के तपाई एनआरएनको सदस्य बन्न चाहनु हुन्छ

डा. गोबिन्द रावत, टोरन्टो २०७६ साउन १० गते २१:४० मा प्रकाशित

डा. गोबिन्द रावत, टोरन्टो

आजको मितिमा कुनै पनि आप्रवासी नेपालीलाई के तपाई एनआरएनको सदस्य बन्न चाहनु हुन्छ भन्यौं भने उनले भरसक नाई नै भन्न रुचाउँछ होला । यो विस्तृष्णता किन बढ्दै गएको छ । २००३ मा जन्मेर २००५ देखि गतिलिदै पाइला बढाउँदै अघि बढेर मातृभूमिमा आफ्नो बेग्लै सचिवालयक बनाउन सफल भएको गैरआवासीय नेपाली अर्थात एनआरएनको संख्या ८० लाख पुगेको अनुमान गरिन्छ । विश्वभरीका राष्ट्रबाट एनआरएनको सदस्य बन्दै संख्या बढ्दै जानु खुशीको कुरा हो । तर त्यसको अनुपातमा प्रत्येक वर्ष सदस्यता घट्दै जानुको कारण खोज्नु पनि अनिवार्य हँुदै गएको छ । यस तर्फ आईसिसिले ध्यान दिनु जरुरी देखिन्छ । यो वर्ष २०१९ भएकोले विश्वभरी एनआरएन तातेको छ । कारण हो अक्टुबर १३–१५ मा काठमाडौंमा हुँने अन्तर्राष्ट्रिय सम्मेलन । त्यस सम्मेलनमा विश्वभरी छरिएर बसेका एनआरएनको राष्ट्रिय समन्वयन परिषदको पनि महत्वपुर्ण भूमिका रहने गर्दछ । केन्द्रमा आउने नयाँ नेतृत्वको चयन उनीहरुको मतबाट हुने गर्दछ । त्यसैले अन्तर्राष्ट्रिय सम्मेलनअघि नै सबै राष्ट्रिय समन्वय परिषदले वार्षिक साधारणसभाको आयोजना गर्दै नयाँ राष्ट्रिय परिषदका लागि निर्वाचन गराउने गर्दछन् । एनआरएनको राष्ट्रिय परिषदका लागि हुने निर्वाचनमा एनआरएनको सदस्यता लिएकाहरुले मात्र मतदान गर्न पाउने गर्दछ । यो सदस्यता पोहोरभन्दा यसपटक झन घटेको छ । यसको कारण एनआरएनप्रति आप्रवासी नेपालीहरुको नैरास्यता र सामाजिक संस्थामा राजनीतिक होडबाजिको मल्ल युद्धलाई मान्न सकिन्छ । अझ यसपटक त सदस्ता बन्नका लागि अन लाईन भरिने फारममा ल्याएको झन्झटिलो प्रक्रिया तथा अनावश्यक व्यक्तीगत जानकारीले पनि सदस्यता घटाएको मानिन्छ । यसको ज्वलन्त उदाहरण भर्खर अमेरिकामा सम्पन्न चुनावले देखाएको छ । दसौं लाख नेपाली बस्ने भनिएको अमेरिकामा ९१५७ जनाले मात्र सदस्यता लिएका छन् । अर्थात कुल जनसंख्याको एक प्रतिशत पनि एनआरएनको सदस्य बनेको देखिएन । अमेरिकामा भर्खर सम्पन्न चुनावमा लगभग सात हजार दुई सय (७१९१ मत) खसाइएको मतबाट ५६ जना चुनिएका छन् । तर उम्वेदवारी भने २१२ जनाले विभिन्न पदका लागि दिएका थिए । यसबाट पनि अनुमान लगाउन सकिन्छ एन.आर.एन.प्रति नैरास्यता कति बढेको छ तर किन बढेको छ भनेर बुभ्mनेतिर नेतृत्व वर्ग किन जान चाहदैन ।

