वास्तविकतामा आधारित कथा संग्रह “तमसुक”:-

इनेप्लिज २०७६ असार २६ गते २३:१४ मा प्रकाशित

आफैँले भोगे व्यहोरेको समय र परिस्थिति सत्य र यथार्थको नगिच हुन्छ र त्यही विषयले पाठकको मन पनि उद्वेलित बनाउँछ । यस्तै पाठकको मनै चोर्ने एउटा कथा पढेर नसकिँदै अर्को पढ्न आतुरता लाग्ने २३ वटा कथाहरु संग्रहित एउटा पुस्तकको नाम हो “तमसुक”।

यी कथाहरुमा बिम्ब र विचारको सामन्जस्य मिलेको छ । पात्र, चरित्र र घटनाक्रम वास्तविक धरातलमा आधारित हुँदा कथाकारको अभिप्राय र संकेत प्रत्येक कथामा सहज तवरले अनुमान गर्न सकिन्छ । बिम्ब र विचार एउटै सूत्रमा गाँसेर प्रस्तुत गर्न सक्ने लेखकको अद्भुत शक्ति यस संग्रहमा छिपाउनै नसकिने किसिमले छर्लङ्गिएको महसुस हुन्छ।

कथा संग्रह प्रकाशन भएको खबर सुनेको हुँ । काठमाण्डौमानै सार्वजनिक भएछ । कथाकार श्रीपदम विश्वकर्मा संयुक्त राज्य अमेरिकामा रहनु हुने भएकाले कतै भेट हुँदा एक प्रति मागेर पढ्ने रहर थियो । म, अमेरिकामा कमाई गर्ने समुहमा नपर्ने हुँदा किनेर पढ्न सक्दिनथेँ । संयोगले नेपाली राष्ट्रिय महाधिवेशनमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको कार्यक्रम बाल्टिमोर, अमेरिकामा भेट भयो र मैले एक प्रति उपहार स्वरुप पाउने अवसर मिल्यो, तर सित्तैमा होइन, पढेर प्रतिकृया दिनु पर्ने ।

अधिकांश कथाहरु गहिरिएर पढेँ, केही सरसरती हेरेँ । कथाहरुले मानव जीवनको विभिन्न समस्या तथा संवेदना अभिव्यक्त गरेका छन् । लेखन शैली र कथाको आत्मा नयाँ पनको पाएँ । यी कथाहरुले चरित्र चित्रण, संवाद, देशकाल र परिस्थिति झल्काउने आवरण पहिरिएका छन्, सुसज्जित छन् । कथाकारले आफ्नै शैलीबाट लेखेर पाठकलाई आकर्षित गरेका छन् जस्मा कथाहरुको आरंभ, मध्य र अन्त सुसंगठित अनि शीर्षक लघु र आकर्षक छन् । यी कथा पढ्दा त्यागको अनौटो मिशाल, युवा समुदायमा जिउँदो उदाहरण, सामाजिक, पारिवारिक र व्यक्तिगत विचारको मिश्रण, कथाको तिलष्मी शुरुवात र एक अभिनव प्रयास पाठकको आँखा भरी आउँछन् ।
मान्छेको जन्मसंगै कथाको पनि जन्म भयो । कथा सबै समाजमा पइन्छ । समुद्री व्यपारी, राजकुमार- राजकुमारीका साहसिक कथा, सौर्य, प्रेम, यात्रा, वैराग्य आदि कथाहरुमा अनेकानेक पात्रहरु पाइन्छन् । त्यस्तै यस संग्रहमा पनि कथाकारले धेरै पात्रहरु खडा गरेका छन्, नेपाली र कुनै विदेशी नामका । कथाहरु कुनै वास्तविक छन् भने कुनै कुनै काल्पनिक तर पौराणिक कथा भने खोज्दा खोज्दै पुस्तक पढिसकेको पत्तै भएन ।

अत्यन्त सहज र सरल भाषाका माध्यममा यो कथा संग्रहले समाजमा जुन यथार्थ उद्घाटन गरेको छ त्यसमा सामाजिक जीवनका विडंवनाहरुको पटाक्षेप भएको छ । मानव विकासको कथानै इतिहास हो । मानवीय संवेगलाई गतिशील बनाउने एउटा माध्यम हो कथा । यसैलाई आधार बनाई कथाकारले भाषा प्रयोग गर्दा जिज्ञाशा, रोचकता, कौतुहल, आकर्षण र विकर्षणको सामन्जस्य मिलाउनुको साथै स्वदेशी तथा विदेशी पात्र छनोटमा बडो सतर्कता अपनाएको महसुस हुन्छ । यस कथा संग्रह पढेर निचोडमा भन्नु परेमा कथाकारिताको दृष्टिले हेर्दा “तमसुक” कथा संग्रहका लेखक श्री पदम विश्वकर्मालाई एक सफल कथाकार हुन भन्न सकिन्छ ।

