सांसदहरुलाई उद्धार र राहतमा खटिन सभामुख महराको आग्रह

इनेप्लिज २०७६ असार ३० गते १०:२५ मा प्रकाशित

काठमाडाैँ, ३० असार । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाका सांसदहरुलाई प्राकृतिक विपद प्रभावित क्षेत्रमा पुगी उद्धार र राहतमा सहयोग गर्न आग्रह गरेका छन् ।

सोमबार संघीय संसदको बैठक ९ दिनलाई स्थगित गरेका उनले विज्ञप्ति जारी गरी उनले सांसदहरुलाई विपद पीडितको सहयोगमा खटिन आग्रह गरेका हुन् ।

‘संघीय संसद प्रतिनिधिसभाका माननीय सदस्यहरुलाई प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रमा पुगी पीडितहरुको उद्धार, राहत र सहयोगमा समन्वय तथा सहकार्य गर्न म विशेष आग्रह गर्दछु’ उनले भनेका छन् ।

सभामुख महराले राहत तथा उद्दारमा कुनै कसर बाँकी नराख्न सरकारसँग समेत आग्रह गरेका छन् । ‘प्राकृतिक विपदमा परी घाइते हुनु भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँहरूको उपचारमा कुनै कमी हुन नदिन सरकारसँग विशेष अनुरोध गर्दछु’, उनले भनेका छन्, ‘साथै विनासकारी प्रकोपमा परी हराइरहेकाहरुको खोजी, प्रभावितहरुको उद्धार र पीडितहरुलाई पुनस्र्थापना एवं राहतका कामलाई प्रभावकारी ढंगबाट अघि बढाउन सरकार र सरोकारवाला निकायहरुसँग हार्दिक अपील गर्दछु ।’

त्यस्तै संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी, सामाजिक संघ संस्था, अभियन्ता र राजनीतिक दललाई पनि विपद प्रभावितको सहयोगमा खटिन सभामुख महराले अनुरोध गरेका छन् ।

प्राकृतिक विपद्बाट हुने जनधनको क्षति कम गर्न र विपद् आइपरेमा तत्काल उद्धार एवं राहतलाई अल्पकालीन र दीर्घकालीन योजना बनाई व्यवस्थित गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएका छन् ।

साेमबार सूचना टाँसेर स्थगित गरिएकाे संसदकाे अर्काे बैठक साउन ८ गते दिनकाे १ बजेबाट सुरू हुनेछ ।

प्रतिक्रिया