एनआरएनमा दुई थरीका आप्रवासीहरु आफ्नो अधिकार जमाउन चाहन्छन् । एक थरी आफुलाई बुद्धीजीवि भन्ने समुह र अर्कोथरी जसरी भए पनि आफ्नो नाम छाप्न चाहने समूह । प्रारम्भमा व्यापारी समूहबाट शुरु भएको एनआरएनको परिकल्पना गैरआवासीय नेपालीहरुका लागि नेपालसँग जोडिने एउटा माध्यम हुन पुग्यो । विस्तारै यसको विस्तार पनि विश्वभरीनै फैलिदै गयो । एनआरएनकै माध्यमबाट दशकौंअघि मातृभूमिबाट विस्थापित भएका नेपाली मूलका विदेशवासी नेपालीहरुका बारेमा जानकारी हुन थाल्यो । नेपाली भाषा साहित्य र संस्कृतिको विस्तारमा एनआरएनले आफ्नो शाखा बनाएर त्यसका माध्यमबाट साहित्यिक क्रियाकलापहरु शुरु गरायो । अहिले एनआरएन, आई सि.सि.ले नेपाली भाषा साहित्य उपसमितिका माध्यमबाट विभिन्न देश÷शहरमा रहेर साहित्य कर्म गर्ने साहित्यकर्मीहरुका रचनालाई स्थानीय भाषामा अनुवाद गरेर प्रकाशित गर्दै जाने कार्यको थालनी गरेको छ । भानु जयन्तीलाई अन्तर्राष्ट्रिय भाषा साहित्य दिवसका रुपमा मनाउन थालेको छ । यसका अतिरिक्त आप्रवासी साहित्यकारहरुका संयुक्त कविता संग्रहको प्रकाशनपछि कथा संग्रह प्रकाशनार्थ नेपाल प्रज्ञा प्रतिष्ठानसँग संयुक्तकार्य शुरु गरेको छ । नेपाली भाषाको अध्यापनका लागि सरल नेपाली भाषाको पुस्तक प्रकाशन गरेको छ । आउँदो सेप्टेम्बर १-२, २०१९ मा एन.आर.एन. को पहिलो अन्तर्स्ट्रिय भाषा साहित्य सम्मेलन बोस्टन, अमेरिकामा गर्दैछ । भूईचालोबाट विस्थापितका लागि आवास निर्माण गरेको छ । एनआरएनले गरेका यस्ता धेरै राम्रा कार्यहरुको फेहरिस्त तयार गर्न सहिन्छ । तर यसमा आप्रवासी अर्थात गैरआवासीय नेपालीहरुको बढी सहभागिता रह्यो भने मातृभूमिका लागि अझ बढी उदाहरणीय कार्य गर्न सकिन्छ ।

नेपालबाट वर्षेनी हजारभन्दा बढी नेपाली युवाहरु पलायन भएको तथ्याङ्कले देखाएको छ । नेपालबाट प्रवासिएर विदेशी भुमीमा बसोबास गर्ने सबै नेपाली आप्रवासी नेपाली हुन् । नेपाली वा विदेशी जुन सुकै राहदानी भए पनि विदेशमा बस्नेलाई गैरआवासीय नेपाली भनिन्छ । आफु बसेको राष्ट्रबाट गैरआवासीय संघको सदस्यता लिए पनि नलिए पनि सार्क राष्ट्रबाहेक विदेशमा बस्ने नेपाली सबै आप्रवासी वा गैरआवासीय नेपाली अर्थात एनआरएन हुन् । कतिसम्म भने नेपाली राहदानी भएकाहरुको सन्दर्भमा नेपालबाहिर बसुञ्जेल गैरआवासीय नेपाली र नेपाल फर्केपछि आवासीय नेपाली अर्थात नागरिक भन्ने बुझिन्छ । यही परिभाषामा रहेर एनआरएन अघि बढी रहेको छ । तर विदेशमा नागरिकता लिएर बसेका नेपालीहरुका लागि एनआरएनको विधान त्यति लचिलो देखिदैन । एनआरएनले स्थापना कालदेखि नै उठाएको प्रश्न हो, दोहोरो नागरिकता र यसको आवश्यकता विदशी नागरिकता लिएर नेपालीहरुलाई मात्र छ भन्दा अत्युक्ति नहोला । यस बारे वर्तमान वरिष्ठ उपाध्यक्ष तथा अध्यक्षका सम्भावित उम्वेदवार कुमार पन्तले नयाँ संविधानमा दोहोरो नागरिकताका बारेमा प्रष्ट लेखिएकोले ढिलो चाडो यो अधिकार पाउने जानकारी दिनु भएको थियो । हुन त गत जुनमा नेपाल सरकारको परराष्ट्र मन्त्रालयले विभिन्न मुलुकमा रहेका अवैतनिक नेपाली महावाणिज्यदूतहरुको भेलामा नेपाल सरकारले नै एनआरएनहरुले आर्थिक सामाजिक र साँस्कृतिक अधिकार पाउने गरी गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरी सकेकोले गैरआवासीय नेपालीले पनि अन्य नागरिक सरह सम्पत्ती राख्न पाउने र सम्पत्तीको उपभोग चलन गर्न पाउने भएको छ र दोहोरो नागरिकताको व्यवस्था गर्ने संविधानको विपरित अब कोही जान नसक्ने जानकारी गराइएको थियो ।

