ब्यनिष्ठ नागरिकको उत्पादन गर्ने हो।  हाम्रो जस्तो मुलुकले पनि सार्थक व्यक्तित्व बिकासमा ध्यान दिने हो भने हाइ स्कुलको अध्यान अध्यापनमा नैतिक शिक्षालाइ  उच्च प्राथमिकता दिनु बान्छनीय देखिन्छ ।

समाज जाल, झेल, झुट र षडयन्त्रबाट चल्नु हुदैन।  इमान्दारिता र नैतीकता गुमे पछी समाजको गुणस्तरमा ह्रास आउछ । यो एउटा समाजको बिडम्बना पनि हो । यसले समाजलाई कदापी राम्रो बाटोमा हिडाउदैन । हामीले देखेका भोगेका गलत कुराहरुलाई समयमा नै सम्बोधन गरेनौ भने, हामी हाम्रो समाजलाई नैतीकता, इमान्दारिता र सभ्यताको  साटो जाल, झेल, षड्यन्त्र र झुटको खेती तिर धकेल्दै छौ  भन्ने प्रष्ट देख्न सकिन्छ । मेरो बुझाईमा नेपालमा बौद्धिकताको अभाव त देखिन तर बौद्धिकता गलत अर्थमा प्रयोग भएको देख्दा दुख लाग्यो ।

एउटा भर्खरै गरिएको सोध भर्ना अनुसन्धानमा देखाएको परिणाम  अनुसार बिदेशमा बस्ने नेपालीहरु नेपालमा अत्यान्तै ठगिएको र ८७. ७६ प्रतिशत घरायसी द्वन्द आर्थिक कारणले हुने गरेको साथै समाज एवं परिवारमा आर्थिक अनुसाशनको अभावले द्वन्द चरम भएको देखाएको छ।

यसरी हाम्रो समाज चिरफार गरेर हेर्दा इमान, जवान, नैतिकता, अनुसाशन, कर्तब्य र सत्यता गुम्दै गएको हो भन्ने कुरा हामीले शंका गर्नु पर्ने अवस्था छैन । हामीले के गर्यो वा गरेनौ समाजलाई  ठाँट्न सकौला तर आफ्नु आत्मालाई ठाँट्न कहिले पनि सक्दैनौ ।  तसर्थ अरु र समाजलाई पनि आफु सम्झेर र आफ्नु आत्मा सम्झेर नैतिकवान बनौ, तव मात्र हामी स्वाभिमानी बनेको ठहरिने छ।  नैतिक अनुसाशन र आचरणलाई समयमा नै हामीले ध्यान दिएनौ भने हामी सधै गलत बाटोबाट हाम्रो गन्तव्यमा पुग्ने कोसिस गरिरहेका हुनेछौ, जसले हामीलाई हाम्रो गन्तव्यमा पुग्न सहयोग गर्ने छैन ।

प्रतिक्रिया