बाढी, पहिरोमा मृत्यु हुनेको संख्या ५० पुग्याे , ३५ वेपत्ता

इनेप्लिज २०७६ असार २९ गते ९:१९ मा प्रकाशित

काठमाडौं, असार २९ गते । अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी आइतबार दिउँसोसम्म ५० जनाको मृत्यु भएको छ । उक्त बाढी पहिरोमा परी काठमाडौंमा तीन जना, ललितपुरमा र भोजपुरमा पाँच÷पाँच जना, ओखलढुङ्गामा चार जना, मकवानपुर, खोटाङ, काभ्रे र सिन्धुलीमा तीन÷तीन जना, धादिङ, झापा, बारा, धनुषा र डोल्पामा दुई÷दुई जना को मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ

यस्तै ईलाम, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, रामेछाप, चितवन, पाल्पा र दाङमा एक÷एक जना गरी जम्मा ५० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये २२ जना महिला २८ जना पुरुष रहेका छन् ।

एक हजार १०४ को उद्धार

बाढी पहिरोमा परेका काठमाडौंमा १८५ जना, ललितपुरमा आठ , उदयपुर १० , रौतहटमा दुई सय, महोत्तरीमा पाँच सय , सिराहामा दुई , सर्लाहीमा एक सय जना, सप्तरीमा २५ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पु¥याइएको छ । यस्तै सिन्धुलीमा ७० तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा एक÷एक जना गरी जम्मा एक हजार १०४ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

३५ जना वेपत्ता

बाढी पहिरोमा परी डोल्पामा ११ जना, सिन्धुलीमा छ जना, ईलाम र मोरङमा तीन÷तीन जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, सिराहा, धनुषा, र धादिङमा एक÷एक जना गरी ३५ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

कुल २५ घाइते

यस्तै मकवानपुरमा चार जना, ललितपुर र धनकुटामा तीन÷तीन जना, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा दुई÷दुई जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, रामेछाप, धादिङ, दोलखा र चितवन एक÷एक जना गरी जम्मा २५ जना घाइते भएका छन् । घाइतेमध्ये १० महिला र १५ पुरुष रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट प्रभावित स्थानहरूमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक लगायतका प्रहरी कर्मचारी उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् ।

प्रतिक्रिया