आखिर छोरो कस्को ?

इनेप्लिज २०७६ असार २८ गते १२:४६ मा प्रकाशित

सरिता अर्याल : साठीको दशक पार गरिसकेपछि मीना सात समुन्द्र पारी विदेश आइपुगेकी हुन् । आज उनी पाताल नगरी अमेरिका आएको प्नि एक महिना बितिसकेछ । अमेरिका आएको भोलिपल्टदेखि नै घरी गगन चुम्बी महलहरूको मुनि हिँडेर होस् या हावासित दगुर्ने रेल चढेर दिन घुम्दैमा बितिरहेका थिए । अनि त एक महिना कत्ति चाँडो बित्यो उनले पत्तो नै पाइनन् । चौबिस घन्टे घडीको सुइ भन्दा छिट्टो बित्यो महिनाको सुइ ।

आज आएर उनको मन अस्थीर भएको छ । अमेरिकाको चहलपहल बाट उनको मनमस्तीष्क नै बाहिरिएर आफ्नै जन्मभुमी, कर्मभुमी तिर डोरिएकी छन् । अहिले उनको आँखामा बिवाह पश्चात पुगेको गाउँ, त्यै गाउँको सानो फुसको घर घुमिरहेको छ । बातानुकुलीन घर भित्र उनलाई उकुस मुकुस भयो । मुसदानी भित्र पुगेको मुसा जस्तो छटपटिइन उनी । फुत्त निस्कीइन घर बाट र लागीन् गन्तव्य बिहिन यात्रामा ।

घर बाट धेरै पर पगेपछि के लाग्यो लागिन छेउकै पार्क भित्र । बिचमा केटाकेटी खेल्ने चउर र फलामका खेल्ने सामानहरु छन् । चारैतिर छेउछेउ ठूलठूला रुख छन् रुखका मुनी लाइनै हरियै रङ्गलगाएका फलामका बेञ्चहरु छन् । एउटा खाली बेन्चमा बसीन् तर दिमाग त्यो ठाउमा छदैछैन् । धेरैवर्ष पहिले सालको पात टपरी गासेर भन्दै जङ्गलै थर्काउने गरी गीत गाएको सम्झीइन् । घरधन्धा र घाँस दाउरामै जीवनका उकालीओरालीका छ दशक पूरा गरुन्जेलसम्म पनि उनले सोचेकी पनि थिइनन् होला कि उनी जस्ती अनपढ महिला एक दिन अमेरिकाजस्तो विकसित देशमा पुग्नेछिन् । आपूmभन्दा चौध वर्ष जेठा वृद्ध श्रीमान्को साथमा अमेरिका आइपुगेकी हुन् । पति परमेश्वर मान्ने संस्कारमा बाँचेकी उनको लागि पनि पति साँच्चैकै परमेश्वर नै थिए । उहाको खुट्टाको जल खाँदै उहाकै काखमा मर्न पाइयोस भन्दै भगवानको अगाडि धेरै पल्ट प्राथना गरिसकेकी थिइन् । पतिको सेवामा कुनै कसर छोडेकी थिइनन् । आफैं बूढी भैसके पनि श्रीमान्को सेवा गरे स्वर्ग पुगिन्छ भन्ने मान्यतामा बाँचेकी उनले उन्नाइस घन्टा लामो हवाइजहाजको यात्रामा श्रीमानलाई केही असजिलो पो भएको छ कि भन्दै सोध्दै अमेरिका ल्याइ पुर्याएकी थिईन ।

पुरुष प्रधान समाजको प्रतिनिधित्वगर्ने श्रीमान् अमेरिका आउनासाथ छोरालाई सुनाउँदै थिए “तेरी आमाले प्लेन देखेकी थिइन, त्यसैले यसलाई सम्झाउँदै बुझाउँदै लिएर आउनुपर्यो ।” उनले छोराको अगाडि मुस्कुराएर बाबुको समर्थन जनाएकी थिईन ।