उनका कथामा जीवनका वास्तविक परिदृश्य देखिन्छ । आँफूले भोगे देखेको कुरा लेखे कथाकारले । “अंगुरको रस” शीर्षक कथामा पारवारिक विछोडको फलस्वरुप चिन्तित मन वहलाउन पुजारीले मादक पदार्थ (अंगुरको रस) सेवनमा आदत लागेको कुरा बडो रोचकतापूर्वक प्रस्तुत गरेका छन् भने “छायाँको भूत ” शीर्षकमा भ्रम तथा बालमनोविज्ञानको यथार्थपरक दृश्य झल्काएका छन् । समसामयिक समस्या, लत तथा पराईलाई छिटो विस्वास गर्दा आफ्नो जीवनमा पर्न गएको कुठाराघात “फेस बुके प्रेम” कथामा अति रोमान्चकताका साथ उपस्थित हुन्छन् लेखक । कथाको नामै उल्लेख गरेर भन्नु पर्दा “तमसुक” एउटा ससक्त मनोविज्ञानमा आधारित कथा हो । गरिबीको विवषताबाट ऋण मुक्त हुँदाको आनन्दित मन । “कर्णेलको छोरा” गलत संगत, प्रशस्त धनले मात्तिनु र राम्रो अभिभावकत्वको कमीले कुलतमा परेको सन्ततिको चिन्ता, “मिठाईमा भुलेको जिन्दगी” मा अल्लारे जवानीमा बहकिएर मातृ स्नेह समेत धरापमा पारेर परस्त्रीको मोहजालमा फसेको ठिटो, “सपनाको देशमा कष्टकर जीवन” जस्ता कथाहरु यस संग्रहका उत्कृ्ष्ट मध्येका कथा हुन् । “अनुराग, प्रेम, वासना र आशक्तिले भरिएका केही कथाहरु पढ्दा जिज्ञासा र वास्तविकताको नगिच पुगेको अनुभव “अधुरो प्रेम” “दुर्घटित सपना”, “बाई बाई अस्मिता” र “सुसुप्त यौन” यस्तै खालका कथाहरु हुन ।
.
यी कथाहरुले मानवीय संवेदना र जीवनको मूल्यलाई एकै ठाउँमा जोडेका छन् । सामाजिक तथा आर्थिक विषमताको साथै जीवनको आधारभूत यथार्थ बडो सरल र सरस भाषामा पाठकको दीललाई स्पर्स हुने गरी सँगालिएका छन् । कथाहरु सजीव र मर्मस्पर्सी छन । खाडी बसाइको मूल्य, कुलतले भत्काएको घर,
र पीडामय दाम्पत्य जीवन पठनीय कथाहरु हुन भने आइका, हुनेवाला ज्वाइँ, किड्स ड्याड, रक्सीमा डुबेको जीवन, जोन, जेसिका र जेकव, तथा कथित बुद्धिजीवीको सोच, जेम्स होम, सेन्चुरी ट्वाण्टी फष्ट र प्रतिज्ञा फरक फरक परिवेशमा आधारित सामाजिक कथा हुन् ।

यस संग्रहका कुनै कथाले पाठकलाई बेस्सरी रुवाउँछ भने कुनै कुनैले खित्का छोडेर हाँस्न वाद्ध्य बनाउँछ । भाषाको प्रयोग र संवाद आकर्षक लाग्दछन् । पात्रहरुको चरित्र हेर्ने दृष्टि आआफ्नो हुन्छ । सरल र गाउँले भाषाले कथासंग्रहलाई भरपूर खुराक दिएको जस्तो लाग्दछ । कल्पनाशीलता र सृजनात्मक कौशलले
परिपूर्ण यो कथा संग्रह रोचक विषयहरुको समष्टिगत रुप हो । यसका लेखक केवल कथाकार मात्र होइनन्, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अभियन्ता पनि हुन्, संगठक हुन्, सहभागिताको हिसावले विश्व यात्री पनि हुन् । उनसंग यात्रा गर्ने साथी मध्ये एउटा कथा पनि हो, कहिल्यै एक्लै हुँदैनन् उनी । अन्तमा
म संपूर्ण पाठकसंग यो आग्रह गर्न चाहन्छु कि नेपाली साहित्यमा गरिएको यस प्रकारको महत्वपूर्ण र सार्थक प्रयास अवश्य पढ्नु हुनेछ ।

पुस्तक-तमसुक।
विधा—कथा संग्रह।
लेखक-पदम विश्वकर्मा।
प्रकाशक-शिखा बुक्स।
मूल्य—रू३००, विदेशमा युएसडी१०।
पाना–२२७।
“तमसुक”को पाठक-तीर्थराज अधिकारी,
लम्जुङ्ग-पोखरा (हाल अमेरिका)।

प्रतिक्रिया