शरणार्थीका पिडा

शशी केसी २०७६ असार १३ गते १५:०७ मा प्रकाशित

सबैले बुझ्ने किसिमले भन्नु पर्दा, शरणार्थी भन्नाले आफ्नो सर्वस्व जस्ताको तस्तै छोडेर अन्यत्र शरण लिन पुगेका असहाय, लाचार साथै रक्षा चाहने व्यक्ति वा तिनीहरूको समूह जो सुरक्षाको कारणले फर्केर आफ्नो घर चाहेर पनि जान सक्दैनन।इतिहास नै हेर्ने हो भने, हामी नेपालीलाई जति शरणार्थीको बारेमा अरू कसलाई पो थाहा होला र। हामीले अहिले स्वतन्न्र किसिमले बोल्ने, लेख्ने, पढ्ने सब अधिकार राजा त्रिभुवनले सपरिवार भारतमा शरण लिएपछि नै पाएका त हौं।

देश, परिस्थिति हेरी शरणार्थी थरिथरिका हुन्छन संसारभरी। म स्कुल पढ्दा एकदेखि दशसम्म पढ्ने १०-१५ जना तिब्बतियन केटीहरू थिए होस्टेलमा।तिनीहरूले कहिले काहीँ खान दिएको सुर्यमुखी फुलको बिँया,फर्सीको बिँया, भुटेको बकुलाको स्वाद अझै ताजै छ।एकआपसमा आफ्नो भाषामा कुरा गर्र्थे, कहिलेकाहीँ तिब्बतको घर सम्झेर रून्थे पनि।तेतीबेला अचम्म लाग्थ्यो, किन तेती टाढाबाट हाम्रो स्कुलमा पढ्न आएको होला जस्तो लाग्थ्यो। पछि बुझ्ने भएपछि थाहा पाइयो।तिब्बतलाई चाइनाले लिएपछि धर्म गुरू दलाई लामाले तिब्बत छोडेसँगै बिस्तारै सबैले तिब्बत छोडेर भारत, नेपालतिर शरणार्थी भएर आएका रहेछन्।

अलिकपछि क्याम्पस पढ्नेबेला “भुटानी शरणार्थी” हुलकाहुल नेपाल आएको समाचार, टिभीतिर पढ्न, हेर्न पाइयो। तिनीहरूलाई झापामा “शरणार्थी शिविर “बनाएर नेपालले राख्यो। नेपाली भाषा बोल्ने, हिन्दु धर्म मान्ने नेपालीमुलका भुटानीहरू त्यहाँको सरकारले लखेटेर भारत हुँदै नेपाल आएका रहेछन् शरणार्थी भएर। बेलाबेलामा भएको भुटान, नेपाल, भुटानी शरणार्थीका नेताहरू र संयुक्त राष्ट्र संधको शरणार्थी हेर्ने आयोगको अनेक बार्ताहरू पछि तिनीमध्ये धेरैलाई अमेरीका, केही क्यानडा, केही अष्ट्रेलिया तथा अरू तेस्रो देशमा परिवार सहित बसाई सराई गरेर लग्ने निर्णय भयो। केही त अझै झापामा नै छन्। भुटान नै जाने कतै नजाने भनेर तेही बसेका। शायद कुनैदिन उहाँहरूको घर फर्कने इच्छा पुरा होला।धेरै बर्ष पहिले भुटानी शरणार्थी भरखर भरखर अमेरीका आएको बेला २-३ बर्ष मैले सहयोग स्वरूप काम गरेको छु तिनीहरूलाई अमेरीकामा राम्रोसँग बस्ने व्यवस्था मिलाउने संस्थामा। सार्है “गौ प्राणी” गाई जस्तो आफै कसैलाई बिगार नगर्ने, सरल, मिलनसार। तिनीहरू मध्ये स्कुल, क्याम्पस पढ्ने धेरै जसो त झापामा नै जन्मेका र केही सानो उमेरमा भुटानबाट आमाबुबासँग भागेर आएकाहरूलाई भुटानको बारेमा सुनेको बाहेक तेती थाहा थिएन। तर अलिक पाको उमेरको बुबा आमाहरू त झलझल्लती भुटान सम्झने। आँखाभरि आँखु पारेर कसरी रातारात घर, गोठमा बाँधेको बस्तुभाउ जस्ताको तेस्तै छोडेर भागेर भारत हुँदै नेपाल छिरेको कुरा गर्ने। उहाँहरूको गुनासो नेताको कुरा सुनेर देश छोड्नुको सट्टा राजधानी थिम्पु गएको भए भुटानी नै भएर तेहीँ आफ्नै देशमा बसिन्थ्यो होला भन्ने थियो। नेपाललाई चाहीँ धेरै माया गर्ने। हामी तेस्तो बेघर भएकोबेला शरण दियो भन्ने। तर जे होस अहिले त धेरै जसो अमेरीकन नागरिक बनिसक्नु भयो। शायद कोही कोही त पर्यटक भएर भुटान पनि गएर आउनु भयो होला।यिनीहरू त भए नेपालले शरण दिएका शरणार्थीहरू!

