शुक्रबार, कार्तिक १२ २०७८
काठमाडौं ०३:२०
वासिङटन डिसी 17:35

एनएसीसीको जमीन खरीद प्रक्रिया तीब्र: ईन्जिनियर्स र रियल्टरहरुको एकद्वार नीति

इनेप्लिज २०७६ असार १७ गते ३:२४ मा प्रकाशित

 


वाशिंगटन डिसी। महापुराणको समापनको लगत्तै रियल्टरको समूहले सामुदायिक भबन बनाउन उपयोगी जमीन खरीदको लागि एक द्वार प्रक्रिया बनाएर काम शुरू गरेको छ ।

यस सिलसिलामा डिसी मेट्रो क्षेत्रमा रहेका सवै रियल्टरको सहभागिता र सहयोग जुटाउन आपसमा जिम्मेवारी बांडफाड समेत गरेको छ ।जस अनुसार यस क्षेत्रका सवै रियल्टरहरुको संयोजन वरिष्ठ रियल्टर एवं व्यवसायी बासु सत्यालले गर्नु हुने छ ।

प्रक्रिया अनुसार टीममा हुनु भएका कुनै पनि रियल्टरले कहिं बिक्रीको जमीन फेला पार्नु भएमा सोझै खरीदको प्रक्रियामा जान पाउनुहुने छैन । उहॉले बासु सत्यालजीलाई अवलोकनको लागि प्रस्ताव गर्नु पर्ने छ ।

बासु सत्यालको टीमले जमीन ठीकै लागेमा जग्गाको संभाब्यता अध्ययन, काउन्टी नापी शाखाको रेकर्ड र कानूनी पक्षलाई अनुसन्धान गरी सिफारिश गर्नको लागि इन्जिनियर ठाकुर ढकाललाई पठाउनु पर्ने छ ।

ठाकुर ढकाल सहितको इन्जिनियर्स टीमले खरीद गर्न लागिएको जग्गाको काउन्टी रेकर्ड ठीक छ भन्ने निर्णय गरे पछि मात्रै आवश्यक खरीद प्रक्रिया अघि बढाउन एनएसीसी बोर्डमा प्रस्तुत गर्ने छ । त्यस पछि बोर्डले आवस्यक अनुसन्धान, छलफल गरी बोर्डको अनुमति बमोजिम जमीन खरीद प्रक्रिया अघि बढाउने छ ।

अहिले तय गरिएको एक द्वार नीति अनुरूप रियल्टर बाशु सत्याल ले एजेण्ट डिलिंग सम्बन्धी सवै काम गर्नु हुनेछ भने रियल्टर राम मिश्रले भोलेण्टियर रियल्टरहरुका वीच मिटिंग गराउने र एकापसका सूचना आदान प्रदान गर्ने कामको संयोजन गर्नु हुने छ ।

भोलेण्टियर रियल्टर्स टीममा बसेर स्वयंसेवा गर्न चाहने इच्छुक रियल्टरहरुलाई सम्पर्कमा आउन पनि यसै सुचना मार्फत आग्रह गरिएकोछ।

जमीन खरीद प्रक्रियामा हालसम्म रियल्टरहरु बाशु सत्याल, राम मिश्र, कविन्द्र सिटौला, मोहन उप्रेती, शुरेस सापकोटा, निशेस भट्टराई, जीवन तिवारी, चिरन्जीबी लामिछाने हुनुहुन्छ र अरु पनि थपिंदै जाने भनिएको छ ।

स्मरणीय छ महापुराणमा प्लेज र नगद सहित २० लाख ३८ हजार रकम उठेको छ भने अहिले एनएसीसीमा करीब १ मिलियन डलर नगदै रहेको छ ।

गत जुन २२ देखि २९ सम्म भएको सप्ताह महापुराणमा हरेक दिन मानिसहरूको चाप यति बढेको थियो कि न बाहिर आफ्ना कारहरू पार्क गर्ने ठाऊ थियो न भित्र पाइताला राख्ने ठाऊं नै।भित्र पसेका भक्तजनहरूमा ननाच्ने बिरलै थिए भने दान गर्नको लागि लाइन कुर्न पनि १५ मिनेट भन्दा बढी लागेको थियो ।

यसरी उर्लिएको जन लहरको भवनालाई छिटो भन्दा छिटो मूर्तरूप दिन रियल्टरको भोलेण्टर समूह र इन्जिनियर्सहरुको भोलेण्टर समूहले तीब्ररुपमा काम शुरु गरेको जानकारी रियल्टर राम मिश्रले दिनु भयो ।
भवन निर्माणको प्रक्रियालाई ब्यवस्थित गर्न यस अघि देखि नै इन्जीनियरहरू, एकाउन्टेनटहरू, रियलटरहरू, ब्यापारीहरू, बुद्दिजीवी, विविध पेशा र ब्यबसायमा रहनु भएका महानुभावहरु स्वत:स्फूर्त रुपमा एकजूट भएका लागेका छन ।

प्रतिक्रिया