आज मीना र उनको श्रीमान् राधेश्यामको अमेरिका आएको मतलब पूरा हुने दिन थियो । त्यसै हेतु उनीहरूलाई छोरासँगै कतै जानुथियो । “खाना खानेगरी बाहिर जानुपर्छ, तयार भएर बस्नु ल ।” यसो भनेर छोरो बिहानै घरबाट निस्केको थियो । चिया खानासाथ राधेश्यामले सूटबूट कसिसकेका थिए । मीना भने पूजापाठमै थिईन । बूढा बेलाबेलामा हकार्दै थिए“ किन ढिला गरेकी ?छोरो आउनासाथ खानेगरि बाहिर जानु छ भनेको सुनिनस ?” बिस्तारै उनी पनि तयार भईन्। बूढाले चार वर्ष पहिले ल्याइदिएको सारी लगाउँदै मस्किरहेकी थिईन् । यो चार बर्षमा दोस्रोपल्ट उनी त्यो सारी लगाउँदै थिइन् । पहिलोपल्ट भान्जीको विवाहमा यो सारी लगाएको सम्झना छ उनलाई । छोरो आयो । तीनै जना बाटो लागे । बूढालाई थाहा हँुदो हो, तर उनलाई कत्ति पनि थाहा थिएन, उनीहरू कता जादैछन् भन्ने । छोरो गाडी चलाउँदै थियो भने बूढा उसको छेउमा बसेका थिए । एउटा दुईतले घर अगाडि गाडी रोकियो । बाहिर वाट हेर्दा पुरानोपुरानोजस्तो देखिने त्यो घर त ओहो भित्र पसेपछि त के हो, के हो ! मीनाले आफ्नो जीवनमै देखेकी थिइनन् त्यस्तो घर । सिलि¨मा अनेक थरीका बत्ती झुन्डिएका छन् । तल सूटबूटमा सजिएका गोरागोरी मात्र छन् । दुईजना इन्डियनजस्ता देखिने मानिस र उनीहरू तीनजनाबाहेक त्यहाँ अरू सबै गोरे र गोरी मात्र । कुर्सी पनि कस्ता हुन् कस्ता ! राजामहाराजा बस्ने जस्ता । ठाउँठाउँमा पूmलका बुट्टा बनाएर सजाइएका छन् । कस्तो राम्रो फूलैफूलले सजाएको कोठा । ती दुई बूढाबूढीलाई छोराले एक छेउको कुर्सीमा लगेर बसायो । उनीहरू बसेर रमिता हेरिरहेका थिए । केहीवेरमा कस्ताकस्ता लुगा र टोपी लगाएका मानिस कोठामा पसे । बसेका सबैले उठेर ताली बजाएर उनीहरूको स्वागत गरे । मीना र राधेश्यामले पनि जानी नजानी अरूको सिको गरे । त्यो कोठाको छेउमा गाउँमा नाचगान हुँदा बनाइने जस्तै सानो स्टेज पनि थियो । नौलो भेषभुषामा आएका सबै गएर त्यहीँ स्टेजमा राखिएका कुर्सीमा गएर बसे ।

एकएक गर्दै गोरेगोरीले केके बोले मीनाले केही बुझिन तर जसले बुझे घरीघरी हाँस्थे पनि, अरूबेला सबै मौन हुन्थे । मीनालाई दिक्क लागिरहेको थियो । उनको छोरालाई पनि स्टेजमा बोलाए र केके दिए उनीहरूले । छोराले पनि माइक समाएर बोल्यो तर गाईखाने भाषा मीनाले कत्ति पनि बुझिनन् । जसोतसो त्यहाँको काम सकेर उनीहरू घर फर्किए । दुई घण्टाजति घरमा आराम गरे पछि फेरि सबै लागे घर बाहिर । “अब कहाँ जाने बाबु ?” मीनाले छोरालाई सोधीन् । “भोज खान,” छोटो जवाफ दियो छोराले । बिहानको भन्दा अहिलेको ठाउँ मीनालाई राम्रो लाग्यो । किनकि त्यहाँ नेपाली बोल्ने मानिसहरू पनि थिए । छोराका साथीहरू र मास्टरहरूले भोज खुवाएका रहेछन् । मीनाले त्यहाँ पुगेर मात्र थाहा पाईन उनको छोरा बिरामी जाँच्ने डाक्टर होइन, अर्को के डाक्टर भयो रे । उसले अमेरिकामा सबैभन्दा राम्रो रिजल्ट ल्याएको रे ! त्यसेैको खुसीमा भोज खुवाएका रहेछन् । त्यहाँ छोराका साथीहरूले बूढाबूढीलाई भनेका थिए “तपाईंंहरू कत्ति भाग्यमानी बाबुआमा, छोराले आज यहाँ आएर पनि यत्रो पुरुषार्थ गर्यो ।” छोराका साथीहरूले बूढाबूढीको छेउमा आएर त्यत्ति के भनेका थिए, राधेश्यामले छाती फुलाउँदै भने “आखिर छोरो कसको ?”

श्रीमान्को त्यै एक वाक्यले गर्दा आज मिनाकको मन छटपटिएको छ । साँझ घर्किए पछि उनी घर फर्किइन् । खाना खान मन लागेन । रात धेरै बितिसके पनि मीनालाई निद्रा परेको छैन । अतीतका पानाहरू एकएक गरेर उनकोे दिमागमा पल्टिरहेका छन् ।

माइती तराई हो मीनाको । उनको विवाह १२ वर्ष पनि नपुग्दै भएको थियो । छोरी रजस्वला नभई कन्यादान गरिदिए सिधै स्वर्ग पुगिन्छ भन्ने मान्यताले त्यो समयमा तराईका सबैजसो जिल्लालाई गाँजेको थियो । यसैअनुरूप बूढाबूढी भएका मीनाका हजुरबुबा र हजुरआमाको करले पढ्नुपर्ने बालउमेरमा उनको विवाह भएको थियो ।

