आइतबार, कार्तिक ३ २०७६
काठमाडौं ०७:४६
वासिङटन डिसी 22:01

माफ गर्नु, हामीले पालो दिन सकेनौं

शशी के.सी २०७६ साउन १७ गते २१:०५ मा प्रकाशित

अहिले नेपालमा कुन घर बाँकी छ होला र कोही न कोही बिदेश नगएका । कोही पढ्न गएका,कोही काम गर्न गएका, कोही सपरिवार बसाई सरेरै गएका । हुन त नेपालको उहिलेदेखिको इतिहास हेर्दा पनि नेपालीहरू बिदेश जाने, आउने र कोही त सँधैकै लागि गएको देखिन्छ। तेसो नहुँदो हो त, फिजीमा, भुटानमा, बर्मामा, भारतकै आसाम, मणीपुर, सिक्किम, दार्जिलिंगतिर नेपाल भाषी भुतपुर्व नेपाली भेटिँदैन थिए होलान। प्रसंग: एकपटक फिजीमा कामको सिलसिलामा गएको एक नेपालीको तेहाँ बस्ने भुतपुर्व नेपालीको सन्तानसँग भेट भयो रे। उसले नेपालभाषी बस्तीमा लगेछ। त्यहाँ धेरैसँग कुरा गर्दा, कोहीको जिजुबुबा, जिजुआमा, कोहीको हजुरबुबा, हजुरआमाहरू भारतबाट धेरै दिन लगाएर पानीजहाजमा फिजी आएका थिए रे, उखु खेती गर्न। अब त्योबेलाको नेपाल त कता हो कता टाढा, फर्केर जान सम्भव पनि भएन अनि तेतै फिजीमा नै घरजम गरेर बसेछन्। उनीहरूका सन्तान,अहिले पनि नेपाली चाडपर्व, दशैं तिहार आदि सेलरोटी, मासु खाएर मनाउने गर्दा रहेछन्। यसरी धेरै बर्ष अघि नेपाल छोड्नेले टाढा गएकाले जान चाहेरपनि जान नसक्दा नेपाल माया मारे होलान र नेपालकाले पनि कता गए कता, फर्केर आउँदैनन भनेर आशा मारे नै होलान।

अब कुरा गरौं, हाम्रो बुबा आमाहरूको पुस्ताको। उहाँहरू प्राय: पढ्न कै लागि रूस, बेलायत, भारत, बंगलादेश, पाकिस्तान, थाइल्याण्ड आदी देश जानुभयो अनि सबै जसो पढाई सकाएर नेपाल फर्किनु भयो। खै शायद छात्रवृत्तिमा पढन जानु भएर हो की वा तेतै बस्न नदिने कारणले हो नेपाल नै फर्केर आउनु भयो र बिभिन्न सरकारी तथा निजी पेशा गरेर नेपालमै बस्नु भयो। उँहाहरू नेपाल फर्केर आईदिँदा सबैभन्दा राम्रो के भयो भने हाम्रा हजुरबुबाआमाका पुस्ताहरूले सन्तानकोसाथ पाउनु भयो।( हाम्रो नेपाली समाजको चलन नै होनी परापुर्वकाल देखि बुढेशकालमा आफ्ना सम्पत्ती छोराहरूलाई भाग लगाईदिएर आफु छोराहरूसँग बस्ने)। अझ भन्ने हो भने उँहाहरू नेपाल फर्कदा नेपाल देशैले पनि ठुलो फट्को मार्न पायो शिक्षा, स्वास्थ, बिजुली बाटोघाटो, पानी, पर्यटकिय आदी क्षेत्रमा। नेपालमा खोलिएका ठुला,ठुला निजी तथा सरकारी अस्पताल, विश्वबिधालय, होटेल सबै उहाँहरू कै पुस्ताको देन हो। तेस्तै हाम्रा बुबाआमाका पुस्ताका केही बुबाहरू”लाहुरे” भएर काम गर्न भारतिय तथा ब्रिटिस सेनामा जानुपनि भयो अनि पेन्शन पाकेपछि नेपालमा नै फर्किनुभयो र तेही पेन्शनको पैसाले केहीलेत नेपालमा व्यापार व्यवसाय पनि गर्नुभयो । उदाहरण,भाटभटेनी सुपरमार्केटको शुरूआत भुपु लाहुरेको सानो पसलबाटै भएको हो।

