बिहीबार, साउन २ २०७६
काठमाडौं २३:०४
वासिङटन डिसी 13:19

नेपाली राष्ट्रिय महाधिवेशनमा भव्य काव्य महोत्सव

इनेप्लिज २०७६ असार २५ गते १:१९ मा प्रकाशित

अमेरिकामा गठित एएनए, बाना लगायतका विभिन्न चार प्रवासी नेपाली संगठनहरु आयोजक र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलगायतका विभिन्न आठवटा अन्य संस्थाहरु सहआयोजक भएर यही जुलाई ५  देखि ७ तारिखसम्म मेरिल्यान्डको बाल्टिमोरमा नेपाली राष्ट्रिय महाधिवेशन भव्य रुपमा सम्पन्न भयो ।

नेपाली पञ्चेबाजा, लाखेनाचलगायतका नेपाली सांस्कृतिक झाँकी, परम्परागत नेपाली वेशभुषसहितको प्रतिभाप्रदर्शन प्रतियोगितासमेत विभिन्न आकर्षणहरु सम्मेलनमा रहेका थिए ।

नेपालको प्रदेश एकका मुख्यमन्त्री शेरधन राई सम्मेलनका प्रमुख अतिथिका रुपमा आमन्त्रित थिए । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधिहरु पनि सम्मेलनमा भाग लिन नेपालबाट आएका थिए ।

अमेरिकामा विभिन्न क्षेत्रमा गठन भई नेपालीहरुका प्रतिनिधि संगठनहरुले नेपाली समुदायका बीचमा रहेर अलगअलग रुपमा काम गरिरहेका भए पनि यी संगठनहरुले प्रवासी नेपालीको प्रनितिधित्व गर्न र अमेरिकामा रहेका नेपालीहरुको समस्या र उनीहरुको जीवनविकासका लागि आवश्यक भूमिका निर्वाह गर्न एकताबद्ध हुनुपर्छ भन्ने सन्देशका लागि पनि यो सम्मेलनको औचित्य सावित भएको देखियो ।

सम्मेलनका अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली साहित्यमा डायस्पोरिक भूमिका विषयक गोष्ठी  तथा कविता महोत्सवको आयोजना गर्यो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीजका सल्लाहकार डा. दुर्गा दाहालको संयोजकत्वमा सो गोष्ठी र कविता महोत्सव सञ्चालन भएको थियो । कविता गोष्ठीमा अमेरिकामा रहेका, नेपालबाट सहभागी भएका र क्यानडाबाट सहभागी कविकवयित्रीहरुले कवितावाचन गरे । कविता महोत्सवमा प्रतियोगितात्मक र अप्रतियोगितात्मक गरी दुई रुपमा कविता वाचन गरिएको थियो ।

विषयवस्तुका रुपमा कवितामा नेपाली राजनीतिक विसंगति, नेपालबाट विदेश निस्कनुपर्दाको पीडा र देशभक्तिको भावना, सामाजिक असमानता, नेपाली संस्कृति, विश्वभरिबाट अमेरिका पसेका प्रवासीहरुको आफ्नो देशप्रतिको मायालगायतका विविध विषयवस्तुलाई कविहरुले समेटेका थिए । कविता महोत्सवलाई हास्यव्यंग्य कविता प्रतियोगिता भनेर उद्घोषकले भने पनि दुईचार कविताहरु हास्यप्रधान कविता थिए । महोत्सवमा भजन, मुक्तक र तीजको गीतको लयमा पनि कवितावाचन गरिएका थिए ।

महोत्सवमा कविता वाचन गर्ने कविहरु कविन्द्र सिटौला, शिव लामिछाने, पदम विश्वकर्मा, गीता खत्री, उर्मिला निर्दोषी, सीता पाण्डे, पुरु सुवेदी, अमृता नेपाल, डा दुर्गा दाहाल, गोविन्द गिरी ‘प्रेरणा’, कल्पना सुवेदी, डा कृष्ण ढकाल, डा गोपी उप्रेती, डा तुलसी धरेल, गुणराज लुइटेल, डी बी तामाङ, सुशील शर्मा, राधेश्याम लेकाली, तीर्थराज पाण्डे, राजेन्द्रकुमार श्रेष्ठ, तीर्थराज अधिकारी, सुनिता खत्रीशिव नेपाल, डा रमेश खनाल, खगेन्द्र अधिकारी, परशु तिम्सिनासृजन ताम्राकार, टंकराज ढकाल ‘तीतेपाती’ वलराम पन्थी, सुमन घिमिरे, राजेन्द्र खनाललगायतका कविकवयित्रीले कविता, गीत, मुक्तक र हाइकूवाचन गरेका थिए ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीजका सल्लाहकार डा दुर्गा दाहालको अध्यक्षता, बोर्ड अफ ट्रस्टीजका अध्यक्ष गीता खत्रीको प्रमुख आतिथ्य र केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीको आतिथ्यमा बोर्डका सचिव शिव लामिछानेले सञ्चालन गरेको सो महोत्सव पूरै तीन घन्टा सञ्चालन भएको थियो । अनेसास बोर्ड अफ ट्रस्टीजका प्रमुख सल्लाहकार डा श्याम कार्कीले शुभकामना मन्तव्य दिनुभयो भने क्यानडाबाट सहभागी डा. तुलसी धरेल, सभाध्यक्ष डा दुर्गा दाहालले प्रवासमा नेपाली साहित्यको विस्तारका प्रभाववारे बोल्नुभएको थियो । ट्रस्टी अध्यक्ष गीता खत्री र केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले अनेसासको वर्तमान गतिविधिको विस्तारबारे प्रकाश पानुभएको थियो । ट्रस्टी एवं बाल्टिमोर च्याप्टरका पूर्व अध्यक्ष तीर्थराज पाण्डेले सहभागीहरुलाई स्वागत गर्नुभएको थियो । महोत्सवमा एएनएका अध्यक्ष मेदिनी अधिकारी, एएनए बोर्ड अफ ट्रस्टीजका अध्यक्ष डा अम्बिका अधिकारी तथा अन्य स्थानीय अमेरिकी पाहुनाहरुको पनि उपस्थिति रहेको थियो । महोत्सवमा रुद्रशेखर शर्मा ‘रुपम’ ले ‘जहाँ छन् बुद्धका आँखा’ बोलको स्वदेशगान प्रस्तुत गर्नुभएको थियो ।

प्रतियोगी कविताको मूल्याङ्कन गर्नका लागि वरिष्ठ कवि÷आख्यानकार गोविन्द गिरी प्रेरणा , सीता पाण्डे र मुक्तकमणि  तीर्थराज अधिकारी रहेको एक मूल्याङ्कन समिति बनेको थियो ।

कवितावाचन शैलीसमेतलाई मूल्याङ्कन गरी अमृता नेपाल प्रथम, डा. कृष्ण ढकाल द्वितीय र सुमन घिमिरे तृतीय घोषणा गरियो । प्रथम, द्वितीय र तृतीय पुरस्कारका रुपमा पुरस्कृत कवयित्री र कविहरुलाई क्रमशः ५०० डलर, ४०० डलर र ३०० डलर तथा प्रमाणपत्र प्रदान गरियो ।

प्रतिक्रिया