बिहीबार, साउन २ २०७६
काठमाडौं २३:५४
वासिङटन डिसी 14:09

रूसी भाषामा ‘नेपालका पुराकथा र किम्बदन्ती’ ग्रन्थको लोकार्पण कृष्णप्रकाश श्रेष्ठ

इनेप्लिज २०७६ असार २५ गते १०:४८ मा प्रकाशित

रूसी भाषामा यसै पंक्तिकार (कृष्णप्रकाश श्रेष्ठ) द्वारा लिखित ग्रन्थ ‘नेपालका पुराकथा र किम्बदन्ती’ रूस विज्ञान प्रज्ञाप्रतिष्ठानअन्तर्गत प्राच्यविद्या संस्थानबाट प्रकशित भएको सुसमाचार आफ्ना देशवासीहरूलाई सूचित गर्न पाउँदा अपार हर्ष लागेको छ ।

आकर्षक मोटो गाताको अग्रपृष्ठमा ज्योतिद्योतक रातो पृष्ठभूमिसहित तमनाशक खड्गधारी बोधिसत्व मञ्जुश्रीको स्वर्णमय तस्बीरमुन्तिर रूसी अक्षरमा ‘नेपालका पुराकथा र किम्बदन्ती’ (विभिन्न स्रोतहरूमा आधारित वर्णन) शीर्षक र त्यसमुनि ग्रन्थकारको नाम ‘कृष्णप्रकाश श्रेष्ठ’ अङ्कित छ भने पृच्छपृष्ठमा ग्रन्थलेखककी कुलदेवी तानाद्यः अर्थात् काठमाडौंको केन्द्रमै तानाबहालमा अवस्थित तारिणीदेवीको प्राचीन मन्दिरको प्रवेशद्वारको छायाचित्र दिइएको छ । यस्तो आकर्षक गाताभित्र ६९६ पृष्ठमा नेपाली एवं नेवारी भाषामा प्रकाशित र अप्रकाशित समेत गरी विभिन्न स्रोतबाट संकलित नेपाली पुराकथा र किम्बदन्तीलाई आधार तुल्याएर रूसी भाषामा आफ्नै शब्दमा वर्णित २२६ वटा पुराकथा र किम्बदन्तीहरू तीन खण्डमा विभाजित गरेर अभिलेख गरिएका छन् । लेखकद्वारा धेरै वर्ष लगाएर तयार पारिएको यो ग्रन्थ रूस विज्ञान प्रज्ञा-प्रतिष्ठान प्राच्यविद्या संस्थानको २००-यौं वाषिर्कोत्सवको उपलक्षमा यसै अनुसन्धानमूलक संस्थान अन्तर्गतको ‘प्राच्यविद्या’ प्रकाशनालयबाट भर्खरै प्रकाशमा ल्याइएको छ ।

यस ग्रन्थभित्र तीन खण्डअन्तर्गत २१ अध्यायहरूमा के-कस्तो सामग्री समेटिएको छ भन्ने विषयमा पुस्तकको पुछारमा अंग्रेजीमा ‘पुस्तक-परिचय’ र संक्षिप्त ‘विषयसूची’ समावेश गरिएको भए तापनि यहाँनेर नेपाली पाठकवृन्दलाई रूसी भाषामा प्रकाशित उक्त ग्रन्थबारे संक्षेपमा बताउनु आवश्यक ठान्दछु ।

यस ग्रन्थको प्रथम खण्डका ५ अध्यायमा मुख्यतः स्कन्दपुराण अर्न्तर्गतका प्राचीन अनुश्रुतिमूलक नेपालको मौलिक ग्रन्थ ‘स्वस्थानी’ मा वर्णित पुराकथा र किम्बदन्तीले स्थान पाएका छन् । नेपालीहरूमाझ पूज्य स्वस्थानीदेवीको कथाअन्तर्गत इन्द्र, ब्रह्मा, विष्णु, शिव, सतीदेवी, पार्वती, स्वस्थानी आदि प्रमुख देवदेवीहरूको पौराणिक कथा नै नेपाली संस्कृतिको आधारबिन्दु रहेको हुनाले यस ग्रन्थकै द्वितीय र तृतीय खण्डमा समाविष्ट नेपालमा बसोवास गरिरहेका विभिन्न जनजातिहरूका कैयन् पुराकथा र किम्बदन्तीमा पनि निकै हदसम्म त्यसको प्रभाव पहिल्याउन सकिन्छ ।

