आइतबार, मंसिर २९ २०७६
काठमाडौं ०२:५३
वासिङटन डिसी 16:08

टी-२० विश्वकप छनोट : नेपाल कतारसँग ४ विकेटले पराजित

इनेप्लिज २०७६ साउन ७ गते १०:५४ मा प्रकाशित

काठमाडाैँ, ७ साउन । सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलमा नेपालले खराब सुरुवात गरेको छ । मंगलबार भएको पहिलो खेलमा कमजोर प्रतिद्वन्दी कतारसँग ४ विकेटले पराजित हुँदै नेपालले खराब सुरुवात गरेको हो ।

प्रतियोगिताको मुख्य दावेदार मानिएको नेपाललाई पहिलो खेलमै झट्का लागेको छ । ६ जना बलर खेलाएको नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले दिएको १२३ रनको सामान्य लक्ष्य कतारले १९ ओभर २ बलमा ६ विकेट गुमाएर पुरा गर्‍यो।

कतारको जितमा इनाम उल हकले सर्वाधिक ४१ रन बनाए । कम्रान खानले २२ रन जोडे । त्यस्तै जाहिर इब्राहिमले १२ रन जोड्दा मुहमद तानभिरले ११ रन बनाए ।

नेपालका सन्दीप लामिछानेले ३ विकेट लिएपनि टोलीलाई हारबाट जोगाउन सकेनन् । यस्तै करण केसीले १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो ।

कतारविरुद्ध उत्कृष्ट सुरुवात गरेपनि नेपालले उच्च स्कोर बनाउन सकेन । पहिलो विकेटका लागि कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले ४९ रनको कीर्तिमानी साझेदारी गरेपनि नेपालले उच्च स्कोर बनाउन असफल भयो ।

कप्तान पारस र ज्ञानेन्द्रको यो साझेदारी टी-ट्वान्टी अन्तराष्ट्रियमा पहिलो विकेटका लागि नेपालको सर्वाधिक रनको साझेदारी हो । कप्तान पारस २८ रनमा आउट हुँदा ज्ञानेन्द्र २३ रनमा पेभेलियन फर्किए ।

यसअघि पहिलो विकेटका लागि सर्वाधिक रनको साझेदारी सुवास खकुरेल र सागर पुनको नाममा रहेको थियो । सन् २०१४ मा सुवास र सागरले पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरेका थिए ।

कप्तान पारस र ज्ञानेन्द्र आउट भएपछि नेपालले लगातार विकेट गुमाएको थियो । तर, मध्ये क्रममा आएका दिपेन्द्र सिंह ऐरीले नेपालका लागि सर्वाधिक ३४ रन जोड्दै इनिङ्स उकासेका थिए ।

यस्तै सोमपाल कामीले ११ सन्दीप लामिछानेले ९ तथा शरद भेषवाकरले ७ रन जोडे । कतारका इकबाल हुसेनले ३ विकेट लिए । तमोर साजाद र नुमान सर्वारले २/२ विकेट लिए ।

अब नेपालले दोस्रो खेलमा मलेसियासँग बुधबार खेल्नेछ । त्यस्तै कुवेतसँग शनिबार र नेपालले आइतबार सिंगापुरसँग खेल्नेछ । कतारको यो पहिलो जित हो । सोमबार भएको पहिलो खेलमा कतार सिंगापुरसँग ३३ रनले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेतले प्रतिस्पर्धा गरिरहेका छन् ।

फाइनलको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । प्रतियोगितामा सहभागीहरुमध्ये नेपालमात्रै एक दिवसीय मान्यताप्राप्त राष्ट्र हो ।

प्रतिक्रिया