रोकिएन भैरहवामा चाेरीको श्रृंखला, प्रहरी भन्छ-भारतीय समूह सक्रिय

इनेप्लिज २०७६ असार ३१ गते ११:३९ मा प्रकाशित

भैरहवा, ३१ असार । भैरहवा क्षेत्रमा पछिल्लो समय बढेको चोरीमा भारतका दुई समूह सक्रिय रहेको देखिएको छ । प्रहरीको अनुसन्धान अनुसरा भैरहवा क्षेत्र मात्र नभएर यो समूह तराईका अन्य क्षेत्रमा पनि चोरी कार्यमा संलग्नता रहेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीका अनुसार चोरी गर्ने व्यक्तिहरु पहिचान भएपनि खुला सिमानाका कारण उनीहरु चोरी गरेपछि भारततर्फ फरार हुने हुनाले पक्राउ गर्न कठिन भएको छ । भण्डारी भन्छन्, ‘चाेरी गर्ने मान्छे पहिचान भएका छन् फोटो पनि छ तर फोटो देखाएर के गर्नु पक्राउ गर्न सकेका छैनौँ ।’ भण्डारीले उनीहरुलाई कुनै चारो हालेर अथवा रंगेहात पक्राउ गर्न सकिने बताए ।

भैरहवा क्षेत्रमा सक्रिय रहेका दुई समूहका चोरहरुले योजनाका साथ चोरी गर्ने गरेको देखिएको छ । केही दिन पहिले भैरहवाको आरके ज्वेयलर्समा चोरी हुने समयमा देखिएको सिसिटिभी फुटेजमा हेर्दा प्रहरीको पेट्रोलिङ भ्यान पसल अगाडी बाट जाने बित्तिकै पसलमा चोरी भएको छ । प्रहरी भन्छ – चोर्न आउने ब्यक्तीहरु योजनाका साथ आउछन् र घटना घटाएर भारत तर्फ भाग्ने हुनाले पक्राउ गर्न अहिले सम्म असफल भएका छौ ।

यस्तो छ भैरहवामा चोरीको श्रृंखला

प्रहरीको नियमित गस्ती हुने भैरहवाको नगरक्षेत्रमा चोरको बिगबिगीले नगरबासीलाई त्रसित बनाएको छ । भैरहवाको अञ्चलपुर, नयाँ सडक, किसोरपुर, गल्लामण्डी, दुर्गा कोलोनीलगायत क्षेत्रमा चोरको बिगबिगी बढेपनि प्रहरीले नियन्त्रण गर्न नसकेको स्थानीयबासीले गुनासो गरेका छन् । चोरले विशेषगरी रातको समयमा चोरी गर्ने गरेको पाइएको छ ।

पुसको दोस्रो सातादेखि माघको पहिलो सातासम्म भैरहवा क्षेत्रका पाँच दर्जन पसलमा लाखौँ मूल्यका समान चोरी भएको प्रहरीको तथ्याङ्कमा देखिन्छ ।

गत असार २४ गते राति बैंकरोडको एसआर सुनचाँदी पसलमा करिव २५ लाख बराबरको सुन चोरी भएको थियो । रातको समयमा पसलमा रहेको करिव २ क्वीन्टल क्षमताको सुनको सेफ नै उठाएर लगिएको थियो ।

यस्तै, करिव ४ महिना अघि गत फागुन १७ गते पनि सोही ठाउँमा नेपाल सुनचादी ब्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष प्रेम कुमार सेन्चुरीको विके ज्वयलर्समा चोरी भएको थियो । चोर अहिले सम्म पनि पक्राउ परेका छैनन् ।

त्यस्तै, २०७५ को बैशाखमा जिल्ला प्रहरी कार्यालय भैरहवाको सामुन्ने प्रहरीटोलस्थित विशाल मोबाइल पसलमा करिब ३५ लाख रुपैयाँ बराबरको मोबाइल सेट चोरी भएको थियो । बिहान ३ बजेतिर प्रहरी कार्यालय अगाडि नै पसलको सटर तोडेर चोरी भएको हो ।

२०७४ चैतमा भैरहवा क्षेत्रमा राति ५ वटा पसलमा चोरी भएको थियो । भैरहवाको लुम्बिनीरोड स्थित एउटै घरका फरक फरक सटरमा मोबाइल, कस्मेटिक, सप्लायर्स र किराना व्यवसाय संचालक गर्दै आएका व्यवसायीहरुको पसलबाट लाखौंको धनमाल चोरी भएको रुपन्देही प्रहरीले जनाएको थियो ।

सुरक्षा रणनिती कमजोर

नेपाल सुनचाँदी व्यवसायी महासंघ उपाध्यक्ष प्रेम कुमार सेन्चुरीले भैरहवाको मुख्य बजार क्षेत्र श्रृंखलाबद्ध रुपमा चोरी हुनु गम्भिर भएको बताए । उनले सुरक्षा निकाय यस बिषयमा गम्भिर हुनुपर्ने जानकारी दिए ।

सिद्धार्थ उधोग बाणिज्य संघ अध्यक्ष कुल प्रसाद न्यौपानेले देशकै सुरक्षा रणनिती कमजोर भएका कारण चोर पक्राउ हुन नसकेको दावी गरेका छन् । न्यौपानेले ठूला अपराधमा इन्टरपोल मार्फत आरोपी पक्राउ पर्छन तर साना अपराधमा पक्राउ गर्न नसकिने हुनाले भारतीय चोरको मनोवल बढेको बताए । सरकारले सिमा पारीबाट चोरी डकैटी गर्न आउने व्यक्तिलाई भारतमै गएर पक्राउ गर्न सकिने गरि सुरक्षा रणनिती बनाउनु पर्ने उनको सुझाव छ ।

साना तिना चोरी पनि बढ्दै

अहिले रुपन्देहीको सदसमुकाम भैरहवामा ठूला चोरी सँगै सानातिना चोरी बढ्दै गएका छन् । पछिल्लो समय दिनहुँ जस्तो मोटरसाईकल चोरी हुदै गएको छ ।

कृषि बिकास बैंक भैरहवा शाखामा इन्टर्नको रुपमा काम गर्दै गरेका भिम भण्डारीले करिव १५ दिन अघि भैरहवाको व्यस्त बजारमा रहेको बैंकको सिसिटिभी निगरानीमा हुने ठाउँबाट मोटरसाइकल चोरी भएको अनुभव सुनाए ।

अहिले भैरहवामा मोटरसाइकल, साइकल, मोबाइल, नगद पैसा लगायत सानातिना चोरी दिनहुँ हुने गरेका छन् । सानातिना चोरीका घटनामा चोर पक्राउ पर्ने गरेपनि ठूला चोरीमा भने प्रहरी सफलता हासिल गर्न सकेको छैन ।

व्यवसायीलाई सतर्कता अपनाउन प्रहरीको आग्रह

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले व्यवसायीलाई आफू पनि सतर्क रहन आग्रह गरे । भण्डारीले पसलमा सिसिटिभी जडान गर्न, पसलको तालामा साईरन बज्ने प्रविधी जडान गर्न, राति पसल बन्द गर्दा बत्ति बालेरै सिसिटिभी बन्द नगरी घर जान अनुरोध गरे ।

प्रतिक्रिया