अरुण थापा स्मृति दिवसमा भूषण खरेल र चर्चित आयुष केसी सम्मानित

इनेप्लिज २०७६ साउन ६ गते १०:५४ मा प्रकाशित

थोरै गीत गाएर पनि नेपाली संगीताकाशमा सदा जीवित रहन सफल अरुण थापाको २० औँ स्मृति दिवसको अवसरमा शुभारम्भ द म्युजिकल जर्नी, भक्तपुर सांगीतक समाज र विनाता कला प्रतिष्ठानले शनिबार भक्तपुरको सूर्यविनायकमा गरेको सांगीतक श्रद्धाञ्जली कार्यक्रममा उनका अधिकांश गीतहरु नयाँ पुस्ताका कलाकारले प्रस्तुत गरे ।

कार्यक्रमका प्रमुख अतिथि तथा गीतकार–संस्कृतिकर्मी चेतन कार्कीले अरुण थापाको स्वरको जादू नै उनको जीवनको अमरत्वको कारक रहेको बताए । आफूले अरुणलाई स्वर्गीय भन्न नचाहने र यसको कारण उनको स्वर र उनले गाएका गीतहरुको अमृत जीवन नै रहेको संस्कृतिकर्मी कार्कीले बताएका थिए ।

गीतकार नगेन्द्र थापाले अरुण थापाको स्वर आवाजहरुको भिडमा अलग पहिचान बोकेको र भिन्न स्वादसहितको रहेकाले नै सदा जीवन्त बन्न सकेको बताए । उनको स्वरमा रहेको जादू र मिठासले संख्यामा थोरै भए पनि स्मरण र स्मृतिहरुमा अथाह बन्न सकेको गीतकार थापाले बताए ।

अरुण थापाका प्रिय गीतकार र अरुणलाई आफ्नो हृदयमा राखेका गीतकार सुवासचन्द्र ढुंगेलले व्यक्तिको कर्मको चर्चा हुनु पर्नेमा जोड दिए । व्यक्तिगत जीवनमा जस्तो रहे पनि अरुण थापाले नेपाली संगीतमा लगाएको गुनको चर्चा जति नै गरे पनि अपूर्ण हुने र राज्यले उनको सम्मानमा अलि कति पनि पहल गर्न नसकेको तर्फ उनले संकेत गरेका थिए ।

अरुण थापाको व्यक्तिगत जीवनका विविध पक्षबारे चर्चा भएको कार्यक्रममा अधिकांशले उनको स्वरको मिठासले नेपाली संगीतलाई भरिलो बनाएको बताए ।

विभिन्न कलाकारले सांगीतक प्रस्तुति दिएको कार्यक्रममा वरिष्ठ गीतकार भूषण खरेललाई अरुण थापा स्मृति सम्मान २०७६ तथा गायक आयुष केसीलाई सुशील चालिसे संगीत पुरस्कार प्रदान गरिएको थियो । आयुष केसी भारतीय टेलिभिजन जी टीभीको रियालिटी शो ‘सारेगमप लिटल च्याम्प्स’ को फाइनलमा पुगी चर्चाको शिखरमा पुगेका र “नयाँँ नारायण गोपाल” उपनाम पाएका बाल कलाकार हुन ।

। अरुण थापाले गाएका धेरै गीतहरु अहिले पनि उस्तै चर्चामा छन्, जस्तो पहिले थिए । अरुण थापाले प्रेमका गीत गाएका छन्, त्यससँग जोडिएका पीडाका गीतले उनको स्वरमा प्राण पाएका छन् ।

प्रेम र त्यसबाट मिल्ने सुख या दुःखका साथी बनेका छन् अरुणा थापाका गीतहरु । ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ’ बोलको गीतले उनका गीतको रोमाञ्चकतालाई दर्शाउछन् । यस्तै ‘चोट के हो, बेथा के हो’ बोलको उनको गीतले प्रेममा भोग्नु पर्ने पीडाको चित्र उतारेको छ । उनका अधिकांश गीतहरुको स्मरण शनिबार भक्तपुरमा गरियो ।

बिबिसी लण्डनको World Ranking मा एआर रहमानको “छैया छैया…” दशौं स्थानमा आएको बेला राजेन्द्र रिजालको रचनाको गीतलाई राम थापाले संगितबद्ध गरेका अरुण थापाको स्वर रहेको “ऋतुहरूमा तिमी हरियाली बसन्त हौ” बोलको गीतले सातौं स्थान प्राप्त गरेको थियो ।

यसबारेको सानो भिडियो:

https://www.facebook.com/Ramkshrestha/videos/272499330137076/?t=1

प्रतिक्रिया