संविधान बनिसकेको र संविधानमा ब्यवस्था भएको वंशजको नागरिकता तथा गैरआवासीय नागरिकता कसरी र कुनकुन आधारमा दिने भन्ने विधेयक नेपालको संसदमा अहिले विचाराधिन छ । अहिले संविधान संसोधनको सन्दर्भ उठेको छैन । संविधान संसोधन नगरि एनआरएनको नागरिकताको सवाल उठन सक्दैन र संविधान संसोधन गर्न अहिले सरकार तयार देखिँदैन । अन्य मुलुकको नागरिकता लिएको खण्डमा नेपालको नागरिकता स्वतः खारेज हुने ब्यवस्था नेपालको संविधानमा छ । त्यसैले यो दोहोरो नागरिकताको प्रसङ्ग प्रत्येक दुई वर्षमा एनआरएनको चुनाव तातिएको बेला उड्ने गर्छ र उम्वेदबारहरुबाट मीठो आस्वासन आउने गर्दछ ।

यहाँ दोहोरो नागरिकता चाहिनेहरु भन्दा नचाहिने समूह बढी देखिन्छन् । स्थाई बासिन्दा (पि.आर) कार्ड भएकाहरु नै गैरआवासीय नेपाली हुन् । उनीहरु कुनै पनि बेला मातृभूमिका स्थाई रुपमा बस्न सक्छन् । उनीहरुसँग मताधिकार रहेको हुन्छ । राजनीतिक सोच र समझ हुन्छ । राजनीतिक पहुँच हुन्छ । अनि राजनीतिमा लागेका पनि हुन्छन् । यही बानि विदेशमा पनि परिचालन गर्ने गर्छन । अनि भित्रिन्छ सामाजिक संस्थामा राजनीतिको कुसंस्कार । यही राजनीतिको जालोमा अहिले एनआरएन नराम्ररी जेलिएको छ । त्यसैले राष्ट्रिय समन्वयन परिषदमा जुन दलको पकड हुन्छ त्यहीँ दलको प्रतिनिधित्व गर्ने संस्थाले एनआरएनले बोलाएको बैठकमा बोल्ने मौका पाउछन् । अनि यसरी सामाजिक संस्थामा राजनीति फैलदै जान थाल्छ र यसलाई फैलाउने काम एनआरएनको राष्ट्रिय समन्वयन परिषदले गर्दै आएको छ भन्दा अत्युक्ती नहोला ।

त्यसको ठीक विपरित विदेशी नागरिकता लिएर बसेका नेपालीहरुको चाहना भनेको मातृभूमिसँग सम्बन्ध जोडीरहने हो । यसका अतिरिक्त देशका लागि सहयोग गर्न सदैव तत्पर रहने र विदेशमा देशलाई परिचित गराउँदै लैजाने रहेको हुन्छ । उनीहरु देशसँग सम्बन्ध जोडी रहन चाहेकोले दोहोरो नागरिकता चाहन्छन् । विदेशमा रहेर उच्च ओहदामा काम गर्ने नेपाली मूलका विदेशीहरुलाई बिना स्वार्थ बढी देश दुख्ने गर्दछ । तर विदेशी नागरिकता लिएको नेपालीहरुप्रति न त एनआरएन सक्रिय लागेको छ न त नेपाल सरकारनै त्यति गम्भिर भएको देखिन्छ । दोहोरो नागरिकता कार्यान्वयन नभएसम्म हामी आसमात्र गर्न सक्छौं । किनभने सरकारको नीति मन्त्रीको बोलीबाट चल्ने गर्छ भन्ने कुरा केन्द्रिय मन्त्रीले एनआरएनलाई भुतपूर्व नेपाली भनेर सम्बोधन गर्दा एनआरएनसहीत कसैले यसको विरोधमा विज्ञप्ति निकालेको देखिएन ।सरकारी तथ्याङ्क अनुसार अहिले सम्म ४३ लाख युवाहरु विदेशिएका छन् । उनीहरुकै रेमिटेन्सबाट सात प्रदेशसहीतको नेपाल सरकार र देश चलेको छ भन्दा अत्युक्ति नहोला । यही रेमिटेन्सले गर्दा नेता मन्त्रीहरुले नेपालको मेडिकल व्यापारमा लगानी गरेर उपचारका लागि विदेश जाने गर्छन् । अनि रेमिटेन्स पठाउने चाहीँ भूतपुर्व नेपाली ?

