सोमबार, भदौ ३० २०७६
काठमाडौं ०२:०२
वासिङटन डिसी 16:17

टी-२० सिरिज : मलेसियाविरुद्ध नेपालको ‘क्लिन स्वीप’

इनेप्लिज २०७६ असार २९ गते ९:३५ मा प्रकाशित

काठमाडाैँ, २९ असार । नेपालले मलेसियाविरुद्धको २ खेलको टी-२० सिरिज ‘क्लिन स्वीप’ गरेको छ। दोस्रो खेलमा मलेसियालाई हराउँदै नेपालले सिरिज ‘क्लिन स्वीप’ गरेको हो ।

आइतबार क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको दोस्रो खेलमा नेपालले मलेसियलाई ६ रनले हराएर दुवै खेल जितेको हो । यसअघि नेपालले शनिबार भएको पहिलो टी-२० खेलमा मलेसियलाई ७ विकेटले हराएको थियो।

आइतबार नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेटको क्षतिमा १६७ रन मात्र जोड्न सक्यो । मलेसियाकालागि शैयद अजीजले सर्वाधिक ५० रन बनाए ।  उनले ३७ बलमा ७ चौका र १ छक्का हिर्काए। अर्का ओपनर विरन्दीप सिंहले २३ रन जोडे ।

अन्तिम ओभरमा जितका लागि १६ रन चाहिएको मलेसियाको ३ विकेट बचेको थियो । तर, नेपालका अभिनास बोहराले अन्तिम ओभरमा ७ रन मात्र दिँदा मलेसियाले सिरिज बराबरी गर्ने मौका गुमायो।

अजिज र सिंहबीच पहिलो विकेटका लागि ७१ रनको साझेदारी हुँदा नेपाल दबाबमा परेको थियो । तर दशौं ओभरमा नेपालका अभिनासले अजिजलाई आउट गरेका थिए । मलेसियाका लागि अमिमुद्दीन रामले ११ बलमा ३ छक्काको मद्दतमा २४ रन बनाए । मोहमद साहददले नटआउट २१ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन ।

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिए ।  करण केसी, पारस खड्का र अबिनाश बोहराले समान एक एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको नेपालले मलेसियासामु १७४ रनको लक्ष्य प्रस्तुत गरेको थियो  ।

नेपालका लागि मध्यक्रमका ब्याट्सम्यान विनोद भण्डारीले अर्धशतक प्रहार गरे । उनले नटआउट ५१ रन जोडे । विनोदले २५ बलमा ३ चौका र ५ छक्का हिर्काए। यो सँगै विनोद टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने चौंथो खेलाडी बनेका छन्  । यसअघि नेपालका कप्तान पारस खड्का, सन्दीप जोरा र सुबास खकुरेलले अर्धशतक बनाएका छन् ।

शरद भेषावकरले ४० रनको योगदान दिए। उनले २८ बलमा ४ चौका र २ छक्का प्रहार गरे। ओपनर तथा कप्तान पारस खड्काले २३ रन जोडे ।उनले १९ बलमा समान २-२ चौका र छक्का हिर्काए। अर्का ओपनर पवन सर्राफ भने १० रनमै आउट भए । उनले ११ बलमा २ चौका हिर्काए ।

ज्ञानेन्द्र मल्ल ३ बलमा ७ रनमा आउट भए । यस्तै, रोहित कुमार पौडेलले २३ बलमा १९ रन बटुले । करण केसी १० बलमा १६ रन जोडेर आउट भए । उनले १ चौका र १ छक्का हिर्काए।

बलिङमा मलेसियाका फित्री सामले ३ विकेट लिए । उनले ३ ओभरमा २६ रन खर्चिए। आगामी साउन ६ देखि सिंगापुरमा हुने आइसिसी टी-२० विश्ववकप एसिया छनोट प्रतियोगिताको तयारीका लागि नेपालले मलेसियासँग २ खेलको टी-२० सिरिज खेलेको हो ।

आईसीसीबाट टी–ट्वान्टी अन्तराष्ट्रिय मान्यता प्राप्त गरेपछि नेपाललले पहिलो पटक युईएविरुद्वको सिरिज २–१ ले जितेको थियो ।

प्रतिक्रिया