द्वितीय खण्डअन्तर्गतका १० अध्यायहरूमा पूर्व मेचीदेखि पश्चिम महाकाली र उत्तर हिमालदेखि दक्षिण तराईसम्मका खश, नेवार, मगर, गुरुङ, थारु, मैथिल लगायत विभिन्न जनजातिमा प्रचलित मुख्यतः बौद्धधर्म, हिन्दुधर्म र कतिपय प्राकृतिक लोकधर्मसित सम्बन्धित पुराकथा र किम्बदन्तीहरू समाविष्ट छन् । बौद्ध किम्बदन्तीहरूका कथानक ‘स्वयम्भू पुराण’ मा आधारित छन् भने ‘नेपाल माहात्म्य’ इत्यादि महात्म्य साहित्य र ‘भाषा वंशावली’ तथा स्थापत्यकला र इतिहासका पुस्तकहरूबाट पनि ग्रन्थलेखनमा टेवा प्राप्त भएको छ । प्रमुख श्रोत सामग्रीका रूपमा निसन्देह नै विभिन्न लोककथा संग्रहहरू र पत्रपत्रिकामा प्रकाशित किम्बदन्तीहरूबाट सहयोग प्राप्त भएको छ । पुस्तकको पुछारमा सधन्यवाद सन्दर्भ स्रोत सामग्रीको ‘ग्रन्थसूची’ समावेश गरेको छु ।

यस ग्रन्थको द्वितीय खण्डका विभिन्न अध्यायहरूलाई वर्णनको सहजताका लागि विषयवस्तुको दृष्टिले वर्गीकरण गरेर देवदेवीका कथा, अर्धदेवता र दैत्यका कथा, पवित्र स्थल र मठमन्दिरका कथा, जात्रापर्वका कथा, स्थाननामका कथा, नदी र कुण्डका कथा, जीवजन्तु र वनस्पतिका कथा, तान्त्रिक र जादूगरका कथा आदि शीर्षकमा समेत समेटिएका छन् ।

यस ग्रन्थको तृतीय खण्डका ६ अध्यायहरूमा चाहिं धिमाल, सतार, लेप्चा, तामाङ र शेर्पा जाति तथा मुख्यतः नेपालको पूर्वेली भागमा बसोवास गर्ने किरात जाति अर्थात् राई, लिम्बु लगायतको धार्मिक ग्रन्थ मानिने ‘मुन्धुम’ मा आधारित पुराकथा र किम्बदन्तीहरू समेटिएका छन् ।

पुछारमा रूसी पाठकहरूलाई यस ग्रन्थको विषयवस्तुमा निहित क्लिष्टता स्पष्ट पार्ने उद्देश्यले नेपाली नाम र पारिभाषिक शब्दको संक्षिप्त व्याख्यासहित ‘शब्दावली’ पनि समावेश गरिएको छ । यसबाट पाठकवृन्दले नेपाली विशिष्टताको समेत अनुबोधन गर्ने सम्भावना पाउने छन् ।

रूसी भाषामा प्रकाशित ‘नेपालका पुराकथा र किम्बदन्ती’ ग्रन्थको प्रकाशनपश्चात् मास्कोमा त्यसको विमोचन तथा लोकार्पण सुसम्पन्न भयो । विशेष उल्लेखनीय के पनि छ भने उक्त ग्रन्थका दुर्इ प्रति छापाखानाबाट बाहिर निस्कनसाथ २१ अप्रिल २०१९ (आइतवार) का दिन यस लेखकले पाउनेबित्तिकै सर्वप्रथम त्यसलाई हातमा लिएर मुखपृष्ठमा हस्ताक्षर गर्ने नेपाली थिए – नेवारीमा ‘द्यःमैजु’ भनेर सम्मानित हुने निवर्तमान जीवित देवी कुमारी मतिना शाक्यका साथै कुमारीदेवीका बुवामुमा प्रतापमान तथा सुनिता शाक्य र अभिभावक महेन्द्ररत्न शाक्य । मास्कोयात्रा समाप्त गरी स्वदेश फर्कने पूर्ववेलामा यस ग्रन्थकारले उहाँहरूसमक्ष भर्खरै छापाखानाबाट निकालिएको यस ग्रन्थको दुवै प्रतिे प्रदर्शन गरी हस्ताक्षर लिएर एकप्रति उहाँहरूमार्फत् नै जन्मभूमि नेपाल पठाउने सौभाग्य प्राप्त गरेको थियो ।
तत्पश्चात् १८ मर्इ २०१९ का दिन रूसको आधिकारिक यात्रामा मास्को आइरहनुभएका नेपालका प्रधान न्यायाधीश-दम्पतिको सम्मानमा मास्कोस्थित नेपाली राजदूतावासमा आयोजित स्वागत समारोहकै अवसरमा लेखकको समेत उपस्थितिमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा, रूसका लागि नेपाली राजदूत ऋषिराम घिमिरे, नेपालका लागि रूसका पूर्वराजदूत सेर्गेइ भेलिच्किन, यस ग्रन्थलाई प्रकाशनार्थ सिफारिश गर्ने मास्को राजकीय कला अनुसन्धान संस्थानकी वरिष्ठ वैज्ञानिक कार्यकर्ता रूसी विदुषी ताच्याना मोरोजोभा, गैरआवासीय नेपाली संघका केन्द्रीय महासचिव डा. बद्री केसी र रूस राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष रामेश्वर गौतमका साथै डा. विमला भण्डारी प्रभृतिबाट रातो तुलकपडाले बेरिएका पुस्तकहरू खोलेर प्रदर्शन गर्दै सामूहिक रूपमा रूसी भाषामा प्रकाशित ‘नेपालका पुराकथा र किम्बदन्ती’ ग्रन्थको विमोचन गरिएको थियो ।