अहिले हामी पहिलो पुस्ताका नेपाली मूलका विदेशीहरुको सन्दर्भमा कुरा गरी रहेका छौं । भोलीका दिनमा दोस्रो पुस्ताका नेपाली मूलका विदेशीहरु देखा पर्न थाल्छन् । तसर्थ आजैदेखि तिनीहरुलाई नेपालसँग गास्न सकिएन भने भोलीका दिनमा उनीहरु विश्व मानचित्रमा हराउन पनि सक्छन् । अनि भोली फिजीका नेपालीहरु जस्तै भाषा संस्कृति विहीन पनि बन्न सक्छन् । जसरी आजका गायानिजहरु भारतीय मूलका भएर पनि भारतभन्दा आफुलाई कोसौं टाढा उभ्याउने गर्छन र यसको दोष उनीहरु आफ्ना पूर्खालाई दिए जस्तै भोली हाम्रा सन्ततिले पनि त्यसो नगर्लान भन्न सकिदैन ।

प्रारम्भमा एनआरएनले दोहोरो नागरिकताको बल्छी हालेर सदस्यता बढाउदै गयो । तर यसको काम कत्र्तब्य बुभ्mदै गएपछि सदस्यहरुमा नैरास्यता बढ्दै जान थाल्यो । त्यसपछि कुर्सीको राजनीति गन्ध बढ्दै गएपछि एनआरएनबाट पुराना सदस्यहरु हराउँदै गए भने नयाँ सदस्यहरु जन्मदै गए । अझ कतिसम्म भने विदेश छिरेका जोकोहीलाई पनि उम्वेदवारले आफै शुल्क तिरेर सदस्य बनाइ दिएर भोटको खुला राजनीति गरेकोले अहिले सदस्यता लिन र बन्नमा केही नियम अपनाइएको हुनु पर्दछ । कुनै पनि व्यक्ती एकपटिक राष्ट्रिय समन्वयन परिषदमा आएपछि उसलाई सधै यसरीनै पदमा बसी रहौं जस्तो लाग्ने कारण के होला । स्वयम् सेवक अर्थात निशुल्क सेवा प्रदान गर्ने संस्थामा केही त पक्कै छ होला नभए बिना करण आफै लगानि किन गर्छन त भन्ने कुरा बुभ्mन पनि जरुरी छ । मह काढ्नु र हात चाट्नु त पक्कै होला कि । नत्र भने, विदेशमा काम नगरी दाम पाउदैन र दाम नपाएसम्म काम गर्दैनन् भन्ने उखानै छ । सबै व्यापारी जस्तै हुँदैनन। न त सबै प्रतिष्ठित नियोगमा काम गरेर मासिक तलब खानेहरुनै हुन्छन् । विदेशमा काममा गएमात्र दाम पाइन्छ भने कामै नगरी कस्तो स्वयम् सेवक ।

