रेडक्रसबाट प्रारम्भिक सर्वेक्षण र राहत वितरण तीब्र

इनेप्लिज २०७६ साउन २ गते १०:३२ मा प्रकाशित

मनसुन सुरु भएपछि ९० हजार परिवारका करिव चार लाख ५२ हजार मानिसहरु बाढी, पहिरो र डुवानबाट प्रभावित भएका र ४० हजार घरहरुमा क्षती पुगेको अनुमान गरिएको छ । यो तथ्याँक वढी प्रभावित देशका ३२ जिल्लाहरुमा नेपाल रेडक्रसका निकायहरुबाट आएको विवरणमा आधारित हो ।

बुधवारसम्म नेपाल रेडक्रस सोसाइटी (नेरेसो) मार्फत तत्काल ओत लाग्न प्रभावित परिवारलाई एक हजार छ सय ६२ तारपोलिन वितरण गरिसकिएको छ । यसका अलावा ३१० परिवारलाई राहतको पूर्ण सेट वितरण गरिएको छ । उपलव्ध गराइएका सामग्री सेटमा तारपोलिन एक थान, कम्मल २ थान, महिलाको सारी एक थान, पुरुष धोती १ थान, विभिन्न खालका सिलाउने कपडा १६ मिटर, पकाउने भाँडाकुडाहरु र डोरी रहेका छन् ।

नेरेसोका कार्यकारी निर्देशक उमेश ढकालले प्रभावित क्षेत्रमा ३७४ तालिम प्राप्त स्वयंसेवक परिचालित रहेका र सयौँ स्वयंसेवकले सहयोग गरिरहेका बताउनुभयो ।

शुक्रबार सम्म प्रारभ्भिक द्रुत सवेक्षणको प्रतिवेदन तयार हुने :

नेरेसोका विपद् व्यवस्थापन निर्देशक मोना अर्यालले पानी पर्ने क्रम केही सुस्त भएसँगै बुधबारदेखि प्रभावित परिवारलाई सहयोगको तीब्रता बढाइएको बताउनुभएको छ । निर्देशक अर्यालले शुक्रबारसम्म प्रारम्भिक सर्वेक्षणको नतीजा आउने बताउनुभयो ।

यसैबीच, प्रदेश नं २ का सिरहा, सप्तरी, रौतहट, महोत्तरी, सर्लाही, मोरङ र धनुषामा प्रारभ्भिक द्रुत सर्वेक्षण सुरु गरिएको छ । ती जिल्लामा राष्ट्रिय विपद प्रतिकार्यका एक एकजना विशेषज्ञ हिजै पुग्नुभएको छ । सर्लाही पुग्नु भएका विशेषज्ञ सन्तोष न्यौपानेले टेलिफोनमा भन्नुभयो ः “म चक्रघट्टामा खोलाको किनारमा बस्तीरहेका मानिसहरुको घर, चर्पी भत्केर दयनीय अवस्थामा बसेको देख्दा भावुक भएँ ।” स्थानीय सरकारका प्रतिनिधिहरुसँगै त्यहाँ पुग्ने रेडक्रस पहिलो भएको मानिसहरुले बताइरहेका छन् । सर्लाहीमा मात्रै करिव ११ हजार घर भत्केको प्रारभ्भिक तथ्याँक आएको र जिल्ला विपद समन्वय समितिले त्यसलाई आजै अनुमोदन गरेसँगै तत्काल राहत सुरु गरिने न्यौपानेले बताउनुभयो ।

स्वास्थ्य समस्या वढ्न नदिन सहयोग :

डुंगामा चढेर मात्र जान सकिने प्रभावित क्षेत्र धेरै छन् । प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या वढ्न सक्ने भएकोले पानी शुद्धिकरण ट्याव्लेट र साबुनका अलावा स्वास्थ्य सन्देशहरु दिईएको नेरेसो सञ्चार निर्देशक दिव्यराज पौडेलले बताउनुभयो । पौडेलले भन्नुभयो ः “सर्पदंशबाट वच्ने, टोकिहालेमा अपनाऊनुपर्ने उपाय, पानी शुद्धिकरण र बालबच्चाको हेरचाहका विषयमा रेडियो शन्देश तयार गरी जिल्ला जिल्लामा पठाइएको छ । सामुदायिक संलग्नतामा नै शन्देशहरु प्रभावकारी हुन्छन् । ” पानी सुद्धिकरणको लागि एकलाखवटा ट्यावलेट र सरसफाई प्रवर्धन को लागि पाँचसय सावुन प्रभावित क्षेत्रमा पठाइसकिएको छ ।

आपतकालीन तटबन्धको लागि सहयोग :

अविरल बर्षा सुरु भएसँगै शुरक्षा फौजलाई भेल रोक्न आपत्कालीन तटवन्धको लागि नेपाल रेडक्रसका जिल्ला शाखाहरुले वोरा र जनशक्ति उपलव्ध गराएका थिए । बल्खु खोला, तीनथाना, सर्लाही बाग्मतीको तटवन्धमा ८०० वोरा सहयोग गरिएको रेडक्रसका जिल्ला शाखाहरुले बताएका छन् ।

प्रतिक्रिया