यस ग्रन्थको लोकार्पण चाहिं सन् २०१९ को ७ जून (शुक्रवार) का दिन रूसमा नेपाली राजदूतावास र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा सम्पन्न तीनदिने ‘नेपाल महोत्सव’ को उदघाटन समारोहको क्रममा मास्कोस्थित जनअर्थतन्त्र विकास प्रदर्शनीस्थलमा रहेको सांस्कृतिक भवनको सभाकक्षमा आयोजित भव्य कार्यक्रमअन्तरगत रूसका लागि नेपाली राजदूत ऋषिराम घिमिरे, नेपाली प्रतिनिधि मण्डलका नेता सविन श्रेष्ठ, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान चित्रकला विभागकी प्रमुख सुषमा राजभण्डारी, ग्रन्थ प्रकाशनार्थ सिफारिश गर्ने रूस लेखक संघका केन्द्रीय सचिव तथा मास्को नगर संगठनका उपाध्यक्ष भ्लादिमिर सिल्किन, दोनवर्ती रोस्तोभ नगरका कवि इगोर एलिसेएभ, रियाजान नगरकी कवयित्री ल्युदमिला साल्तिकोभा, मास्कोका कवयित्रीहरू ताच्याना चेग्लोभा, तामारा पोत्योमकिना, ल्युदमिला आभ्देएभा, नेल्ली कोपेइकिना, ल्युदमिला फादेएभाबाट संयुक्त रूपमा भयो । ग्रन्थको लोकार्पण कार्यक्रमलाई रूसी कवि तथा कवयित्रीहरूले आ-आफ्ना कविता पाठद्वारा मनोरम र जीवन्त तुल्याइदिएका थिए । तत्पश्चात् यसै पंक्तिकार (कृष्णप्रकाश श्रेष्ठ) बाट उत्तरदायी सम्पादकसमेत रही ‘नेपालका पुराकथा र किम्बदन्ती’ ग्रन्थको प्रकाशनमा प्रत्यक्ष रूपले योगदान पुर्‍याउने रूस विज्ञान प्रज्ञा-प्रतिष्ठानका निर्देशक डा. भालेरी आन्द्रोसोभ, ‘प्राच्य’ पत्रिकाको संकृति विभागकी उत्तरदायी सचिव तथा ग्रन्थ-सम्पादिका ताच्याना मास्त्युगिना, गाता डिजाइनकतृ दार्या मोएभा, हरेक खण्डको आरम्भ र पुस्तकको अन्त्यमा प्रकाशित ‘तोरण’ र ‘छेपु’ चित्रकी रचयिता रेणुका गुरुङ एवं ‘प्राच्यविद्या’ प्रकाशनालयका प्रमुख इल्या फेदुलोभ र गैरआवासीय नेपाली संघ रूसको तर्फबाट सहयोगीहरूमा वितरणका लागि ५० थान ग्रन्थ खरीद गरी सहयोग गर्ने रूस राष्ट्रिय समन्वय परिषदका अध्यक्ष रामेश्वर गौतमप्रति हार्दिक कृतज्ञता ज्ञापन गरियो र ग्रन्थ लोकार्पण समारोहका सहभागी रूसी कवि र कवयित्रीहरूलाई लेखकद्वारा आफ्नो कृति उपहारस्वरूप प्रदान गरियो ।

यस प्रकार रूसको राजधानीमा ग्रीष्मऋतुको घमाइलो दिनमा ‘मास्कोभित्रको उद्यान नगरी’ भन्न सकिने रूसको जनअर्थतन्त्र विकास प्रदर्शनीस्थलको सांस्कृतिक भवनमा उपस्थित नेपाली र रसियालीहरूको माझमा एक नेपालीको लेखनीबाट निसृत भई रूसी भाषामा प्रकाशित ‘नेपालका पुराकथा र किम्बदन्ती’ ग्रन्थको भव्य लोकार्पण कार्यक्रम अभूतपूर्व साहित्यिक वातावरणमा सुसम्पन्न भयो ।

फोटो सौजन्य : बोरिस भेर्शिनिन तथा ताचाना चेग्लोभा,
दिनांक : ७ जुलाई २०१९ (आइतवार),
मास्को, रूस महासंघ ।

प्रतिक्रिया