माधव नेपाल भन्छन् : सरकारको समीक्षा गर्ने बेला भयो

इनेप्लिज २०७६ साउन ९ गते ११:१६ मा प्रकाशित

काठमाडाैँ, ९ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको काम, कार्वाहीको समीक्षा गर्नुपर्ने बेला भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्मचारीको छैठौं स्मृति दिवसको अवसर पारेर बिहीबार पार्टी कार्यालय धुमबाराहीमा आयोजित कार्यक्रममा नेता नेपालले कमीकमजोरी छन् भने सुधारेर अघि बढ्न पनि सरकारको काम, कार्वाहीको समीक्षा गर्न ढिलाई गर्न नहुने पनि स्पष्ट पारे ।

सरकारले आफ्नो कमीकमजोरीलाई सुधार गर्दै लैजाने हो भने मुलुकमा कम्युनिष्ट पार्टीको विकल्पको कल्पना गर्न नसकिने दावी पनि गरे ।

कम्युनिष्ट पार्टीसँग मुकाविला गर्ने हैसियत भएको पार्टी नेपालमा कुनै पनि पार्टी नरहेको दावी गर्दै वरिष्ठ नेता नेपालले आफ्नो कमीकमजोरीलाई भने स्विकार गर्दै राम्रो ढंगले काम गर्न जरुरी रहेको पनि बताए । उनले पार्टी एकताको बाँकी कामलाई विलम्व नगरी सम्पन्न गर्न पनि पार्टी नेतृत्वलाई दवाव दिए ।

वरिष्ठ नेता नेपालले पार्टी सही बाटो रहेको उल्लेख गर्दै जनताको विश्वास जित्ने गरी काम गरेर अघि बढ्नुपर्नेमा पनि जोड दिए ।

प्रतिक्रिया