एक दिन इन्डियाको ट्रेन र दुई दिन बयलगाडाको यात्रा पछि मीना पुगेकी थिईन दुलाहाको घरमा भित्रिन । नयाँ गाउँ, नौला मानिस, बिचरी मीनाको त सातो नै उडेको थियो । दुलहाको घरमा पुगेपछि पनि जन्मघरमा जसरी विवाहको कार्यक्रम भएको थियो, त्यस्तै कार्यक्रम भयो । थकाइले गर्दा मीनालाई त्यो वैवाहिक कार्यक्रम अत्यासलाग्दो लागिरहेको थियो । उनकी आमाले बेहुलीलाई बिदा गर्नेबेलामा भन्नुभएको थियो— “जे भने पनि केही नबोली टुपुटुपु काम गर्नु है ।” आमाको त्यै आदेशको पालन मीना सकी नसकी गरिरहेकी थिईन । एउटा फ्रकमा उफ्रीउफ्री दिन बिताउने मीनाको शरीरले थेग्न नसक्ने सारी, चोलो र खास्टो बोक्नुपरेको थियो । रात पर्यो कि उनी थकाइ र निद्राले सुत्न चाहन्थीन् । तर मीना त त्यहाँ नयाँ दुलही रे, कहाँ सुत्न पाउनु र । एघार बजेतिर बल्लबल्ल नन्द र देवरहरूसित उनले सुत्ने अनुमति पाईन । त्यो रात उनलाई कस्तो निद्रा लागेको थियो— मीना बेलाबेलामा विवाहको कुरा उठ्यो भने अझ पनि सम्झन्छिन् । मस्त निद्रा लागेको भए तापनि बिहान चार पनि नबजी जेठानीले उठाएकी थिइन् । उनी त सुत्न चाहन्थिन् तर आमाको आदेश । आमाले रुँदै दिएको आदेश सम्झेर बिचरी लामो हाइ गर्दै लागीन जेठानीको पछिपछि । बिहानको नित्यकर्म सकेर मीनालाई भान्सामा उकालियो बहुभतेरका लागि । मीना पहिलोपल्ट चुल्होको छेउमा पुगेकी थिईन । आफुभन्दा ठूला देखिने भाँडाहरू चुल्होमा थिए । बहुभतेर उनैले पकाउनुपर्ने रे । दालभात पकाउन त परै जाओस्, उनले त चलाउने पन्यूँ पनि उचाल्न सकिनन् । उनलाई चुल्होमा चढाउने विधि पुर्याउनका लागि उनले पन्यूँ त चलाउनै पर्ने । धन्य, जेठानीले साथ दिएर उनले भात–दाल चलाएकी थिईन् । सासूहरू छेउमा बसेर मुसुमुसु हाँस्दै हेरिरहेका थिए । जति कठिन भएपनि त्यो विधिले मीनालाई पूरा बाहुनी बनाइदियो ।

दुईदिन पछि दुलही फर्काउने नियमअनुसार उनी माइत गईन् । माइत जाँदा बाटामा बेलाबेलामा श्रीमान्तिर हेर्दा उनकोे श्रीमान् पनि उनीतिरै हेरिरहेका हुन्थे । राधेश्यामले उनीसित बोल्न खोजेकी हो कि भन्ने लाग्दथ्यो । तर उनी डरले लोकन्तीको सारी नै समाइरहेकी हुन्थीन् । बिचरी बोलुन पनि के ? उनका लागि राधेश्याम पराई मानिस त थियो त्यो बेला । उनलाई के थाहा राधेश्याम उनको लागि के हो ?

माइतमा दुई दिन बसेर बेहुलाबेहुली फेरि घर फर्किए । एक्काइसवटा बाँसका चोयालाई हरिया, राता र सेता रंगमा रंगाइएका सखारीमा केके मिठाईहरू राखिएका थिए । तीनवटा बाकसमा आदरणीयहरुलाई नया बुहारीले ढोग्ने लुगाहरू थिए । सबै लुगा उनकी आमाले लोकन्तीलाई एकएक गरी कुन कसका लागि भनेर सम्झाईसम्झाई राखेकी उनले पनि देखेकी थिईन् । घरमा आएर उनले ल्याएको सखारीहरू घरभित्र पनि हुल्न दिएनन् सासूससुराले । सबै आँगनमै राखे । ल्याएको कपडा, खामबन्दी पैसा र मसला राख्दै लोकन्तीले सिकाएअनुसार उनले सबैलाई ढोगीन । ढोग्ने कार्यक्रम सकिँदै थियो घरभरि मानिसहरू आए । गाउँ नै उल्टेर आएजस्तो । सासूले सबै सखारीका बिर्का खोलिदिइन् । सबैले घुमीघुमी कोसेली हेरे । कोही फर्किए भने कसैले केही कोसेली त्यहीँ खाए पनि । दुईतीन दिनसम्म कोसेली, खाममा पैसा र मसला लिएर सासूले उनलाई पूरै गाउँ डुलाएर ढोग्ने काम गराइन् । सासूहरूको गोडामा निहुरिएर ढोगेपछि भयो नभनुन्जेल उठ्न नहुने । उफ्, कस्तो चलन निहुरिँदानिहुरिँदा त उनकोे ढाड नै दुखिसकेको थियो । दुईतीन ठाउँमा त आफ्नै सारीमा अल्झिएर लडीन पनि बिचरी । आखिर बालख नै त थिइन उनी ।

त्यो समयमा तराईका अधिकांश पुरुष पढ्नका लागि इन्डिया जाने गर्दथे । राधेश्यामको पनि पढाइ सकिएको थिएन । हप्ता दिन घरमा बसेर ऊ पनि लाग्यो इन्डियातिर । अब मीनाको सासूससुरा, जेठाजुजेठानी, नन्ददेवरहरूको सेवा गर्दै दिनहरू कट्न थाले ।

