डीआईजी नै बन्ने भए प्रहरीको प्रदेश प्रमुख

इनेप्लिज २०७६ असार २५ गते ८:३० मा प्रकाशित

काठमाडाैँ, २५ असार । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी)लाई प्रदेश प्रहरीको प्रमुखको जिम्मेवारी दिइने भएको छ ।

बुधबार राज्य व्यवस्था समितिमा डीआईजीलाई प्रदेश प्रहरी प्रमुख बनाउने सहमति जुटेको हो । नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा सरकारले अगाडि सारेकै प्रस्तावमा सहमति जुटेको समितिका एक सदस्यले जानकारी दिए ।

डीआईजीलाई प्रदेश प्रहरीको कमाण्डर बनाएर पठाउँदा त्यो पदको नाम के राख्ने भन्ने चाहिँ टुंगो लागेको छैन । केहीले प्रदेश प्रहरी आयुक्त (पुसिल कमिसनर) भन्नुपर्ने प्रस्ताव राखेका छन् भने कतिपयले प्रदेश प्रहरी प्रमुख मात्र भन्न सुझाएका छन् ।

सात प्रदेशमा सात डीआईजीसहित ५५ हजार प्रहरी समायोजन भएर जानेछन् । संघमा २० हजार मात्र रहनेछन् । संघबाट प्रदेशमा जाने प्रहरीको संघमा आउने बाटो भने खुलै रहनेछन ।

प्रदेशहरुले प्रहरी भर्ती गर्दै जाँदा ती पदहरु स्वतः संघमा आउनेछन् । प्रदेश प्रहरीको प्रमुख भएर जाने डीआईजीसहित सबै प्रहरीले प्रदेश प्रहरीकै पोशाक र दर्ज्यानी चिन्ह लगाउनेछन् । उनीहरू आइजिपी बन्ने सम्भावना कायमै रहनेछ ।

प्रदेश प्रहरी प्रमुखलाई संघीय सरकारले सरुवा गर्नसक्ने व्यवस्था गरिएको छ ।

यसअघि पूर्वगृहमन्त्री एवं नेकपा नेता जनार्दन शर्माले एआईजीलाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रस्ताव राखेका थिए । तर, यो प्रस्तावमा सहमित जुटन् सकेन ।

प्रतिक्रिया