अब अमेरीका आउने शरणार्थीको कुरा गरौं।अमेरीका देश गज्जवको देश, जो पनि आउन खोज्ने, आएपछि फर्किनै नचाहाने! एकातिर अमेरीकाको कानुन अत्यन्त कडा छ, कानुन तोड्नेलाई कडाभन्दा कडा कार्वाही हुन्छ भने अर्को तिर कोही शरण माग्न आयो भने तेसलाई कानुनीरूपमा सुरक्षा दिन्छ। अमेरीकामा एकथरी शरणार्थी, बिभिन्न देशको शरणार्थी शिविरबाट बिभिन्न चरणमा छानबिन, कानुनी तरिका पुरा गरेर आँउछन्, अर्कोथरी कानुनी रूपमा भिषाको माध्यमले घुम्न, कुनै कार्यक्रममा भाग लिन वा पढनै पनि किन नहोस आउने र बिभिन्न कारण देखाई आफ्नो देश सुरक्षाको कारणले जान सक्दिन भनेर शरणार्थी बनेर बस्न खोज्ने। तेस्रो माध्यम अत्यन्त गार्हो र डर लाग्दो, अमेरिकाको दक्षिणतिरको देश मेक्सिकोको नाकाबाट आफ्नो ज्यानको बाजी राखेर गैरकानुनीरूपमा अमेरीका छिर्ने र शरण मागेर शरणार्थी बन्ने। यस्तै गैरकानुनीरूपमा अमेरीका मेक्सिकोबाट नदी तरेर छिर्न खोज्दा पानीमा डुबेर बाबु छोरीको मृत्यु भएको तस्विरले अहिले संसार हल्लाएको छ। अहिलेको अमेरीकन सरकारले निक्कै कडा गरेको छ आफ्ना नाकाहरूमा।अमेरीकाले अहिले कडा गर्नुको कारण नै यसरी हुलकाहुल स-साना केटाकेटी लिएर आफ्नो ज्यानको बाजी थापेर अमेरीका आउन बन्द गर भन्न हो।तर आउने क्रम कम त होला तर जारी नै छ। पहिले पहिले त अमेरीका- मेक्सिको नाकामा आएर शरणार्थी भनेर हात उठाए, अमेरीका छिराएर शरणार्थीको सबै कानुनी काम हुन्थ्यो भने अहिले मेक्सिकोमा नै आफ्नो पालो कुर्नु पर्ने भएको छ। सजिलो छैन।

मैले बुझ्दा, अमेरीकामा शरणार्थी हुन खोज्नुको मुख्य कारण चाहीँ अरू कानुनी किसिमले अमेरीकन नागरिक बन्न धेरै समय लाग्ने र झन्झटिलो हुन्छ तर शरणार्थी हुँदा पहिलो त कानुनीरूपमा बस्न पाइने, कानुनीरूपमा काम गर्न र ग्रिनकाड अनि अमेरीकन नागरिक बन्ने।यो सबै थाहा पाएर नेपालीहरू पनि दलालहरूलाई ३०-४०-७० लाखसम्म तिरेर बिभिन्न दक्षिण अमेरीकी देश हुँदै ज्यानको बाजी थापेर दक्षिण नाकाबाट अमेरीका छिर्न खोज्ने र समातिएका केही समाचारहरू सुन्न पाइन्छ। मत भन्छु यसरी आउन खोज्नु निकै गलत र मुर्खता हो।एकत पैसाको नाश, अर्को सकुशल अमेरीका पुग्ने ठेगान छैन, पुगेपनि के थाहा कानुनीरूपमा शरणार्थी बन्न पाइने नै हो की हैन। कतिलाई त रोईकराई गर्दा पनि नेपाल फर्काइदिएको छ नाकाबाटै।लौ सबै राम्रै भएर अमेरीका बस्न मिलेपनि कहिले कमाउनु तेत्रो पैसा।बकिललाई तिर्नु पर्यो, परिवारबाट टाढा बस्दा मानसिक तनाव, धेरै पैसा कमाउनको लागि धेरै काम गर्दा शारीरिक थकान उत्तिकै। हो, नेपालबाट हेर्दा सबै बसिरहेका छन्, अरूले तेसै गरे मेरो पनि भै हाल्छ जस्तो देखिन्छ तर यहाँ कथा अर्कै छ । पहिले पहिले पो नेपालमा माओवादीको द्वन्दको बेला थियो, सजिलो शरणार्थी बन्न नेपालीलाई। अहिले “नेपाल भ्रमण बर्ष २०२०” को तयारी छ, सगरमाथा आरोहण गर्न धेरै जान्छन नेपाल, नेपाली मुलका अमेरीकन पनि केटाकेटीहरूको गर्मीको छुट्टीमा नेपाल घुम्न जान्छन। केही नेपालीमुलका अमेरीकनले त हाइड्रोपावर,पार्टी हल, अरू व्यापारतिर पनि नेपालमा लगानी गर्न थालिसके। सबैतिरबाट सुरक्षीत देखिन्छ अहिलेको नेपाल,अनि के आधारले अमेरीकी सरकारले दिनु नेपालीलाई शरणार्थी।

बिचार गरेर बन्न खोजौं शरणार्थी!!

शशी केसी

प्रतिक्रिया