एनआरएनको सदस्यता शुल्क १० डलरबाट बढाएर १५ डलर बनाएपछि राष्ट्रिय समन्वय परिषदलले आफ्नो खर्चको दायरा बढाउँदै गयो । यसमा ५ डलर केन्द्रमा जान्छ र १० लडर राष्ट्रिय समन्वय परिषदलको कोषमा । अनि केन्द्रले फेरी एकजना अन्तर्राट्रिय संयोजकका लागि तीन–चार हजार शुल्क लिने गर्छ । किन लिएको दैव जानुन । यो पैसा कता जान्छ कुन्नी । क्यानडामा त एनआरएनको प्रत्येक कार्यक्रममा शुल्कबाटै चल्छ त्यसमा पनि केन्द्रीय अध्यक्षले हुप्र लगाएर आफ्नो मान्छेलाई अन्तर्राट्रिय संयोजक बनाउने चलन पनि शुरु भएछ । (प्रसङ्गवस्) २००८ मा प्रजातान्त्रिक प्रक्रियाबाट स्थापना भएको एनआरएन क्यानडाको पहिलो बैठकमा अन्तर्राष्ट्रिय संयोजकको पद पूर्तिका बारेमा कुरा चलेको बेला अन्तर्राष्ट्रिय संयोजकले सम्बन्धित राष्ट्रसँग समन्वय गर्नु पर्ने हुनाले उक्त पदका लागि बौद्धिक तथा उच्च शिक्षित व्यक्तीलाई राख्न जरुरी देखिएकोले डा. प्रमोद ढकाललाई क्यानडाको अन्तर्राष्ट्रिय संयोजक बनाइएको थियो । वहाँकै योग्यताले क्यानडाका विश्वविद्यालयहरुसँग विचारको आदान प्रदान गरिएको प्रतिफल खुला विश्वविद्यालयको अवधारण आएको थियो । त्यसपछिका अन्तर्राष्ट्रिय संयोजकले आआफ्नो कार्यकाल पुरा मात्र गरेको देखियो । अर्थात जुन उद्देश्यका लागि संस्था स्थापना गरिन्छ त्यो उद्देश्यको परिपूर्ति गर्नका लागि योग्य व्यक्तीको खाँचो रहने गर्दछ । यस्तो पदका लागि रोजेर हैन सही व्यक्ती खोजेर राख्न सक्नु पर्छ ।

एनआरएनको स्थापनापछि आप्रवासी नेपाली समुदायबा बीच प्रारम्भमा जुन जोश, जाँगर र अठोत देखिएको थियो ती सब पदको होड बाजिको भेलले बगाएर लगि सक्यो । अब त चुनाव लड्नका लागि मात्र आफु सदस्य बनेर अरुलाई सदस्यता बनाएर मत बटुल्नेमा सिमित हुँदै गई रहेको छ । एनआरएनको थालनीसँगै यसलाई डो¥याउने काम परिपक्क अनुभवी र बौद्धिक व्यक्तीहरुबाट हुँदै गएको थियो । कालान्तरमा यसमा पनि होडबाँजी हुन थाल्यो । राजनीतिक प्रभाव र दवाव देखिन थाल्यो । सामाजिक संस्थामा लाग्नु भनेको समाजको सेवा गर्नु सरह हुने गर्छ । संस्थामा रहे पनि नरहे पनि आफ्नो संलग्नतालाई निरन्तरता दिदै जानु पर्छ । तर यहाँ त्यसको विपरित नै देखिन्छ । आफ्नो कार्यकालमा सक्रिय भएर लाग्ने र कार्यकाल पुरा भएपछि वा पद नपाएपछि कार्यक्रमबाट पन्छिदै जाने गरेकाहरु पनि छन् । गत महिना एनआरएन क्यानडाले क्यानडाका नवनियुक्त महामहिम राजदूतको स्वागत कार्यक्रम राख्यो । त्यसमा एनआरएनकै सबै राष्ट्रिय समन्वयन परिषदमा सदस्यहरु नै उपस्थित थिएनन् । बोल्न पनि आफैले रोजेको व्यक्ती÷समुहले मात्र पाएपछि मञ्चबाट कटु वाक्यहरु सुनेर भारतीय व्यापारी आदित्य झा सुटुक्कै मञ्चबाटै कुलेलाम ठोक्नु परेको दृश्य देखिएको थियो । एनआरएनको चुनाव लागेपछि ङ्च्चि हाँसेर हात जोडेर नेपालको संसदीय चुनावमा झै जितेपछि यसो त्यसो गर्ने वाँचासहीत भोट माग्ने र जितेपछि आफुले चाहे अनुसार नभएको भनी टाढा टाढा बस्नुको सट्टा नेपालीहरुको हीतका लागि भनि स्थापना भएको संस्थाभित्रनै त्यहाँ देखिएको नकारात्मक कुरा जनमानसका बीच ल्याउन सक्ने ताकत देखाउन सक्नु पर्छ । आजको संचार युगमा बाँचेका हामीहरु संस्थामा बस्न नसकिने कारणको वास्तविकता लेखेर राजिनामा दिएर विरोध पनि गर्न सकिन्छ । तर कस्ले गर्ने । पाएको पद छोड्न को चाहन्छ ।