मीनाका दाजु तीजमा बहिनी लिन आए । दाजुलाई देखेपछि मिनाको खुशीको सिमा रहेन् । तिजकी चेली बनेर माइत जान पाउने भए भनेर मख्ख परेकी थिइन् उनी । तर बाटामा पर्ने खोलाहरुमा बाढी आएको छ भन्ने निहुँ पारेर उनलाई सासूससुराले माइत जान दिएनन् । दंसैमा छोरो आउँछ अनि ज्वाइँबैनी दुवै सँगै आउँछन् भनेर दाजुलाई फर्काए । माइत आमाको काख होइन खुट्टा ठटाउँदै आफ्नो मनमा लागेको कुरा पुरागराएरै छोडन मिल्ने । बुहारी मान्छे बोल्न मिलेन रुँदै बस्नुबाहेक कुनै उपाय नै भएन् ।

राधेश्याम, जसका बारेमा मिनालाई कुनै मतलब थिएन, उसकोे दीर्घायुको कामना गरेर जीन्दगीको पहिलोपल्ट भोकै, प्यासै तीजको व्रत पनि बस्नुप¥यो । भोक र प्यासले तड्पिएको सबै दोष श्रीमान्लाई नै दिदै मनमनमा सराप्न पुग्दथीन् । भोकैले गर्दा होला मीनालाई श्रीमान् दुश्मन नै जस्तो लागिरहेको थियो त्यो बेला । जसको कारणले उनले नचाहिने नचाहिने दुःख पाइरहेकी थिईन । तर पनि उनी राधेश्यामको बाटो हेर्दै आउने दिन गनेर बस्न थालेकी थिइर्न, कारण थियो— माइत जाने ।

राधेश्याम आए । घरका सबै खुशी भए मिनापनि खुशी भईन् तर घरका अरु र मिना खुशी हुनुको अर्थ फरक फरक थियो । राधेश्यामलाई मीनाले देख्न पनि पाएकी थिइनन् । “भाउजु भाउजु दाजु आउनुभयो बाहिर बैठकामा बुबाहरूसित हुनुहुन्छ ।” भान्सामा खाना पकाउँदै गरेको ठाउँमै आएर नन्दले सास फूलाउँदै खबर गरेर हावा जस्तै फुत्त बाहिरिएकी थिईन् । दुई दिनसम्म भान्सामा खाना खान आउँदाबाहेक मीनाले राधेश्यामको अनुहार पनि देख्न पाएकी थिइनन् ।

बल्लबल्ल दशँै आयो, उनी पनि आफ्नो जन्मस्थलो आइपुगीन् । धेरै महिनापछि माइत आइपुगेकोमा उनकोे खुसीको सीमा रहेन । आमालाई भेट्नासाथ उनी किन हो किन बेस्कन रोईन् । तिहारसम्मलाई मीनालाई माइतमा छोडेर राधेश्याम घर फर्किए । विवाह भएको सात आठ महिना बितिसक्दा पनि मीना श्रीमान्सित एक शब्द पनि बोलेकी थिइनन् । बोल्दै नबोलेको मानिस सित माया गासिने त कुरै भएन् । उनी, श्रीमान् फर्किएपछि त झन् खुसी भएकी थिईन । तिहार सकिएपछि मीनाका दाजुले उनलाई फेरि घर पु¥याइदिए । उनी घर पुग्दा राधेश्याम पनि घरमै रहेछन् । ढोगभेट पछि कपडा फेरेर उनी लागीन् जेठानीको पछिपछि भान्सातिर । बहिनी पुर्याउन गएका दाजु भोलिपल्ट बिहानै फर्किए ।

दिउँसो, जेठानीले मीनालाई उनको कोठामा बोलाइन् । मीना जेठानीको कोठामा पुग्दा राधेश्याम पनि त्यहीँ रहेछन् । चिया बनाएर ल्याउछु भन्दै दुईलाई मात्र कोठामा छोडेर जेठानी बाहिर निस्किइन् ।

“मीनू, तिमी यो घरमा खुशी छैनौ हो ?” मीनासँग श्रीमान्ले सोधेको त्यो प्रश्न श्रीमान् श्रीमतीको पहिलो गफको शुरुवात थियो । राधेश्यामको आवाज सुनेपछि उनकोे जीउ थरर्र काम्यो । त्यै पनि बल्लबल्ल काम्दै उनले भनीन् “किन र ?”
“दशैमा आमालाई भेट्नासाथ बेस्कन रोयौ । आज पनि दाजु गएपछि घर पछाडि गएर रोएको देखे अनि सोधेको ।” राधेश्यामले यत्ति के भनेका थिए मिना फेरी रुन थालीन् ।

“मलाई त मेरै घर राम्रो, यहाँ बस्नै मन लाग्दैन । तर मैले यहीँ बस्नुपर्छ रे । आमाले भन्नुभएको ।” “किन तिमीलाई यहाँ कसैले माया गरेन र ?” राधेश्यामले मिनाको टाउको उठाउँदै सोधे ।

“त्यो त होइन । तर म भात चलाउन सक्दिनँ । बिहान मलाई पनि धेरैबेरसम्म सुत्न मन लाग्छ । तर म सुत्न पाउँदिन । मलाई पनि नन्द देवरसित खेल्न मन लाग्छ बुहारीले खेल्नु हुन्न रे । यहाँको चलनमा, मैले खेल्नु हुन्न रे, दिदीले भन्नुभएको । त्यसैले मलाई त मेरो घर नै राम्रो । ” “मैले तिमीसित खेले भने खेल्छ्यौ ?”

