ग्यारेथ बेलको भविष्य अनिश्चित

इनेप्लिज २०७६ साउन ९ गते ११:३५ मा प्रकाशित

लण्डन, ९ साउन । कुनै समय विश्वको सबैभन्दा महंगा खेलाडी रहेका ग्यारेथ बेलको भविष्य अहिले अनिश्चित छ । सन् २०१३ मा स्पेनिस क्लब रियल मड्रिडले उनलाई विश्व कीर्तिमानी मूल्यमा इंग्लिस क्लब टोटनह्यामबाट अनुबन्धित गरेको हो ।

वेल्सका खेलाडी बेलले रियल मड्रिडमा त्यसपछि राम्रो खेल कौशल प्रदर्शन गरे । चार पटक उनीसहितको टिमले च्याम्पियन्स लिगको उपाधि जित्यो । तर पछिल्ला केही सिजनदेखि चोट तथा प्रशिक्षकको रोजाइमा कम परेका कारण उनी मैदानमा पूरा समय देखिन पाएका छैनन् ।

यसले गर्दा रियल मड्रिडमा उनको भविष्य संकटमा परेको थियो । तर केही दिनअघि प्रशिक्षक जिनेदिन जिदानले त्यसलाई स्पष्ट पारे र भने, ‘बेल रियल मड्रिडबाट अर्को कुनै क्लब जाँदै छन् । हामीले त्यसका लागि प्रयास गरिरहेका छौँ । उनको बर्हिगमन नै सबैका लागि उपयुक्त हुन्छ ।’

टिमलाई महत्वपूर्ण उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका खेलाडीका बारेमा यस्तो भनाई आएपछि धेरैले बेलको अपमान भएको बताए । तर जिदानले फेरि पनि आफ्नो अडान लिँदै कसैले पनि बेलको अपमान नगरेको दाबी गरे ।

भविष्य अनिश्चित रहेकै बेला बेल बुधबार प्रि–सिजन भ्रमण अन्तर्गत पहिलो पटक रियल मड्रिडको टिमबाट खेले । अन्तर्राष्ट्रिय च्याम्पियन्स कप अन्तर्गत आर्सनलसँगको खेलमा थप खेलाडीको रुपमा मैदान छिरेका बेलले ५६ औँ मिनेटमा गोल गरे । २–२ को बराबरी भएको खेलमा रियल मड्रिड टाइब्रेकरमा विजयी भयो ।

अमेरिकाको मेरील्याण्डमा भएको खेलपछि प्रशिक्षक जिदानले भने, ‘बेलले राम्रो प्रदर्शन गरे र म उनीबाट आनन्दित भएको छु ।’ त्यसपछि उनले थपे, ‘तर कुनै पनि कुरा परिवर्तन भएको छैन, अवस्था के छ तपाईँहरु सबैलाई थाहा छ ।’

उनले यसो भनेर बेलको भविष्य रियल मड्रिडमा नरहेको स्पष्ट पारेका हुन् । जिदानले यसअघि नै बेल क्लब छोड्ने प्रक्रियाको अन्तिम चरणमा रहेको बताएका थिए ।

बेलले यसअघि बार्यन म्युनिखसँगको खेलमा खेलेका थिएनन् । तर आर्सनलसँगको खेलमा उनी सहभागी हुन चाहेको र राम्रो गरेको जिदानले बताए ।

प्रतिक्रिया