हामी आप्रवासी नेपाली (एनआरएन) विभिन्न मुलुकमा बसेर नेपालीपनको आभास दिन सदैव प्रयत्नशिल रहीरहन्छौं । विदेशमा पनि नेपालीत्वलाई निरन्तरता दिन अझ भनौं नेपाली भाषा साहित्यसँगै परम्परागत चाड पर्वहरुलाई जोगाई राख्न नेपाली संघसंस्थाहरु खोलिदै आएका छौं । एनआरएनको जन्मपछि ती संस्थाहरुलाई पनि संरक्षण दिन छाता संगठनका रुपमा आफ्नो परिचय दिन सधै अग्र पंत्तीमा रहेको एनआरएनले आफ्नो वचन भने पुरा गर्न सकेको छैन । अन्य सामाजिक संस्थाहरुलाई संस्थागत सदस्यता दिने क्रममा नेपाली राजनीतिक दलका भातृ संगठनहरुलाई समेत संस्थागत सदस्य बनाएर नेपालमा जनतालाई सधै रुवाएको राजनीतिलाई एनआरएनले विदेशमा पनि भित्र्याएर संस्थागत राजनीतिको खेल शुरु गरेको छ । त्यसैले गर्दा विदेशमा नेपाली संस्कृतिको जगेर्ना गर्दै आएका किरण ढुङ्गाना (क्यानडामा पहिलो नेपाली संस्थाको थालनी गर्ने अग्रज) जस्ता अग्रजहरु एनआरएनभन्दा बाहिरनै बस्न रुचाउन थालेका छन् । यस्ता धेरैनै किरण ढुङ्गानाहरु एनआरएनभन्दा बाहिर बस्नु परेको छ । यो वास्तविकता अन्य राष्ट्रमा पनि हुनु पर्छ । सबैलाई समेट्ने एनआरएन कसरी बनाउने भन्ने बारे सोच्नु पर्ने बेलामा हामी आफ्नो गुटलाई जिताउन क्यानडाको केन्द्रले समेत नछुट्याएको शहरलाई पार्टी फुटाएझै गरी छुट्याएर स्वार्थको राजनीति गर्न थाल्छौं ।

यस वर्षकै कुरा गरौं न । एनआरएन क्यानडाले आउदो अगस्त १० मा अधिवेशन बोलाएको छ । यो राष्ट्रिय अधिवेशनमा पोहोर जस्तै औंलामा गन्ने समुदायको उपस्थिति रहन्छ भने एनआरएनको औंचित्य नै के रह्यो त । प्रत्येकपटक घट्दै गएको एनआरएन क्यानडाको सदस्य संख्या यसपटक २३५७ पुगेको छ । गत वर्षभन्दा झण्डै ७०० कम । यसरीनै सदस्य घट्दै गयो भने भोली राष्ट्रिय समन्वयन परिषदको संख्या पनि नपुग्ला । यसपटक धेरै प्रान्त र शहरबाट एनआरएन विलाएर गएको छ । सदस्य संख्या कम भएकोले राजधानी अटवासहीत क्युबेक, गोयल्फ, मोन्ट्रियलबाट यसपटम प्रतिनिधित्व नरहला जस्तो छ । अबको चुनावबाट १३ जनामात्र चुनिनेमा पनि ५ जना त निर्विरोध चुनि सकिएका छन् । २०१७–१९ को समितिमा १५ जना केन्द्रिय पदाधिकारी, १३ जना सल्लाहकार र २ जना अन्तर्राष्ट्रिय संयोजकसहीत ३० जना जम्बो समिति बनेको थियो । आफन्तलाई बटुल्ने क्रममा यसपटक त्यस्तो नबनोस ।

एनआरएन क्यानडामा फेरी चुनाव आएको छ । सदस्य बन्नेहरुको होडबाजी चलिरहेको छ । यसमा कोही एकपटक जितेर अर्कोपटक हारेपछि यसपटक फेरी संस्थाको लागि भनेर उठेका छन् भने कोही लगातार दुई÷तीनपटक जित्दै फेरी जिताउन हात जोडेको फोटो राखेर भोट माग्दै छन् । त्यसका साथै केही नयाँ अनुहारहरु पनि नयाँ सोंच र विचारका साथ आफ्नो उम्वेदवारी दिएका छन् । यसमा मतदाताले उम्वेदवारको शैक्षिक योग्यता र कार्य क्षमता हेर्नु पर्ने अनिवार्य देखिन्छ । विदेशी समुदायको उपस्थितिमा अंग्रजीमा लेखेको भाषणलाई पनि गलत उच्चारण गरेर पढ्ढा फलानोको हैन नेपाली समुदायकै वेइज्जत हुँदैन र । हेक्का गरौं ल ।

(जुलाई २६)

प्रतिक्रिया