मीनाको कम्पन बिस्तारै हराउँदै गयो । जेठानीबाहेक पहिलोपल्ट उनलाई उनकै बारेमा, उनकोे चाहनाका बारेमा, उनकोे खुसी केमा छ भनेर कसैले उनैलाई सोधेको थियो । अब उनी राधेश्यामसित अलि खुलेर कुरा गर्न थालेकी थिईन् ।

“हजुर त पढ्न गइसिन्छ, मसित कसरी खेल्ने ?” चार आँखा जुँधाउदै मिनाले सोधीन्
“म यहाँ बसुन्जेल आजको जस्तै भाउजूलाई भनेर मिलाउँछु अनि हामी खेलौला हुन्न ?”

मीनाभन्दा उनकोे श्रीमान् चौध वर्ष जेठा थिए । तर पनि मीनाकोे खुसीका लागि हो या उनकोे नजिक आउने चाहनाले हो राधेश्याम पनि सधँै दिउँसो मीनासित गटट खेल्न थाले । जो मीनाका लागि दुश्मन बराबर थिए, उही अहिले उनकोे मिल्ने साथी भएको महसुस हुन थालेको थियो मीनालाई । त्यैबेला मीना रजस्वला पनि भईन् । राधेश्याम पनि फेरि पढ्नका लागि लागे इन्डियातिर । मीनाको खेल्ने र बोल्ने साथी हराएकाले उनी फेरि ओइलाईन केही दिन । दिन त हो बितीरहेका थिए, मिना बिस्तारै केटीबाट युवती बन्दै गएकी थिईन् ।

उनका सासूससुरा खेतीको घरमै हुनुहुन्थ्यो । त्यैबेला जाडोको छुट्टीमा राधेश्याम फेरि घर आइपुगे । यो पल्ट राधेश्याम आएको खबरले मिनालाई खुसी बनाएको थियो । राधेश्यामसँग आँखा जुध्नासाथ मीना अनायस नै मुस्कुराउन पुग्दथीन् । राधेश्याम आएको दिन ती दुईबीच बोलचाल पनि हुन पाएन् । भोलिपल्ट बिहानै राधेश्याम लागे खेतीतिर बुबाआमालाई भेट्न । तीन दिनपछि खेतीबाट बुबालाई लिँदै राधेश्याम फर्किए । बजारको काम सकेर ससुरा राती नै खेतीतिर लागे । एकदिन घरको काम सकेर उनी जेठानीको कोठामा गएकी थिईन । जेठानी बाछालाई घाँस हालिदिनुप¥यो भनेर हँसिया लिएर करेसाबारीतिर लागेकी उनले देखेकी थिईन । त्यही मौका पारेर उनी राधेश्यामलाई खोज्दै जेठानीको कोठामा पुगेकी थिईन । राधेश्याम त्यहाँ एक्लै किताब पढेर बसिरहेका थिए । उनी पनि शायद मीनाकै बाटो हेरिरहेका थिएहोलान । मीनालाई देख्नासाथ राधेश्याम मुस्कुराए । मीनालाई कताकता काउकुती लागेजस्तो भयो । राधेश्यामले मीनाको हात समाएर सोधे “मेरो सम्झना आयो ?” मीनाले केही जवाफ दिन सकिनन् । मुस्कुराएर मात्र बसीन । राधेश्यामले यताउता हेर्दै उनकोे गालामा च्वाप्प म्वाइँ खाएर हाँस्दै बाहिर निस्किए । राधेश्यामको यो अप्रत्यासित हरकतले उनी अत्तालिईन ।

जेठानीले केही दिन पहिले उनीसित भनेकी थिइन्— “बहिनी म दुई जीउकी भएकी छु, तिमी पनि पछि दुई जीउकी हुन्छ्यौ, जब बाबूले तिमीलाई पनि माया गरेर म्वाँइ दिनु हुन्छ” । श्रीमान्को यो क्षणको म्वाइले उनलाई जेठानीको त्यो भनाइको संझना आयो । उनी डराईन कतै म पनि गर्भवती त हुन्न ! अब के गर्नेगर्ने भनेर जेठानी भएको ठाउँ करेसाबारीतिर दौडिईन् । जेठानीलाई अँगालो मारेर उनी रुन थालीन । मीना एक्कासी आएर रोएको देखेर जेठानी पनि आत्तिइन् । लौन के भयो भनेर मीनालाई सोधिन् । धेरैबेर रोएर मीना बोल्नै सकिनन्, बिस्तारै उनले आइ परेको आपत्ति जेठानीलाई सुनाईन । उनकोे कुरा सुनिसकेपछि जेठानी बेस्कन हाँसिन् । पहिलोपल्ट जेठानी त्यस्तरी खुलेर हाँसेको देखीन मीनाले । जेठानीले हाँस्दै भनिन्—

“धत् लाटी म्वाँइले मात्र कहाँ बच्चा जन्मिन्छ र ! यो त मायाको पहिलो सिँढी हो, यस्ता धेरै सिँढी चढ्नुपर्छ बच्चा पेटमा आउन ।” जेठानीको साहित्यिक वाक्य मीनाले पटक्कै बुझिनन् तर उनलाई आपूm गर्भवती छैन भन्ने लाग्यो र ढुक्क भईन् । अर्को दिन दिउँसो फेरि उनकोे र राधेश्यामको भेट भयो ।  “हिजोको मेरो माया कस्तो लाग्यो ? अब गट्टा होइन, यस्तै मायालु खेल खेल्नुपर्छ ल !”