अब कुरा गरौं हाम्रो पुस्ताको। हामी जो बिस,पच्चिस बर्ष अगाडी नेपाल छोडेर बिदेश लाग्यौं नी, पढनकालागि आएका थियौं,कोही एस.यल.सी सकेर, कोही आईए, आईकम, आईयस्सी सकेर,कोहीकोही चाहीं पुरै छात्रवृत्तिमा मास्टर, बिधाबारीधि गर्न। हामीले नेपाल छोड्दा कुनै सोचाइनै थिएन बिदेशमै बस्ने।मात्र समयमा पढाई सक्ने, नेपाल फर्कने बुबाआमाको पुस्ताले जस्तै, अनि नेपालमा काम गरेर बस्ने आमाबुबाहरूसंग सपरिवार। तर भईदियो के भने, यसरी हामी बिदेशमा पढ्दै/ बस्दै गर्दा नेपालमा “दश बर्षे” जनयुद्ध शुरू भयो। अब यो युद्धले के केमात्र गरेन, सत्र हजार नेपालीको ज्यानमात्र गएन, पुलिस, सेनामा कार्यरत परिवारले त्रासमा बिताउनु पर्यो, सर्वसाधारण घरबाट निक्लदा बेलुका घर पुग्ने हो की हैन त्रास, चन्दा आतंक, केटाकेटीहरूको पढाईमा बाधा आदीइत्यादी।

अनि त हामी जस्ता बिदेशीएकालाई नेपालमा हुने घर परिवार आफन्त सबैले सक्छौ भने तेतै बस्ने बन्दोबस्त मिलाउनु भन्न थाले।पढेकै थियौं, धमाधम काम खोजेर कानुनीरूपमै जता गएका थियौं तेतैको नागरिक बन्यौं। आफु बनेपछि पाउने सुविधा अनुसार आमाबुबा, दाजुभाई, दिदीबहिनीलाई पनि कानुनीरूपमै बोलायौं। यसरी पालैपालो सब आउँदै गयौं सपरिवार बिदेश बसाई सरेर। साथसाथै यही समयतिर अमेरिकाले पनि धेरै नेपालीलाई “अमेरिकी नागरिक” बन्न पाउने चिठ्ठा खोलिदियो। अनि त के चाहीयो र प्रतेक बर्ष (डिभी)चिठ्ठा भर्दै, कहिले बिदेश जान्न,सब नेपालमै छ भन्नेहरू पनि धमाधम देश छोड्दै गए सपरिवार। तेही समयमा बेलायत सरकारले पनि अर्को के निर्णय गर्यो भने बेलायती सेनामा रहेका नेपाली परिवारले पनि “बेलायती नागरिक” हुन पाउने। अव नेपालीलाई कसरी हुन्छ नेपाल छोड्न पाए हुन्थ्यो सपरिवार सुरक्षित ठाँउमा भएको बेला, हुलका हुल नेपालीहरू लागे बेलायततिर, धरान, पोखराका राम्राराम्रा घरहरू सस्तो मुल्यमा बेचेर। युद्ध त युद्ध नै हो कुनै दिन अन्त्य जरूरी नै थियो। दश बर्षपछि अन्त्य भयो अनेक उथलपुथल गराएर। अहिले त नेपाल राम्रो छ, आफ्नो उन्नती गर्न चाहनेले गरिरहेका छन्।

अब रहयो परिवारको कुरा, हो हामी विदेशमा बस्नेपनि नेपाल आउने जाने गर्छौं, चाडपर्व, केटाकेटीको गर्मी बिदाहरूमा,तेस्तै नेपालमा रहनु भएका आमाबुबाहरू पनि आउनु, जाने गर्नु हुन्छ। तर समस्या के पर्यो भने, न उहाँहरू सँधैको लागि हामीसँग बिदेशमा बस्ने गरिआउन सक्नु हुन्छ, न हामीहरू नै सबै घरवार, जागिर चट्टकै छोडेर नेपाल जान सक्छौं सँधैको लागि। अब अन्त्यमा भन्नै पर्ने भएको छ “माफ गर्नु, हामीले पालो दिन सकेनौं! “

शशी के.सी

प्रतिक्रिया