आइतबार, कार्तिक ३ २०७६
काठमाडौं ०६:१७
वासिङटन डिसी 20:32

माथेज डी लिग्ट युभेन्टसमा अनुबन्धित हुने

इनेप्लिज २०७६ साउन १ गते १०:१३ मा प्रकाशित

लण्डन, १ साउन । डच क्लब अजाक्सका कप्तान माथेज डी लिग्ट इटालियन सिरी ए फुटबल क्लब युभेन्टसमा अनुबन्धित हुने भएका छन् । सिरी ए च्याम्पियनमा अनुबन्धित हुने प्रक्रिया पूरा गर्नका लागि डी लिग्ट तुरिन पुगेका छन् ।

१९ वर्षका डी लिग्टको नाम इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग पनि जोडिएको थियो । यस्तै बार्सिलोना, पेरिस सेन्ट–जर्मेन (पिएसजी) सहितका क्लबले पनि उनमा चासो देखाएका थिए ।

डी लिग्टको कप्तानीमा अजाक्सले गएको सिजन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । निजी विमानबाट तुरिन पुगेका उनले भनेका छन्, ‘यहाँ आउँदा खुशी लागेको छ ।’

सन् २०१६ मा डेब्यु गरेका उनले डच लिग र डच कपको उपाधि जितेका छन् । यस्तै सन् २०१७ मा अजाक्स युरोपा लिग फुटबलको फाइनलमा पुगेको थियो । ९ वर्षको हुँदा अजाक्समा आएका उनले क्लबबाट लिगमा ७७ खेलमा ८ गोल गरेका छन् ।

उनी गएको वर्ष (२०१८) को मार्चमा क्लबको कप्तान बनेका थिए र उनी सबैभन्दा कम उमेरमा अजाक्सको कप्तान बने ।

उनले गएको सिजन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको क्रममा युभेन्टसविरुद्ध विजयी गोल गरेका थिए । युभेन्टसलाई पराजित गरेर अन्तिम चारमा पुगेको अजाक्स टोटनह्यामसँग पराजित भएको थियो ।

उनले नेदरल्याण्डसको राष्ट्रिय टिमबाट सन् २०१७ को मार्चमा डेब्यु गरेका थिए, त्यसबेला अजाक्सबाट लिगमा उनले मात्रै दुई खेल खेलेका थिए ।

युभेन्टसले उनलाई ६७.५ मिलियन पाउण्डमा अनुबन्धित गर्न लागेको हो।

प्रतिक्रिया