मीनालाई श्रीमान्को त्यो भनाइ रमाइलो र आप्ठ्यारो दुवै लाग्यो । उनले हुन्छहुन्न केही भन्न सकिनन । भोलिपल्टदेखि ती दुईको खेलमा परिवर्तन आउन थाल्यो । मीनाको गालामा म्वाइँ खाएर राधेश्यामले उनकोे शरीरमा हात फेर्दा उनलाई काँउकुती लागे पनि कताकता रमाइलो र आनन्द आउन थालेको थियो । अब ती दुवैजना मौका निकालेर यस्तो खेल खेल्न थालेका थिए । दिउँसो सधँै उनीहरू खेल्ने मौकाको खोजीमा हुन्थे । एकदिन ती दुवै बारीको परालको टालसम्म पुगे । ती दुवै यो खेल धेरैबेरसम्म खेल्न चाहन्थे र जेठानीको कोठामा कुनैबेला पनि कोही आउन सक्ने डर ती दुवैलाई भइरहन्थ्यो । यिनै सब कारण र लामो समयसम्म खेल खेल्ने चहनाले ती दुईलाई परालको टालसम्म पु¥याएको थियो । परालको धेरै टालको बीचमा बस्दा उनीहरूलाई कसैले देख्दैनन् थिए । ती दुवैले परालको टालमा गएको पहिलो दिन नै मायाको अन्तिम खुड्किलो पनि पार गरे । अब त उनीहरू दिनहँु दिउँसो परालको टालमा खेल्न थालेका थिए । परालको टाल नै उनीहरूको सुहागकक्ष बनेको थियो । दुवैका अब रमाइला दिन शुरु भएका थिए । तर खेल खेल्दाखेल्दै राधेश्यामको पढाइमा जाने बेला आइहाल्यो । मिना फेरि एक्लै भईन ।

राधेश्याम इन्डिया लागेपछि यता मिनाको महिनावारी पनि रोकियो । बान्ता हुन थाल्यो । जेठानीले के भयो भनेर सोधेपछि उनले महिनावारी रोकिएको कुरा जेठानीलाई सुनाईन । सासूससुरा दुवै भोलिपल्टै खेतीबाट आउनुभयो । राती घरमा सबैजना एउटा कोठामा बसेर गफ गर्न थाले तर मीनालाई गफ सुन्न नदिएर सुत्न पठाइयो । भोलिपल्ट बिहानै एकजना साथी लगाएर मीनालाई माइत जाने आदेश दिनुभयो सासूले । ससुराले बुबालाई दिनू भनेर एउटा चिठी दिनुभएको थियो । कुनै योजना बिना नै माइत जान भनेको भए तापनि उनलाई कुनै शङ्का भएन । उनले खुसी हँुदै माइत पुगेर त्यो चिठी बुबालाई दिईन । चिठी पढेर माइतमा पनि हजुरबुबा, आमाबुबा, काकाहरूको गोप्य गफ भयो । घरमा पनि गोप्य, माइतमा पनि गोप्य, के भएछ जस्तो उनलाई पनि लाग्यो तर उनले त्यहाँ पनि चासो भने खासै देखाइनन् । बेलुका मीनाका दाजु जागिरबाट आए । दाजु आएपछि फेरी गफ चल्यो बैठकघरमा । त्यसपछि मीनाकी भाउजूले उनलाई आफ्नो कोठामा बोलाएर भन्नुभयो ‘‘नानी, हजुरको पेटमा भएको बच्चा कसको हो ? कसको पाप लिएर आउनुभयो ? कसको पेट बोकेको ?”

ओहो, भाउजूको कुरा सुनेपछि त मीना छाँगाबाट खसेजस्ती भईन । अब बल्ल गोप्य गफको रहस्य खुल्यो । उनले सबै कुरा भाउजूलाई बेलिबिस्तार लगाईन । भाउजूले दाइलाई, दाइले बुवाआमालाई । माइतमा त ज्वाँइकै रहेछ भनेर सन्तोषको सास फेरेको उनले महसुस गरीन् । तर कुरा त घरको थियो । भोलिपल्ट मीनाको ठुलोबुबा, बुबा, काका र दाजु उनकोे घरतिर लागे । बुबाहरू नफर्कुन्जेल माइतमा सबै पीरमा बसेका उनले महसुस गरिरहेकी थिईन । तर उनी निश्चीन्त थिइन किनकी उनले कुनै पाप काम गरेकी थिइनन् । माइतीबाट गएकाहरू उनकोे घरमा पुगेपछि कुरा भएछ । तर घरकाले ‘हामीले बुहारी सानी छ भनेर छोरा बुहारीलाई एउटै कोठा त दिएका थिएनौँ । छोरो बैठक घरमा बाहिर सुत्दथ्यो भने बुहारी नन्द, देवरसित । अनि कसरी हामीले मान्ने यो कुरा । यो कुराको छिनोफानो त छोरालाई नै सोधेपछि हुन्छ । हामी छोरालाई लिन पठाउँछाँै अनि हजुरहरूलाई पनि खबर गरौँला । छोराको कुरा नसुनुन्जेल हामी बुहारी भने भित्राउन्नाँै ।’ मीनाका बुबाहरू यस्तो खबर लिएर फर्कनुभयो । अब माइतीघरमा सबैको अनुहारमा चिन्ताको रेखा बसेको थियो । तर उनी निश्चीन्त थिइन् । उनलाई राधेश्याम प्रति विश्वास थियो ।

