मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०१:३१
वासिङटन डिसी 15:46

नेता राईको उपस्थितिमा न्युयोर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुरेश चाम्लिङ, अमेरिका  २०७६ असार २१ गते १०:४१ मा प्रकाशित


सुरेश चाम्लिङ, अमेरिका । नेपाली समाज अमेरिकाको आयोजनामा अमेरिकाको न्यूयोर्कमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । समाजवादी पार्टी नेपालका वरिष्ठ नेता अशोक राईको प्रमुख आतिथ्यता तथा पार्टीकी केन्द्रीय सदस्य सुशीलाई श्रेष्ठको विशेष आतिथ्यतामा जुन ३० मा सम्पन्न भएको उक्त अन्तरक्रिया कार्यक्रममा नेता अशोक राईले विभिन्न बाध्यताका कारण नेपालीहरु विदेश आउनु परेकोमा दुखी रहेको बताउँदै देश छोडेर विदेश आउदा पनि नेपालीहरु भेट्न पाएकोमा भने खुसी तुल्याएको बताए ।

उनले आफूहरुले पहिचान सहितको संघीयताको माग गर्दा त्यसलाई जातिवादीको रंग दिएर द्धन्द्ध मच्चिने, साम्प्रदायिकता बढ्ने र रक्तपात हुने, हिंसा मच्चिने भनेर भ्रम फैलाइएको आरोप लगाए । ‘जबकि हाम्रो जस्तो देशमा राज्यद्धारा उत्पीडिनमा परेका जातिहरु भएक ठाउँ बहुजातिय मुलुक, नेपाल एउटा बहुजातिय, बहु भाषिक, बहु धार्मिक, बहु सांस्कृतिक र भौगोलिक विविधता समेत भएको मुलुक हो भनेर संविधानले लेखिसक्यो नि ।’ नेता राईले भने, ‘तर, त्यो विविधतालाई व्यवस्थापन गर्न होइन, पंचायत र राणाकालिन अवस्थामा जस्तै एक भाषा एक भेष एक जाति एक देश भनेर लागेपछि हामी अगाडि गयौं कि पछाडितिर गयौं ? हामीले समस्यालाई सुल्टो ढंगले हल गर्न खोज्यौ कि उल्टो ढंगले लाग्यौ भन्नेमा समस्या रहेको छ ।’

 

उनले आफू लामो समयसम्म तत्कालिन एमाले पार्टीमा रहेर काम गरेपनि एमालेले नेपाल र नेपालीको हितमा काम नगर्ने देखिएपछि स्वार्थको लागि नभएर नेपाली जनताको हितको लागि समाजवादी पार्टीमा लागेको बताए । उनले समाजवादी पार्टीमा समावेशी र समानता रहेकोले यसले सबैको हितमा काम गर्ने समेत बताए ।

नेता राईले समाजवादी पार्टी कुनै जाति या कुनै राजनीतिक पार्टीको विरोधमा नभएर गलतलाई गलत र सहिलाई सहि भन्दै अगाडि बढिरहेको र भविष्यमा पनि बढ्ने बताए ।

नेपाली समाज अमेरिकाका अध्यक्ष समिर मर्हजनको अध्यक्षतामा सम्पन्न भएको उक्त अन्तरक्रिया कार्यक्रममा मर्हजनले अमेरिकामा रहेका संघ संस्थासँग सहकार्य गरेर अगाडि बढ्ने बताउँदै राजनीति गलत नभएर समाज र देशलाई अगाडि बढाउने एउटा सहि बाटो भएको बताउँदै उपस्थित सबैलाई धन्यवाद दिएका थिए ।

पूर्वडिआईजी, नेपाली समाज अमेरिकाकी सल्लाहकार तथा नेपाली समाज अन्तर्गत गठन गरिएको महिला संघको अध्यक्ष रहेकी पार्वती थापा मगरले महिला संघले समभ्व भए सम्म सहयोग गर्ने प्रतिवद्धता जनाउँदै सबैलाई स्वागत गरेकी थिइन् ।

त्यस्तै नेपाली प्रवासी मन्चका महासचिव राधाकृष्ण देउजाले समाजवादी पार्टीका वरिष्ठ नेता तथा कार्यक्रममा प्रमुख अतिथि राई आफ्ना पूर्वनेता रहेको बताउदै उनले संप्रेषण गरेको विचार नै आफूले अनुशरण गरेको बताएका थिए ।

जनजाति महासंघका अमेरिकाका अध्यक्ष मान बहादुर मगरले वरिष्ठ विगतमा खोटाङ जिल्लामा नेता राईले गरेको राजनीतिक मन्तव्यको सम्झना गर्दै उनले नेपाली राजनीतिमा खेलेको पुर्याएको योगदानको खुलेर प्रसंसा गरे । उनले नेपाली जनताले चाहेको र खोजेको पार्टी नै समाजवादी पार्टी रहेको बताए ।

त्यस्तै संयुक्त राष्ट्र संघका स्थायी प्रतिनिधि तथा वाणिज्यदूत कृषु क्षेत्रीले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिदैं वरिष्ठ नेता राईले समावेशी तथा संघीयताप्रति खेलेको सकारात्मक भूमिकाको प्रशंसा गरेका थिए । उनले नेपालमा प्रजातन्त्र ल्याउनमा राईले खेलेको भूमिका अतुलनिय रहेको पनि बताएका थिए ।

सोहि अवसरमा कार्यक्रमकी विशेष अतिथि समाजवादी पार्टीकी केन्द्य्रीय सदस्य सुशीला श्रेष्ठले नेपालमा महिलाहरुमाथि हुने गरेको बिभेदको अन्त्य हुनुपर्ने बताउँदै महिला अधिकार प्राप्तिको लागि मागेर नभई लडेर अनि संगठित भएर लिनुपर्ने बताइन् । उनले आफ्नै घरभित्र हुने विभेदका बारेमा भनाई राख्दै छोराले अंश पाउने छोरीले किन नपाउने भनेर प्रश्न गरेकी थिइन् ।

नेतृ श्रेष्ठले महिलामात्र नभएर जातियताको आधारमा विभेद भएको बताउँदै स्व. नेतृ साहना श्रेष्ठ नेवार समुदायकै भएकोले राष्ट्रपति बन्न नपाएको, डिआइजी पार्वती थापा मगर मगर भएकैले आइजीपी बन्न नपाएको उदाहरण दिदैं समाजवादी पार्टीले समानता समावेशीमा जोड दिदैं सबैलाई समेटेर जाने प्रतिबद्धता गरेकी थिइन् ।

विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको उक्त कार्यक्रममा समाजले १७१ पटक रक्तदान गरेका समाजसेवी तथा रक्तदाता अर्जुन मैनाली र कराते खेलाडी बिमला तामाङलाई सम्मान गरेको थियो । खेलाडी तामाङ र रक्तदाता मैनालीलाई नेता राईको हातबाट खादा लगाएर सम्मान गरिएको थियो ।

नेपाली समाज अमेरिकाका महासचिव लोक चेम्जोङको सन्चालन रहेको उक्त अन्तरक्रिया कार्यक्रममा चेम्जोङले संघीय समाजवादी पार्टी धनकुटा जिल्लाको अध्यक्ष रहेर काम गर्दाको क्षण नेता राईसमक्ष स्मरण गरेका थिए ।

चेम्जोङले नेपाली समाज अमेरिकाले आफ्ना भातृसंस्थाको रुपमा महिला संघ र युवा संघ गठन गरिसकेको पनि जनाकारी गराएका थिए ।

प्रतिक्रिया