मिनालाई माइतमा पनि घरिघरि शङ्काको आँखाले हेरेको देख्दा आफ्नो जन्मघर जहाँ आउन उनी सधैँ लालायित हुन्थीन नबसौँजस्तो लाग्न थालिसकेको थियो । तर उनी कहाँ जाउन र ? तर जे हुनु त भै सकेको थियो, अब उनले पनि श्रीमान्लाई पर्खनुबाहेक अरू कुनै उपाय नै थिएन । बा¥ह दिनपछि घरबाट एकजना मान्छे मीनाको बुबालाई लिन आए । फेरि सबैजना लाग्नुभयो उनकोे घरतिर । एक हप्तापछि गएका सबै फर्कनु भयो । त्यहाँ पञ्चेती बस्यो रे ! सबैले राधेश्यामसित सोधे रे ! तर ढुङ्गो बोल्ला राधेशयाम बोलेन रे । श्रीमान् नबोलेपछि पञ्चेतीले मीनाको पेटमा भएको बच्चा अवैधानिक भनेर निर्णय गरेर बुबाहरूलाई छोरी हजुरहरूलाई नै फिर्ता भनेर फर्काइदिएछन् ।

मीना, बालकमै आमा बन्न गइरहेको थिईन । अब मीनालाई बारम्बार परालको टालको खेल खेलेको मा पछुतो भैरहेको थियो । उनी माइतमा पनि हेलाको पात्र बन्न पुगेकी थिइन् । आमा भाउजु सित धेरै पल्ट रोइन पनि तर उनको आशुलाई अरुको अविश्वासले जित्यो । उनी आफ्नै बाबुआमाका लागि बोझ भएको महसुस गर्दै गएकी थिईन । उनी उछलकुद गर्ने उमेरमा गर्भवती भएकी थिईन भने त्यसमाथि अवैधानिक गर्भको आरोप ! उनलाई त्यो समयमा दिन काट्न ज्यादै कठिन हँुदै गएको थियो । मीनाले भोगेका अनुभवहरू त उनीसित नै मनमा नै गुिम्सएर रहेका थिए । त्यो समयमा उनले कसरी दिन काटीन, त्यो त उनैलाई मात्र थाहा होला ।

आठ महिना मीना सधँैजसो रुँदै माइतमै बसीन । रोएर मात्र पनि दिन काट्न गाह्रो हुने स्थिति अब झन् उनीमाथि आइरहेको थियो । कारण थियो बच्चा जन्मिएपछि बिना बाबुको बच्चाको न्वारन हँुदैन रे । बच्चाको न्वारन नभै त बच्चा–आमा दुवै चोखिन्नन् रे । हरे, उनी माथि यो अर्को पहाडजस्तो के आपत आइरहेको थियो !

अति भए पछि धेरै किसिमका सोचहरू आउँछन्, उनमा पनि आए होलान् । प्रायजसो उनी आफ्नो कोठामै चुपचाप बसेकी हुन्थीन् । कोही छिमेकीहरू आए भने त उनी पहिले नै ढोका भित्रबाट लगाएर बस्दथीन् । उनी घृणाले भरिएको कत्तिको आँखाको सामाना गरुन ? एक दिन उनले के सोचीन— भान्सामा भात पकाइरहेकी भाउजूको सामुन्ने गएर रुँदै भनीन— “भाउजू, दाजुलाई भनेर मेरो भाखाबाट ज्वाइँलाई एउटा चिठी लेखिदिनु भन्नू न” मिनाको कुरा सुनेर भाउजुले दाउरो चुल्होमा ठुस्दै आफूपनि ठूस्सै परेर भनिन् “अब के नै बाँकी छ र चिठिलेख्नु ज्वाइलाई ? के भन्न चाहन्छौ र अबपनि उनलाई ?” घोचपेच सुन्दासुन्दा थिलथिलो भएको मनलाई भाउजुको त्यो भनाइले कत्ति पनि चिन्तीत बनाए्न । उनले आफ्नो मनमा लागेको कुरा भनेर नै छोडिन ‘‘कि त मेरो पेटमा भएको बच्चा मेरो हो भन र न्वारन गर्न आउ , होइन भने म यो बच्चालाई जन्म दिनुभन्दा आत्महत्या गर्छु ।” भाउजुले पुलुक्क मिनाको अनुहारमा हेर्दा दुबैको आँखा जुधे । मिना केही नबोली बाहिरिइन् ।

भाउजूले दाजुलाई केके भन्नु भयो र दाजुले एउटा चिठी दिएर भोलिपल्ट एक जना मानिसलाई मीनाको श्रीमान् भएतिर पठाउनुभयो । अब मिनापनि एउटा झीनो आशा लिएर त्यो मानिस कहिले फर्किएला भन्दै बाटो हेर्न थालेकी थिईन । घरका अरुका लागि त्यो विषयले कुनै चर्चा पाएन तर उनले भने आशा गरिरहेकी थिईन । दस दिन पछि त्यो मानिससितै राधेश्याम पनि आए । राधेश्याम र मीनाका दाजुबीच केके कुरा भयो— राती सुत्न मीनालाई र राधेश्यामलाई दाजुभाउजूको कोठा दिइएको थियो । मीना पहिलोपल्ट खाटमाथि श्रीमान्को नजिक थिईन । जब उनी राधेश्यामकोे सामुन्ने पुगीन, मनमा अनेक कुरा खेले तापनि त्यो समयमा उनी केही बोल्न सकिनन्, रोई मात्र रहीन् । राधेश्यामले पनि धेरैबेरसम्म मीनासित बोल्ने आँट गर्नसकेनन् । धेरै बेरपछि मीनाका आँसु पुछ्दै राधेश्यामले रुन्चे स्वरमा भने— “मलाई माफ गरिदेऊ ।” के को माफ –परालको टालमा खेलेको या पञ्चेतीमा केही नबोलेको ? मनले प्रश्न ग¥यो तर मुखबाट आवाजको नाममा हिक्कहिक्क मात्र निस्कीरेहेको थियो । राधेश्यामको माफी मगाइ किन र के कालागि हो ? मीनाले बुझ्न पनि सकिनन् र सोध्ने आँट पनि उनमा आएन ।

दुईदिन त्यहाँ बसेपछि मीनालाई लिएर राधेश्याम लागे आफ्नो घर तिर । पहिलोपल्ट माइतबाट घर जाँदा मीना हँसिलो अनुहार लिएर जान लागेकी थिईन् । घरमा पुगेपछि राधेश्यामले आफ्नो परिवारका सदस्यहरूसित केके कुरा गरे, त्यो त मीनालाई थाहा भएन । उनी घरमा पस्दा बस्न दिने हुन् कि नदिने हुन् भन्ने चिन्ता गर्दै पसेकी थिईन् । तर सबैले उनलाई खुसीखुसी स्वागत गरे । भोलिपल्ट भान्सामा उनी घिराँैलाको तरकारी काटिरहेकी थिईन जेठानीले चुल्होमा भात पकाइरहेको बेला माया देखाउँदै भनिन्— “देवरको सानो गल्तीले तिमीले धेरै दुःख पायौ । मलाई त तिमीले भनेकी थियौ तर म पञ्चेतीमा गएर बोल्न नमिल्ने बुहारी जो परे । तिम्रा जेठाजु त्यो समयमा घरमा हुनुहुन्नथियो । अनि मैले पनि चुप लागेर बस्नुप¥यो । मैले पनि तिम्रा लागि केही गर्न सकिनँ मलाई पनि माफ गर ल ।” पञ्चेतीमा सबैको अगाडि परालको टालको कुरा गर्न राधेश्यामलाई लाज भयो रे । घरको कुरा बिस्तारै साम्य भैहाल्छ भन्ने लागेर केही नबोली हिँडेका रे । चिठी पढेपछि पो लौ सब बिग्रिन लागेछ भनेर पढाइ छोडेर राधेश्याम सिधै ससुराली पुगेका रहेछन् ।

परीक्षा आइसकेको हुनाले राधेश्याम दुई दिन मात्र घरमा बसेर फेरि लागे इन्डियातिर । अब मीनाका लागि त्यो घरमा पनि केही काम थिएन आराम नै आराम । दिउसो कोठामा पल्टीरहेको बेलामा सासुले अनारका दाना प्लेटमा राखेर ल्याइन र मिनातिर बढाउँदै भनिन् “खाउ , यसले आमा र बच्चा दुबैलाई फाइदा गर्दछ ।” सासु प्लेट राखेर बाहिरिइन । मिनाको अगाडि अतित घुम्न थाल्यो । जतिबेला उनलाई आराम चाहिएको थियो, पोसिलो तथा मीठो खाने कुरा खानु पर्ने बेला थियो, त्यो बेलामा त दुइगाँस भात पनि आँशुको साथमा मुछेर खाइयो । आफ्नै आमाबाबुको लागि पनि कुलच्छिनी भएर बस्नुपरेको थियो । अहिलेको स्याहार सुसारले के पो होला र ? घरका मानिसले गरेको अहिलेको व्यवहारले उनलाई झन् बढी पीडा दिइरहेको थियो । तर उनी आफ्नो रिस कसलाई पोखुन जसले बोल्नु पर्ने थियो उही नबोले पछि घरका परिवारको पनि के दोष ?

केही दिन पछि मीनाको छोरा जन्मियो, सबैले उसकोे अनुहार हेर्दै त्यो बेला पनि भनेका थिए— ‘ओहो ठ्याक्कै बाबुजस्तो ।’ आज त्यै छोरो यहाँ आएर डाक्टर भयो रे । अनि उसका साथीहरूले बधाई दिँदा राधेश्याम भन्दै थिए “आखिर छोरो कसको ?”

“आज मेरो छोरो भनेर नाक ठड्याउने बाबुले पञ्चेतीमा पेटको बच्चा मेरो हो भनेर मात्र बोलिदिएको भए मैले आठ महिना नारकीय जीवन त बिताउनुपर्ने थिएन नि”– मीना मसिनो आवाजमा गुनगुनाईन । तर त्यै आवाजले राधेश्यामलाई निद्राबाट ब्यूँझाइदियो दियो । राधेश्यामले मिनातिर फर्किएर सोधे “के भयो तँलाई, किन नसुतेकी ? धेरै खुसी भएकीले निद्रा परेन कि के हो ? सुत् रात धेरै छिप्पिइसक्यो ”। राधेश्याम यति भन्दै कोल्टे फेरेर घुर्न थाले, घुर्–घुर् ।

प्रतिक्रिया